
संघीय सरकारले बजेट नपठाउँदा अछामको तुर्माखाँद गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ। तुर्माखाँद बजारमा निर्माणाधीन भवनका लागि संघीय सरकारबाट आउनुपर्ने बजेट नआउँदा भवनको काम रोकिने अवस्थामा पुगेको हो।
संघीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण सुरु भएको भवनको अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भए पनि थप काम अघि बढाउनेबारे अन्योल रहेको गाउँपालिकाका सब–इन्जिनियर रामप्रसाद शर्माले बताए।
पटक-पटक माग गर्दा पनि संघीय सरकारले बजेट नपठाउँदा प्रशासकीय भवन निर्माणको काम अलपत्र हुने अवस्थामा पुगेको गाउँपालिकाका उपाध्यक्ष विमलाकुमारी शाहीले बताइन्। ‘हामी धाइरहेका छौँ,’ उनले भनिन्, ‘अध्यक्षज्यू सबै ठाउँ पुगिसक्नुभयो। भन्न बाँकी कहीँ रहेन। तैपनि यसबारे सुनुवाइ भएन।’ संघीय सरकारले समयमै बजेट पठाए तोकिएको समयअघि नै भवन निर्माणको काम सम्पन्न हुने उनको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीका अनुसार ११ करोड ५३ लाख १८ हजार ६२३ रुपैयाँ लागत अनुमान गरिएको यो भवन निर्माणका लागि पार्वती निर्माण सेवा डोल्पासँग २०८० माघ ७ गते सार्वजनिक खरिद प्रक्रियाबाट भ्याटसहित आठ करोड ६० लाख ७१ हजार १६९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। जसअन्तर्गत दुई करोड ९५ लाख ३८ हजार ३३६ रुपैयाँ भुक्तानी भइसकेको छ।
संघीय सरकारले बजेट पठाउने आशाले ठेकेदार कम्पनीलाई हालसम्म थप एक करोड ७० लाखको उधारो काम गराइएको खत्रीले बताए। ‘बजेट अभावले भवन निर्माणमा समस्या भएको छ। समयमै निर्माण सम्पन्न नहुने जोखिम बढेको छ,’ खत्रीले भने। उनका अनुसार हालसम्म संघीय सरकारले १२ लाख रुपैयाँ मात्र बजेट पठाएको छ। त्योबाहेक गाउँपालिकाले खर्च गर्ने ४० प्रतिशत रकम सबै खर्च भइसकेको छ।
२०८३ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको चारतले यो भवनमा एक सभा कक्षसहित २९ कोठा हुनेछन्। जसअन्तर्गत हालसम्म दोस्रो तलाको ढलान सकिएको छ। यो भवनको भुइँतला सेवा प्रवाहका लागि प्रयोग हुनेछ भने अन्य तलामा विभिन्न विषयगत शाखाहरूसहित अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरको कार्यकक्ष तथा मेलमिलाप कक्ष र सभाहलसहित अन्य फाँटहरूको व्यवस्थापन गर्ने डिजाइनमा उल्लेख छ। गाउँपालिकाले हाल भाडाको घरबाट सेवा दिइरहेको छ।