मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Wednesday, 18 December, 2024
विजय प्रसाद
२o८o असोज २६ शुक्रबार o९:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टिनी जनतामाथि बर्सिरहेको कहर

Read Time : > 2 मिनेट
विजय प्रसाद
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार o९:o८:oo

याे आलेख प्रकाशित हुँदा कतिजना प्यालेस्टिनी जनता मारिँदै होलान्, त्यो यसै भन्न सकिँदैन । पेट्रोल वा विद्युत् नभएका कारण प्यालेस्टिनीको घाइते शरीर वा लासलाई अस्पताल वा कब्रस्तान पुर्‍याउन पनि हम्मे–हम्मे परिरहेको होला । प्यालेस्टिनी जनता अहिले अँध्यारो कोठामा बमवर्षक जहाजको कर्कश आवाज छल्न दुवै हातले कान छोप्दै अवश्यम्भावी बम हमला कुरिरहेका छन् । र, उद्धारकर्ता भग्नावशेष छेउमा पुगेर खोतल्दै गर्दा लासको पहिचान हुन सक्दैन र परिजन मारिएकाको लुगा वा सामान हेरेर रुन्छन् । गाजामा बसोवास गर्ने प्यालेस्टिनी जनताको जीवनमा यही कहालीलाग्दो कहर बर्सिरहेको छ । हरेकपटकको इजरायली हमलाले गाजाको बचेखुचेको पूर्वाधारलाई धुलोपिठो बनाइदिन्छ र जनताको जीवन नारकीय बन्छ । गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु र घाइते भएका नागरिकको अभिलेख राख्ने गरेको छ, तर यसलाई इजरायल र उसका पश्चिमा मतियार खारेज गर्छन् । 

भग्नावशेष गाजा :  गाजा एक भग्नावशेष क्षेत्र हो, जहाँ करिब २० लाख मानिस बसोवास गर्छन् । सन् २०१४ मा इजरायलले गरेको नृशंस बम आक्रमणपछि राष्ट्रसंघले ‘मानिस साँच्चै कंक्रिट–इँटाको मलबामुनि परेका छन्, जहाँ बालबालिका अल्पोष्णताका कारण ज्यान गुमाइरहेका छन्’ भन्दै प्रतिवेदन जारी गरेको थियो ।

सन् २००४ मा इजरायलको राष्ट्रिय सुरक्षा निर्देशक जिओरा इलेन्डले गाजालाई एक ‘विशाल यातना शिविर’को संज्ञा दिएका थिए । यो शिविर सन् १९४८ मा खडा गरिएको थियो, जहाँ नयाँ इजरायली राज्यको जातीय सफाया नीतिअन्तर्गत हटाइएका प्यालेस्टिनीका शरणार्थी शिविर थिए । सन् २००५ मा इजरायली उपनिवेशक र सेनाले औपचारिक रूपमा गाजा क्षेत्र छाडे पनि गाजापट्टीलाई जमिन र समुद्र दुवैतर्फबाट थुनेर इजरायलले अहिले पनि अतिक्रमण जारी राखेको छ । इजरायलले आफ्नो यही थुन्ने शक्तिलाई आधार बनाएर वेलावेलामा जनताको हत्या गर्छ । 

पोलिटिसाइड :  जनवरी २००६ मा प्यालेस्टिनी जनताले गाजामा हमासलाई निर्वाचित गरेर आफ्नै सरकार बनाउने प्रयास गरेको थियो, त्यसवेला हमासको विजयलाई इजरायली र पश्चिमाले स्विकारेका थिएनन् र नतिजा खारेज गर्न सशस्त्र हमला गरेका थिए । स्मरण रहोस्, गाजामा सन् १९८७ मा पहिलोपटक भएको ‘इन्टिफाडा’ (आन्दोलन) का क्रममा हमासको उदय भएको थियो । गाजामा जनतालाई कहिल्यै राजनीतिक अख्तियारी अभ्यास गर्न दिइएन ।

प्यालेस्टिनी जनता अहिले अँध्यारो कोठामा बमवर्षक जहाजको कर्कश आवाज छल्न आफ्ना कान छोप्दै अवश्यम्भावी बम हमला कुरिरहेका छन्
 

इजरायलले गाजाको राजनीतिक जीवनलाई यसरी कुण्ठित पार्‍यो कि सशस्त्र द्वन्द्व स्थायी हुने अवस्था निम्तियो । जब प्यालेस्टिनीले सन् २०१९ मा अहिंसात्मक महान् यात्रा आयोजना गरे, तब इजरायली सेनाले बल प्रयोग गर्दै दुई सय प्यालेस्टिनीको हत्या गर्‍यो । जब अहिंसात्मक आन्दोलनलाई हिंसाबाट कुल्चिइन्छ, तब जनतालाई अहिंसात्मक हुनू र हतियार नउठाउनू भनेर सम्झाउन गाह्रो हुन्छ । प्यालेस्टिनी राजनीतिक प्रक्रियालाई नष्ट पार्ने इजरायली नीतिलाई इजरायलका समाजशास्त्री बरुच किमरलिङले ‘पोलिटिसाइड’ अर्थात् राजनीतिको हत्याको संज्ञा दिएका छन् । प्यालेस्टिनीका लागि यो अवस्थामा सशस्त्र संघर्ष मात्रै अन्तिम विकल्प बन्न पुग्यो ।  

वास्तवमा अन्तर्राष्ट्रिय कानुनअनुसार अतिक्रमणकारी शक्तिविरुद्ध गरिने सशस्त्र संघर्ष अवैध हुँदैन । सन् १९४९ को जेनेभा महासन्धिको अतिरिक्त संहिता १, सन् १९७४ को राष्ट्रसंघीय महासभाको संकल्प तीन हजार ३१४ र सन् १९८२ को संकल्प ३७/४३ ले आत्म–निर्णयको अधिकारलाई सुरक्षित गरेको छ । सन् १९८२ को संकल्पमा ‘स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र औपनिवेशिक एवं विदेशी प्रभुत्व र विदेशी कब्जाबाट मुक्तिका लागि सशस्त्र संघर्षलगायत उपलब्ध सबै माध्यमबाट हुने जनताको संघर्षको वैधानिकतालाई पुनः पुष्टि गर्छ’ उल्लेख गरिएको छ । अवैधानिक अतिक्रमणविरुद्ध गरिने सशस्त्र संघर्षलाई जायज ठहर्‍याउने योभन्दा ठूलो कानुनी मार्ग अन्य हुन सक्दैन । हमासले इजरायलमाथि गरेको हमलाका पछाडि इजरायली सत्ताको राजनीतिक रबैया जिम्मेवार छ । कतारको मध्यस्थतामा कैयौँपटक वार्ताका प्रयास नभएका होइनन्, तर यी प्रयास इजरायली हवाई हमलाले रोकिन्थे ।

युद्ध अपराध :  इजरायल गाजामा धाबा बोल्दा तब पश्चिमा मुलुकले एकै स्वरमा ‘इजरायलसँग प्रतिरक्षाको अधिकार’ छ भन्ने गरेका छन् । ‘इजरायलसँग प्रतिरक्षाको अधिकार’ छ भन्ने वाक्य कानुनी रूपमा त्रुटिपूर्ण छ । सन् १९६७ मा इजरायलले १९४८ मा बनेको इजरायलले ‘हरित रेखा’ मिचेर पूर्वी जेरुसलेम, गाजा र वेस्ट बैंकमा कब्जा जमाएको थियो । तत्कालीन राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प २४२ ले ‘हालैका द्वन्द्वमा कब्जा गरिएका भूमिबाट (इजरायली) सशस्त्र समूह हटाउन’ माग गरेको थियो । यहाँनेर ‘कब्जा गरिएको’ भन्ने शब्दावली त्यसै लेखिएको होइन । सन् १९०७ को हेग नियमनको धारा ४२ अनुसार ‘कुनै पनि भूमि त्यसवेला कब्जा गरिएको ठहर्छ, जब सो भूमि शत्रु सेनाको अख्तियारीमा रहन्छ ।’ 

गाजाको विषयलाई सन् २००५ यता इजरायली अधिकारीले ‘आत्मरक्षा’को भाषा नभई सामूहिक दण्डको भाषा बोलेका छन् । इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले गाजापट्टीमा शृंखलाबद्ध बम हमला गरिरहँदा आफूहरूले विद्युत्, खाद्यान्न, इन्धनलगायत अत्यावश्यक वस्तुमा रोक लगाएको जनाएका छन् । यो जेनेभा महासन्धिअनुसार एक युद्ध अपराध हो । उसो त इजरायलविरुद्ध सन् २०२१ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराध गरेको भन्दै मुद्दा हालिएको छ, तर अदालतले अहिलेसम्म प्रमाण संकलनको कामसमेत सुरु गर्न सकेको छैन ।विडम्बना ! यता प्यालेस्टाइनका भग्नावशेषका अँध्यारा कुनामा बालबालिका अझै पनि दुवै हातले कान छोपेर बम कुरिरहेका छन् । 

(प्रसाद माक्र्सवादी इतिहासकार एवं ट्राइकन्टिनेन्टल :  इन्स्टिट्युट अफ सोसल रिसर्चका निर्देशक हुन्) पिपुल्स डिस्प्याचबाट