१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Tuesday, 02 July, 2024
२o८o असोज २८ आइतबार १o:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी सम्मेलन गर्ने घोषणा मात्रै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १o:१९:oo

- ०८० भित्रै लगानी सम्मेलन गर्ने ३० चैत ०७९ को लगानी बोर्डको निर्णय 
- कुन–कुन देशको लगानीकर्ता बोलाउनेदेखि नेपालका कुन ठूला परियोजनामा लगानीका लागि आह्वान गर्ने भन्नेसम्मका विषयमा छलफलसमेत भएको छैन 

सरकारले चालू आर्थिक वर्ष ०८०/८१ मा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । तर, त्यसका लागि पूर्वतयारीका काम भने अझै पनि सुरु गरिएका छैनन् । ३० चैत ०७९ मा सम्पन्न लगानी बोर्डको ५३औँ बैठकले ०८० भित्रै लगानी सम्मेलन गर्ने गरी अवधारणापत्र स्वीकृत गरेको थियो । सम्मेलनको पूर्वतयारीको काम गर्न बोर्डलाई नै जिम्मेवारी दिएको थियो । १५ जेठमा आएको चालू आर्थिक वर्षको बजेटमा पनि यसै वर्ष लगानी सम्मेलन गर्ने उल्लेख छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यसै वर्ष लगानी सम्मेलन गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर, लगानी सम्मेलनको पूर्वतयारी भने शून्यप्रायः देखिन्छ ।

धनीराम शर्मा, प्रवक्ता, अर्थ मन्त्रालय
अर्थ मन्त्रालयलगायत निकायहरू जिम्मेवारीका साथ लागेका छौँ । सोहीअनुसार हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ । समग्रमा राम्रोसँग पूर्वतयारी गरेर लगानी सम्मेलन गरौँ भन्ने सरोकारवाला निकायहरूको मनसाय छ ।

लगानी सम्मेलनका लागि हालसम्म कुनै पनि संयन्त्र गठन गरिएको छैन । सम्मेलनका लागि आवश्यक नीति–निर्देशन दिने, समन्वय गर्ने तथा व्यवस्थापन गर्ने कुनै पनि निर्देशक, समिति वा उपसमिति गठन गरिएको छैन । ‘लगानी सम्मेलनको पूर्वतयारीको काम गर्न निर्देशक समिति, व्यवस्थापन समितिलगायतका कमिटी बनाउनुपर्छ । सोही कमिटीमार्फत नै सम्मेलनको पूर्वतयारीको काम अघि बढ्छ,’ बोर्डका एक अधिकारीले भने, ‘तर, अझै पनि त्यस्ता समितिहरू गठन भएका छैनन्, समितिहरू नबन्दा तयारीका काम सुरु नै भएका छैनन् ।’

लगानी सम्मेलन कुनै निश्चित निकायले नभई सरकारले नै स्वामित्व लिनुपर्ने ठूलो र महत्वपूर्ण कार्यक्रम हो । यसका लागि लगानी बोर्ड मात्रै नभई अर्थ मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय तथा परराष्ट्र मन्त्रालय पनि जिम्मेवार हुन्छन् । तर, कुनै पनि मन्त्रालयले ठोस रूपमा लगानी सम्मेलनका तयारी सुरु गरेका छैनन् । 

हालसम्म आयोजनाको प्रारम्भिक मिति तय गरिएको छैन । कुन–कुन देशका कार्यकारी प्रमुख, मन्त्री, विज्ञ, दाता तथा लगानीकर्तालाई बोलाउने भन्ने कुनै छलफल भएको छैन । सम्मेलनमा पेस गर्ने लगानीयोग्य परियोजना  सूची तयार पारिएको छैन । यस्ता तयारी सम्पन्न गर्न न्यूनतम ६ महिना लाग्ने बोर्डकै अधिकारीहरू बताउँछन् । तर, पूर्वतयारीको काम सुरु नै नभएका कारण यसै वर्ष लगानी सम्मेलन हुनेमा आशंका पैदा भइरहेको उनीहरूकै भनाइ छ । ‘सम्मेलनमा सोकेस (पेस) गरिने आयोजनाबारे विस्तृत विवरण, अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, डिपिआर, प्रतिफललगायत पनि तयार गर्नुपर्नेछ,’ उनले भने, ‘विदेशी लगानीकर्ता, विज्ञ वक्ताहरूको समय पनि लिनुपर्ने हुन्छ, यस्ता कार्यका लागि निकै समय लाग्छ ।’ 

बजेटले चालू आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने घोषणा गरेको छ, तर हालसम्म कुनै संयन्त्र गठन गरिएन, सम्भावित मिति तय भएको छैन

सरकारले गर्न खोजेको यो तेस्रो लगानी सम्मेलन हो । यसअघि फागुन ०७३ र चैत ०७५ मा लगानी सम्मेलन आयोजना गरिएको थियो । आंशिक सफल मानिएको दुई सम्मेलनपछि सरकारले तेस्रो लगानी सम्मेलन गर्न खोजेको छ । यसको पूर्वतयारीको स्वरूपमा  लगानी बोर्डले भदौ ०७९ मा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम पनि आयोजना गरेको थियो । तर, लगानी सम्मेलनको पूर्वतयारीमा भने खासै काम नभएको बोर्डका एक उच्च अधिकारीले बताए ।  

अहिले नेपाल आर्थिक शिथिलताको अवस्थामा गुज्रिएको छ । त्यो अवस्थामा लगानी भिœयाउन सकेमा वर्तमान अर्थतन्त्रलाई सुधारतर्फ लैजान त सकिन्छ । साथै, समग्र आर्थिक विकासमा यसले सहयोग पुग्ने अपेक्षा छ । त्यो अवस्थामा अहिले लगानी सम्मेलनको आवश्यकता बढी छ । तर, सरकारले आवश्यक तयारी गर्दा लगानी सम्मेलन अन्योलमा परेको छ । 

समन्वय भइरहेको अर्थ मन्त्रालयको दाबी
अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले लगानी सम्मेलनका लागि लगानी बोर्ड, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतका निकायसँग समन्वयन भइरहेको बताए । ‘पूर्वतयारीको काममा मुख्यतः लगानी बोर्ड नै बढी जिम्मेवार हुन्छ । यद्यपि, हामी अर्थ मन्त्रालयलगायतका निकायहरू पनि यसमा जिम्मेवारी छौँ नै । सोहीअनुसार हामीले सबै निकायसँग समन्वयन गरिरहेका छौँ,’ उनले भने, ‘समग्रमा राम्रोसँग पूर्वतयारी गरेर लगानी सम्मेलन गरौँ भन्ने सरोकारवाला निकायहरूको मनसाय छ । पहिलो चरणमा सम्मेलनमा सोकेस गरिने आयोजनाबारे विस्तृत रूपमा तयारी गर्ने कुरा आएको छ ।’  

विगतका सम्मेलनलाई फर्केर हेर्दा 
सरकारले यसअघि पनि दुई लगानी सम्मेलन गरिसकेको छ । फागुन ०७३ मा गरिएको लगानी सम्मेलनमा चीन, बंगलादेश, भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालगायतका मुलुकका लगानीकर्ताबाट १४ खर्ब हाराहारीमा लगानी प्रतिबद्धता आएको थियो । त्यो सम्मेलनमा विश्वका विभिन्न देशका दुई सय ५० जना लगानीकर्ता सहभागी थिए । 

चैत ०७५ मा गरिएको दोस्रो सम्मेलनमा भने ४१ आयोजनामा ३१ खर्ब हाराहारीमा लगानी प्रतिबद्धता आएको थियो । उक्त कार्यक्रममा ४० देशका सात सयजना लगानीकर्ता तथा प्रतिनिधि उपस्थित थिए । स्वदेशबाट भने ६ सयजना हाराहारीमा प्रतिनिधि उपस्थित थिए । यसरी विगतको दुई सम्मेलन सफल मानिए पनि त्योअनुसार लगानी भने आउन सकेको छैन । यसको छुट्टै समीक्षा गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यद्यपि, तेस्रो सम्मेलन भएमा बृहत् नै हुने अनुमान सरकारको छ । 

ad
ad
ad
ad