१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पचली भैरवको लिंगो उठाउने जात्रा ४५ वर्षपछि पुनर्स्थापना गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:४७:oo

विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्रा यस वर्ष पुनर्स्थापित हुने भएको छ ।
 
जात्राका लागि शुक्रबार साँखुमाथिको जंगलबाट लिंगोका लागि रूख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिए । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । 

लिंगो उठाउने साइत भने शनिबार गुरुजीले निकाल्ने उनले बताए । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनः सुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए । 

जात्राका लागि लिंगोको रूख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर शुक्रबार रातिसम्म लिंगो टेकु पुर्‍याइने भएको छ । 

आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिंगो ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुवात गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । 

श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनर्स्थापना गर्न लागिएको जनाइएको छ । (रासस)

ad
ad