१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Sunday, 29 September, 2024
अनिल यादव काठमाडाैं
२o८o कार्तिक १ बुधबार o७:४८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टीको दस्ताबेज बनाउन रास्वपाले लियो विज्ञहरूसँग सुझाव

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o७:४८:oo

मंसिरसम्म दस्ताबेज ल्याउने तयारी, विश्वविद्यालयका विद्यार्थीसँग पनि नीति मन्थन गर्ने

जनताको सुझाव लिन गाउँगाउँ पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दस्ताबेज निर्माणका लागि विभिन्न क्षेत्रका विषयविज्ञसँग छलफल गरेको छ । पार्टी महाधिवेशनअघि राजनीतिक दस्ताबेज ल्याउनुपर्ने दबाबमा रहेको रास्वपाले मंसिरसम्ममा दस्ताबेज ल्याउने गरी विज्ञसँग सुझाव लिएको हो । 

सात विषयमा ३३ वक्ता राखेर रास्वपाले काठमाडौंमा सोमबार र मंगलबार दुईदिने नीति मन्थन गरेको छ । मन्थनमा आएका सुझावबाट उत्साहित रास्वपाले अब विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि सुझाव लिने भएको छ । रास्वपा सभापति रवि लामिछानेले नीति मन्थनको समापन कार्यक्रममै अब विश्वविद्यालयका विद्यार्थीमाझ पुग्ने घोषणा गरेका छन् । थप दुई चरणको जनआवाज सुन्ने कार्यक्रम बाँकी रहेकाले मंसिरसम्म यी सबै कार्यक्रम सकिनेमा भने पार्टीभित्र संशय छ । 

मुकुल ढकाल, महामन्त्री, रास्वपा
थप दुई चरणका जनआवाज सुनेर र विद्यार्थीसँग नीति मन्थन गरेर मात्रै दस्ताबेज ल्याउने या दस्ताबेज मंसिरसम्म ल्याएर यी कार्यक्रमलाई भने पछि अन्य दस्ताबेजमा समेट्ने गरी निरन्तरता दिने भन्नेमा छलफल भइरहेको छ ।  

‘थप दुई चरणका जनआवाज सुनेर र विद्यार्थीसँग नीति मन्थन गरेर मात्रै दस्ताबेज ल्याउने या दस्ताबेज मंसिरसम्म ल्याएर यी कार्यक्रमलाई भने पछि अन्य दस्ताबेजमा समेट्ने गरी निरन्तरता दिने भन्नेमा छलफल भइरहेको छ,’ रास्वपाका महामन्त्री मुकुल ढकालले भने । मंसिरबाट वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै क्रमशः केन्द्रको महाधिवेशन गर्ने रास्वपाको तयारी छ ।

रास्वपा सभापति लामिछानेले राजनीतिक दलका विचार, नीति र अभिव्यक्ति स्पष्ट ढंगमा नआउँदा अनेक अनुमान र टिप्पणी हुने भएकाले प्रस्ट र जनमुखी दस्ताबेज ल्याउन लामो तयारी गरेको बताएका छन् । दुईदिने नीति मन्थनमा विज्ञबाट आएका विचारलाई पार्टीको दस्ताबेजमा समेट्ने उनले बताए । ‘दस्ताबेजका सबै कुरालाई लिपिबद्ध गरेका छौँ,’ उनले समापन कार्यक्रममा भने, ‘त्यसैमा टेकेर कार्यान्वयनमा लैजान्छौँ । हामी पार्टीको नीति कस्तो हुने भन्नेमा अझै छलफलमा छौँ । लेफ्टराइट कुन बाटो जाने भन्ने छ । समावेशी उदार लोकतान्त्रिक पार्टी बनाउने हो ।’ मुलुकलाई आवश्यक पर्ने नीति रास्वपाले बनाउने उनको दाबी थियो । ‘गाउँसहरमा गयौँ, अब युनिभर्सिटीमा जान्छौँ ,’ लामिछानेले भने, ‘दस्ताबेजलाई खँदिलो बनाउँछौँ । ’

रास्वपाले दुई दिनमा सात विषयमा विज्ञहरू छलफल गरेको थियो । शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा नयाँ प्रविधि र युवा पूर्वाधार, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण, कृषि पर्यटन र हरित औद्योगीकरण, आर्थिक शिथिलता र अबको बाटो र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल विषयमा छलफल भएको थियो । पहिलो सत्र शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र शीर्षकमा राजनीतिक विश्लेषक सिके लाल, प्राध्यापक तथा नागरिक अगुवा सञ्जीव उप्रेती, शिक्षाविद् अमिना सिंह र अनुसन्धानदाता उत्तमबाबु श्रेष्ठ वक्ता थिए ।

त्यस्तै शिक्षा, नयाँ प्रविधि र युवा विषयमा डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देलले विषयविज्ञका रूपमा बोलेका थिए । ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषयमा डा. संगीता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. वसन्तराज अधिकारी, सिलसिला आचार्य र भूषण तुलाधरले सुझाव दिएका थिए । ‘स्वास्थ्य र पोषण’ विषयमा डा. सन्दुक रुइत, डा. शम्भु आचार्य, डा. किरण रेग्मी, डा. संघरत्न बज्राचार्य र डा. संगीता बस्नेतले विषयविज्ञका रूपमा बोलेका थिए भने बहसको सेसनमा ‘कृषि, पर्यटन र हरित औद्योगीकरण’मा चन्द्र ढकाल, पवन गोल्यान, विदुषी राणा, चन्द्र घिमिरे र दिनेश सिलवाल विज्ञका रूपमा आएका थिए । 

‘आर्थिक शिथिलता र अबको बाटो’ विषयमा डा. युवराज खतिवडा, डा. विश्वास गौचन, मौसमी श्रेष्ठ र रामेश्वर खनालले आफ्नो विचार राखेका थिए । रास्वपाको नीति मन्थन कार्यक्रमको संयोजन गरेका डा. स्वर्णिम वाग्लेले पनि यही सेसनमा बोलेका थिए । नीति मन्थनमाथिको अन्तिम सेसन ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ का मधुरमण आचार्य, डा. पूर्ण सिलवाल, डा. अञ्जना शाक्य, डा. निश्चलनाथ पाण्डे र विजयलाल कर्णले आफ्नो धारणा राखेका थिए ।

रास्वपाका महामन्त्री ढकालले अब दसैँपछि विज्ञसँग भएको मन्थनमाथि समीक्षा गरेर दस्ताबेज लेखन कार्य सुरु हुने बताए । ‘अब दसैँपछि नै समीक्षा हुन्छ होला,’ उनले भने, ‘मन्थनबाट आएका सुझावबाट हामी उत्साहित छौं । अब सम्बन्धित विषयमा खटिएका पार्टी नेताहरूले सुझावका आधारमा रिपोर्ट बनाउनुहुन्छ । त्यसपछि दसैँलगत्तै हामी समीक्षा गर्छौँ । मंसिरमा महाधिवेशनको प्रक्रिया सुरु हुने भएकाले मंसिरसम्म दस्ताबेज ल्याउने गरी काम गर्ने हाम्रो तयारी छ ।’ 

देशको माटो सुहाउँदो दस्ताबेज बनाउन जनतादेखि विज्ञसम्मलाई सुझाव लिने निचोडमा रास्वपा पुगेको उनले बताए । ‘हामीलाई बारम्बार पार्टीको सिद्धान्त के हो भनेर प्रश्न तेर्साइन्छ,’ उनले भने, ‘पुरानै पार्टीजस्तो नभएर गतिशील विचारको जनमुखी दस्ताबेज बनाउन हामीले समय लगाएका हौँ । हामीलाई हतार छैन । नेपाली माटो सुहाउँदो दस्ताबेज बनाउँछौँ ।’ 

रास्वपाले पार्टी स्थापनाको दिन गत ७ असारमै ‘नयाँ युगको संकल्प’ नाम दिएर पार्टीको सैद्धान्तिक दस्ताबेज सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, महत्वपूर्ण मुद्दामा विवाद आएपछि रास्वपाले जनआवाज सुनेर र विज्ञसँग सुझाव लिएर मात्रै दस्ताबेज ल्याउने निर्णय गरेको हो । दस्ताबेज निर्माणकै क्रममा गत ३ देखि ७ असोजमा रास्वपाले १९ जिल्लामा आफ्ना केन्द्रीय तहका नेता र सांसदलाई जनताका कुरा सुन्न पठाएको थियो । रास्वपाका नेताहरूले गाउँ पुगेर शासन प्रणाली, संघीयता, समाजवादलगायतका मुद्दामा जनताको राय लिएका थिए । प्रथम चरणको कार्यक्रममा उपसभापति डोलप्रसाद अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी कञ्चनपुर जनआवाज सुन्न गएका थिए । 

प्रदेश संरचना खारेजको मुद्दामा मत विभाजित
गत जेठमा प्रस्तावित रास्वपाको मस्यौदामा प्रदेश संरचना खारेजको मुद्दामा पनि मत विभाजित छ । प्रारम्भिक मस्यौदामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर रहने शासकीय स्वरूप रहनुपर्ने प्रस्ताव थियो । गत ४ मंसिरको निर्वाचनमा प्रदेश सभा निर्वाचनामा भाग नलिएको रास्वपाले राखेको प्रस्तावमा पार्टीभित्रै असन्तुष्टि भएपछि शासकीय व्यवस्थाबारे रास्वपाले जनतादेखि विज्ञसम्म सुझाव लिएको हो । प्रस्तावित दस्ताबेजमा रास्वपाले प्रदेश प्रमुख, प्रदेश सभा र प्रदेश मन्त्रालय खारेज गर्नुपर्ने उल्लेख गरेको थियो । सरकारको प्रमुखको रूपमा प्रदेश गभर्नरको व्यवस्था गर्नुपर्ने प्रस्तावलाई लिएर पार्टीभित्र प्रश्न उठेको थियो । उक्त दस्ताबेजमा देश तथा विदेशमा रहेको सम्बन्धित प्रदेशका मतदाताका आधारमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर हुनुपर्ने उल्लेख थियो । 

संघीयताविरोधीको आरोप खेपिरहेको रास्वपाले शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्रका विषयमा राखेको बहसमा विश्लेषक सिके लालले ठूला दलका व्यवहारका कारण संघीयताप्रति चिन्ता व्यक्त गरे । ‘साम्यवादी व्यवस्थामा नहुने भएकाले माओवादीले संघीयताको अपनत्व लिने कुरै थिएन,’ उनले भने, ‘सुरुमा पक्षमा नभएका र पछि लतारिएका कांग्रेस र एमालेले झन् किन अपनत्व लिन्थे ! मधेसी दलले संघीयता त भने तर, उनीहरूले भनेजस्तो आएन । संघीयताको अपनत्व ठूला भनिएका दलहरूले नलिएका कारण सिकार हुन्छ कि भन्ने डर बढेको छ ।’ 

लेखक तथा नागरिक अभियन्ता डा. सञ्जीव उप्रेतीले भने भुइँमान्छेका लागि लोकतन्त्र र सामाजिक न्याय स्थापित हुन नसकेको बताए । ‘लोकतन्त्र र सामाजिक न्याय सुन्दा र देख्दा छ,’ उनले भने, ‘तर, आमनागरिकले अनुभूत गर्न पाएका छैनन् । राज्यप्रणालीप्रतिको अविश्वासले नै मान्छेहरू न्याय खोज्दै माइतीघरमा जम्मा हुन्छन् । तर, राज्यले त्यहाँका आवाज सुन्दैन भने कहाँ छ भुइँमान्छेका लागि लोकतन्त्र र सामाजिक न्याय ?’