१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तोकिएभन्दा कम इन्धन वितरण गर्ने तीन पेट्रोलपम्प सिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेल्लो सरकार’को संयोजकत्वमा मंगलबार र बुधबार भएको अनुगमनमा कम परिमाण तेल बिक्री गर्ने उपत्यकाका तीनवटा पेट्रोलपम्प सिल गरिएको छ ।हेल्लो सरकारका प्रमुख प्रद्युम्न उपाध्यायका अनुसार राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुगमन टोलीले दुई दिनमा तिनकुनेको भ्याली रिकेस, हल्चोकमा सशस्त्र प्रहरी पम्प र कलंकीमा श्यामा आयल स्टोरमा सिल गरिएको हो ।

अनुगमन टोलीमा रहेको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका निरीक्षक नीराजन पुडासैनीका अनुसार मंगलबार तिनकुनेको भ्याली रिकेसमा रहेका तीनवटा डिस्पेन्सिङ मेसिनमध्ये पेट्रोल वितरण गर्ने नोजलबाट कम परिमाण  वितरण गर्ने गरेको पाइएपछि सिल गरिएको छ भने अन्य दुईवटा नोजलबाट इन्धन वितरण जारी छ ।

त्यस्तै, बुधबार नयाँबजारको जयकुमारी आयल, खुसिबुको नेवा ट्रेडर्स , हल्चोकको सशस्त्र प्रहरी पम्प, कलंकीको मकालु आयल, श्यामा आयल र बाबा आयलमा अनुगमन गरिएको थियो । त्यसमध्ये सशस्त्रको पम्पमा चारवटा डिस्पेन्सिङ मेसिनमध्ये डिजेल वितरण गर्ने नोजलबाट प्रति पाँच लिटरमा २५ मिलिलिटर कम रहेको भेटिएको थियो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने सामान्य प्राविधिक समस्या मात्र भएको बताए । ‘२० दिनअघि अनुगमन गर्दा पेट्रोल प्रतिलिटरमा ५० एमएल बढी फालेको देखिएपछि मिलाइएको थियो,’ उनले भने,‘अहिले डिजल प्रतिपाँच लिटरमा दुई एमएल कम फालेको देखिएको छ, जसकारण डिजलको एउटा नोजल मात्र भोलि (बिहीबार) बिहानसम्म बन्द गरिएको हो । नापतौल विभागबाट प्रतिनिधि आएर त्यो समस्या पनि हटाउने कुरा भएको हो, यो सामान्य प्राविधिक समस्या मात्र हो ।’

त्यस्तै, कलंकीको श्यामा आयलको डिजेल बिक्री गर्ने दुईवटा डिस्पेन्सिङ मेसिनमध्ये एउटाबाट प्रतिपाँच लिटरमा २० मिलिलिटर कम वितरण हुनेगरेको भेटिएको थियो । ‘नियमले पाँच लिटरमा १५ मिलिलिटरसम्म थपघट भए कारबाही नहुने व्यवस्था छ,’ गुणस्तर कार्यालयका निरीक्षक पुडासैनीले भने, ‘तर, बुधबार अनुगमन भएमध्ये दुईवटा पम्पले मापदण्डभन्दा बढी तेल उपभोक्तालाई नदिएर ठगी गरेको भेटिएपछि सिल गरिएको हो ।’ उनका अनुसार सिल गरिएको डिस्पेन्सिङ मेसिनबाट मात्रै तेल वितरण रोक्का गरिएको छ । अन्य डिस्पेन्सिङ मेसिनबाट भने पम्पहरूले इन्धन वितरण जारी राखेका छन् ।

ad
ad