१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असोज २६ शुक्रबार o८:५५:oo
Read Time : > 9 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

व्यवस्थामा थोरै र जनताको अवस्थामा व्यापक सुधार गर्नु छ

Read Time : > 9 मिनेट
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार o८:५५:oo

मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन भन्दै यतिखेर एकीकृत समाजवादी मेची–महाकाली जागरण अभियानमा छ । रोजगारी, समृद्धि र सुशासनको नारासहित गत १४ असोजमा झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान आगामी २९ असोजसम्म जारी रहनेछ । सबै नेपालीलाई कसरी रोजगारी दिने, समृद्धि र समाजवादको आधार कसरी तयार पार्ने भन्ने एजेन्डा जनतालाई सुनाउने एकीकृत समाजवादीले दाबी गरेको छ । उसले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन र विदेश नीतिसहित १० एजेन्डामा जनतालाई जागरण गराउने उद्देश्य लिएको छ । समाजवादी जागरण अभियान, सरकार, सत्तारुढ गठबन्धन, समाजवादी मोर्चा र एमालेसँगको सम्बन्धलगायत विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नयाँ पत्रिकाकर्मी प्रेम गौतमले गरेको कुराकानी :

पूर्वबाट सुरु भएको मेची–महाकाली समाजवादी जागरण अभियान सुदूरपश्चिम आइपुगेको छ । अभियानप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहिलो, हामीले के पायौँ भने हाम्रो पार्टी जनतामा स्थापित छ । हाम्रो पार्टीप्रति जनताको प्रतिक्रिया सकारात्मक छ । जनता हाम्रो पार्टीप्रति आशा र अपेक्षा गरेर बसेका छन् । अभियानबाट हाम्रो पार्टीको भविष्य निकै राम्रो पाइएको छ ।अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरेर हाम्रो पार्टीमा हजारौँको संख्यामा मानिस प्रवेश गरेका छन् । सभामा जनताको उत्साहजनक सहभागिता रहँदै आएको छ । यो अत्यन्तै उत्साहजनक छ । कसैकसैले हाम्रो पार्टीको भविष्य छैन भनेर एक प्रकारले गिज्याउने गरेका थिए । हाम्रै पार्टीमा पनि कतिपयमा भविष्य छैन कि क्या हो भनेर अन्योल वा निराश भएको स्थिति थियो । यसलाई चिर्न पनि यो अभियानले ठूलो भूमिका खेलेको छ । 

दोस्रो, यो पार्टीको विचार के हो प्रस्ट भएन भनेर प्रचार गर्नेहरूलाई हामीले स्पष्ट पारेका छौँ । यो पार्टीको नाम नै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हो । समाजवादको बारेमा हामी स्पष्ट छौँ । केही मानिसले फैलाएको भ्रम चिर्न सफल भएका छौँ । 

राजनीतिक दलहरूप्रति जनता त निराश छन् नि होइन ?
केही मान्छेको काम भ्रम फैलाउने मात्रै हुन्छ । भ्रममा पर्ने बानी परेका मानिस पनि खालि भ्रमित मात्रै हुन्छन् । निराशावादी मान्छे जहिल्यै निराश मात्रै हुन्छ । नबुझेकालाई बुझाउन सकिन्छ, निदाएकालाई ब्युँझाउन सकिन्छ । निदाएको नाटक गर्नेलाई ब्युँझाउन सकिँदैन । खुब बुझेको बहाना गर्नेलाई बुझाउन सकिँदैन । नेपालमा मात्रै होइन, संसारमै दुई खालका मानिस हुन्छन्– एउटा तटस्थ र आशावादी । अर्को पूर्वाग्रही र निराशावादी । तटस्थ र आशावादी मानिसलाई सहजै बुझाउन सकिन्छ ।

निराशावादीसम्मलाई पनि आशावादी बनाउन सकिन्छ । तर, चरम पूर्वाग्रहीलाई केही गर्न सकिँदैन । यो अभियानले जनतामा र केही हदसम्म हाम्रा कार्यकर्तामा रहेको द्विविधालाई चिर्ने काम गरेको छ । पार्टी स्थापना हुँदा नै हामीले लक्ष्य, उद्देश्य, समाजका प्रधान अन्तरविरोध, गौण अन्तरविरोध, मुख्य शक्ति र सहायक शक्तिबारे स्पष्ट पारेका छौँ । समाजवादबारे हाम्रो अवधारणा सार्वजनिक गरिसकेका छौँ । सर्वहारावर्गीय पार्टी भएकाले वर्ग दृष्टिकोणबारे हामीमा कुनै द्विविधा छैन । 

सवाल के भने हामी बुझ्नका लागि खुला दिमागले तयार छौँ कि छैनौँ ? राम्ररी अध्ययन गर्छौँ कि गर्दैनौँ ? केन्द्रीय कमिटीको पहिलो बैठकदेखि छैटौँ बैठकसम्मका प्रतिवेदन, राष्ट्रिय प्रतिनिधि परिषद्को प्रतिवेदनले नै विस्तृत रूपमा यावत् सवालमा हाम्रो धारणालाई प्रस्ट पारेको छ । तिनै कुराको प्रस्तावनामा उभिएर अहिले हामीले १० वटा विषय अघि सारेर समाजवादी जागरण अभियान सञ्चालन गरेका हौँ । 

एकीकृत समाजवादीको मुख्य प्राथमिकता के हो ?
कृषि नेपालको अर्थतन्त्रको आधारशिला हो भन्ने प्रस्ट सोच हामीले अगाडि सारेका छौँ । सुरुदेखि नै मैले जोड दिँदै आएको छु, ‘एग्रिकल्चर इज फाउन्डेसन अफ नेप्लिज इकोनोमी’ । जलविद्युत् र पर्यटन नेपालको अर्थतन्त्रका इन्जिन हुन् । यो जति तीव्र गतिमा हिँड्छ, त्यति नै यसले गति पैदा गर्छ र अर्थतन्त्रको विकासलाई नयाँ उचाइमा पुर्‍याउँछ । त्यसैगरी सबैसँग जोडिएको विषय हो, उद्योग । शिक्षा र स्वास्थ्यमा हामीले विशेष ध्यान दिनुपर्नेछ । यी सबै कुरा गर्न हामीले सामरिक ढंगले योजना बनाउनुपर्छ । अहिले गर्ने र भोलि गर्ने काम छुट्याउनुपर्छ । योजना र कामको प्राथमिकता निर्धारण गर्नुपर्छ । प्रत्येक काम सुरु हुनुभन्दा पहिला साधन र स्रोत कहाँ उपयोग गर्ने भन्ने कुरा हेर्नुपर्छ । कुनै पनि काम सुरु गरिसकेपछि गुणस्तरीय रूपमा छिटो सम्पन्न गर्नेमा ध्यान दिनुपर्छ । यो सबै गर्ने सवालमा गहिरो अध्ययन, अनुसन्धान गर्नुपर्छ । खोज गर्नुपर्छ र यथार्थमा पुग्नुपर्छ । 

शिक्षा र स्वास्थ्यकै लागि बिदेसिनुपर्ने अवस्था अन्त्य गर्न सकिँदैन र ?
शिक्षा र स्वास्थ्यको महत्व  हामीले बुझेनौँ भने दक्ष जनशक्ति तयार गर्न सक्दैनौँ । मिहिनेती जनशक्ति तयार गर्न सक्दैनौँ । युवापंक्ति योग्य र सक्षम भएन भने त्यो समाजको ठूलो समस्या हुन्छ । सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्यमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । शिक्षाकै माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ । कृषिलाई प्रविधिसँग जोडेर पनि रोजगारी दिन सकिन्छ । देशभित्रै रोजगारी दिने कुरालाई महत्व  दिन सकेनौँ भने हाम्रा युवा प्रत्येक दिन विदेश पलायन हुने क्रम रोकिनेवाला छैन । विदेशमा दुःखकष्ट गर्नुपरेको छ । ज्यानसमेत जाने अवस्था छ । गाउँमा युवाहरू नहुने अवस्था आइसकेको छ । युवाको समस्या सबैभन्दा ठूलो समस्या हो । बेरोजगारीको समस्या सबैभन्दा महत्वपूर्ण समस्या हो । रोजगारीकै आभावमा गरिबी छ । उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ । 

बेरोजगार उन्मूलन गर्ने नारा पनि दिनुभएको छ । १० वर्षमा यो काम सम्भव छ ? 
१० वर्ष अहिले नै किटान गरेर भन्न मिल्दैन । यो वैज्ञानिक खोजको कुरा हो । गहिरो अध्ययनको कुरा हो । हामीले हातमा जिम्मेवारी प्राप्त गरेपछिको निरन्तरताको कुरा पनि हो । गर्न त हामीले गर्‍यौँ । गौरवका साथ भन्नुपर्छ, व्यवस्था पनि हामीले परिवर्तन गरेका छौँ । जनताको अवस्था पनि परिवर्तन गरेका छौँ । व्यवस्थालाई अझै सुधार गर्नुपर्नेछ । अवस्थामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ । 

हामीलाई कसैको विरोध गर्नु छैन । कसैको विरोध गर्नका लागि हामीले यो पार्टी बनाएका होइनौँ । हामीले समाजलाई परिवर्तन गर्नका लागि, रूपान्तरण गर्नका लागि पार्टी बनाएका हौँ । अब कोही नकारात्मक सोच राखेर गालीगलोज गरेर आनन्द मान्छन् भने उनीहरूलाई धिक्कार छ भन्नुबाहेक केही हुँदैन । नाम काढीकाढी, कुनै पार्टी विशेषको विरोध गर्ने कुरालाई कसैले राम्रो ठान्दैन । हामी हाम्रा एजेन्डा अगाडि सारेर जनतामाझ आएका छौँ ।

देशमा पटक–पटक व्यवस्था बदलियो, तर जनताको अवस्था बदलिएन किन ?
जनताको अवस्था बदलिएन भन्ने कुरा गलत हो । मेची–महाकाली अभियानका क्रममा हामीले देख्यौँ, गाउँगाउँमा बाटाहरू पुगेका छन् । कतिपय ठाउँमा क्वालिटीको समस्या होला । तर, आम रूपमा बाटाहरू राम्रो पाइयो । गाउँगाउँमा दुई लेनका बाटा छन् । जुन जिल्लामा म बाटोको चरम अभाव देख्थेँ, त्यहाँ अहिले बाटोको सञ्जाल फैलिएको देखेर मन खुसी नै भएको छ । त्यसकारण केही पनि भएन भनेर निराशावादको प्रचार किमार्थ गर्नु हुँदैन । जनताको जीवनस्तरमा पहिलेभन्दा अहिले परिवर्तन भएको छैन ? गाउँगाउँमा पहिलाको र अहिलेको अवस्था हेर्दा केही परिवर्तन भएको छैन ? त्यसकारण कुन भाष्य स्थापित गर्ने हो, हामी यो व्यवस्था काम लाग्दैन भन्ने निष्कर्षमा पुग्ने हो ? हामीले ल्याएको व्यवस्था हो यो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने कि कमजोर बनाउने ? हामी बलियो बनाउने गरी अगाडि बढ्नुपर्छ । यसलाई कमजोर बनाउन खोज्ने प्रतिगामी तत्वको सपनालाई चकनाचुर पार्नुपर्छ । त्यसका लागि हामीले अग्रगामी भूमिका खेल्नुपर्छ । हामीले बहुदलीय व्यवस्था ल्याएका थियौँ, राजतन्त्र हुँदाहुँदै पनि । राजतन्त्र जबसम्म हाम्रा सामु शत्रुको रूपमा खडा भएन, तबसम्म त्यो बहुदलीय व्यवस्थाको माध्यमबाट हामीले जनताको विश्वास जितेका थियौँ । ०५१ सालको सरकार बनाएका थियौँ । सरकारबाट सानदार काम गरेका थियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र पनि हामीले ल्याएका हौँ । 

सरकार फेरियो, प्रधानमन्त्री फेरिए । तर, देश र जनताले के पाए ? 
चुनौतीका बीचमा ०६६/०६७ मा म आफैँ प्रधानमन्त्री भएँ । म प्रधानमन्त्री भएका वेला ल्याइएका एकसेएक कार्यक्रम तपाईँहरूले हेर्नुस् । जनता आवास कार्यक्रम ऐतिहासिक महत्वको कार्यक्रम होइन ? मध्यपहाडी राजमार्ग, स्मार्ट सिटीको काम महत्वपूर्ण होइन ? काठमाडौंसँग तराई जोड्ने दूरगामी महत्वको काम होइन ? निजगढमा विमानस्थल बनाउनुपर्छ भन्ने कुरा दूरगामी महत्वको होइन ? हुलाकी राजमार्गको काम दूरगामी महत्वको होइन ? युवा परिषद्को स्थापना पनि मेरै पालामा भएको हो । देशका विभिन्न भागमा पोलिटेक्निकल इन्स्टिच्युटहरू मेरै पालामा स्थापना भएका हुन् ।

मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालय मेरै पालामा स्थापना भएका हुन् । शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा धेरै काम भएका छन् । एक घर, एक रोजगारी, एक गाउँ एक सहकारी, अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेर छुवाछुत अन्त्य गर्ने ठोस काम मेरै सरकारको पालामा भएको हो । कुनै पनि सरकारले काम गरेनन् भन्ने भाष्य नै गलत हो । गर्नेहरू पनि छन्, नगर्नेहरू पनि छन् । सबैले गलत गरे भन्नुअघि अध्ययन गर्ने बानी बसाल्नुपर्छ । 

कम्युनिस्ट पार्टीले करिब दुईतिहाइ मत ल्याउँदा पनि अपेक्षित काम गर्न सकेन । त्यसको जिम्माचाहिँ लिनुपर्दैन ?
हो, ०७४ सालको चुनावमा हामीले मौका पाएका थियौँ । त्यो मौकाको सदुपयोग गरेको भए साँच्चै धेरै काम गर्न सकिन्थ्यो । हामीले मिलेर, एकताबद्ध भएर, राम्रो योजना बनाएर, समाजवादको लक्ष्यलाई ध्यानमा राखेर काम गर्न सकेको भए धेरै गर्न सकिन्थ्यो । 

अहिले पनि कम्युनिस्ट पार्टीकै नेताको नेतृत्वमा सरकार छ । यो सरकारले केही आशा जगाउन सक्छ ?
अहिले पनि धेरै जल्दाबल्दा समस्या छन् । सरकारले आशा जगाउने ढंगले काम पनि सुरु गरेको छ । तर, अझै धेरै काम गर्नुपर्नेछ । अहिले गठबन्धनको सरकार छ । वास्तवमा हाम्रै मिहिनेत र प्रयत्नबाट गठबन्धन सरकार बनेको हो । यो सरकारलाई बलियो बनाउनु, सही बाटोमा डोर्‍याउनु हाम्रो जिम्मेवारी हो । सरकारले कमजोरी गरेको छ भने मित्रतापूर्ण ढंगले सदन र सरकारमा बसेर भन्ने हो । सडकबाट आवाज उठाएर पनि भन्ने हो । हामी सडक, सदन र सरकार तीनवटै मोर्चामा छौँ । 

प्रचण्ड सरकार बनेको १० महिना भयो, अंक दिनुपर्‍यो भने कति दिनुहुन्छ ?
बडो गाह्रो प्रश्न सोध्नुभयो । मार्क दिँदा फेल हुने त दिनै भएन । किनभने, सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेडेको छ । छानबिन, अनुसन्धान गरिरहेको छ । तर, कर्मचारी प्रशासनभित्र अझै पनि ससानो काममा पनि ठूलो भ्रष्टाचार छ । विनापैसाको काम नहुने प्रवृत्ति व्याप्त छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ प्रधानमन्त्रीको ध्यान जानुपर्छ । यसतर्फ समय दिनुपर्छ, सोच र योजना बनाउनुपर्छ । गलत काम गर्नेलाई गिरफ्तार गर्ने र दण्डित गर्ने परिपाटी बसाल्नुपर्छ ।

कर्मचारी प्रशासनभित्र अझै पनि ससानो काममा पनि ठूलो भ्रष्टाचार छ । विनापैसाको काम नहुने प्रवृत्ति व्याप्त छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ प्रधानमन्त्रीको ध्यान जानुपर्छ । यसतर्फ समय दिनुपर्छ, सोच र योजना बनाउनुपर्छ । गलत काम गर्नेलाई गिरफ्तार गर्ने र दण्डित गर्ने परिपाटी बसाल्नुपर्छ । राज्यका संयन्त्रलाई तदनुरूप नै अगाडि बढाउनुपर्छ । राज्यको संयन्त्रमा असल, इमानदार पनि छन् । खराब र असल छुट्याउन सक्नुपर्छ । यो काममा प्रधानमन्त्री र सरकारी निकायले भूमिका खेल्नुपर्ने हुन्छ । नभए जोसुकै भए पनि गर्न सक्दैनन् । 

राज्यका संयन्त्रलाई तदनुरुप नै अगाडि बढाउनुपर्छ । राज्यको संयन्त्रमा असल, इमानदार पनि छन् । खराब र असल छुट्याउन सक्नुपर्छ । यो काममा प्रधानमन्त्री र सरकारी निकायले भूमिका खेल्नुपर्ने हुन्छ । नभए जोसुकै भए पनि गर्न सक्दैनन् । पहिला गर्ने चाहना हुनुपर्‍यो । चाहनाले मात्रै पुग्दैन, योजना हुनुपर्छ र त्यसलाई लागू गर्नुपर्छ । सोच राख्नुस्, व्यावहारिक योजना ठोस रूपमा अगाडि सार्नुस् र कार्यान्वयनमा लानुस् । काम ठिक ढंगले भएको छ कि छैन, अनुगमन र मूल्यांकन गर्नुस् । राम्रो गरेको छ भने खुसी हुनुस्, कमजोरी भएको छ भने सुधार गर्नुस् । यी जम्मै सिरिजमा जानुपर्ने आवश्यकता छ । 

यो सरकारले अनेक चुनौतीबीच काम गर्दै छ । काम गर्ने सिलसिलामा कतिपय कुरा मिलेको छैन । एउटा मन्त्रालयले एक ढंगले सोच्छ, अर्को मन्त्रालयले अर्को ढंगले सोच्छ । कसले राम्रो गरेको छ, कसले गलत गरेको छ भन्ने अनुगमन हुनुपर्छ । केही विषयमा नीतिगत रूपमै छलफल गर्नुपर्ने आवश्यकता पनि छ ।

कांग्रेस र समाजवादी मोर्चा मिलेर सरकार चलाउँदा राम्रो भएन, मोर्चाले सरकार चलाउँदा कांग्रेसले बाहिर बसेर समर्थन गर्ने र कांग्रेसले चलाउँदा मोर्चाले बाहिरै बसेर समर्थन गर्ने भन्ने बहस कांग्रेस नेताहरूले सुरु गरेका छन् । तपाईंको धारणा के छ ?
त्यस्तो प्रस्ताव हामीलाई आएको छैन । बाहिर त के–के आउँछ, के–के ! मान्छेका अनेक सोच हुन्छन् । अनेक व्यक्तिका अनेक धारणा हुन्छन् । मनमा कुरा खेलिरहेका हुन्छन् । नयाँ–नयाँ परिकल्पना गरिरहेका हुन्छन् । प्रत्येक परिकल्पनाको पछाडि हामी जानु हुँदैन । कांग्रेस पार्टीको संस्थागत धारणा के हो भने यो गठबन्धनलाई हामीले जति बलियो बनायौँ, त्यति नै यो टिकाउ हुन्छ । त्यति नै यसले जनतालाई सकारात्मक सन्देश दिन्छ । कमजोरी छन् भने गठबन्धनमै बसेर छलफल गर्नुपर्छ । किनभने, कुनै एउटा घटकलाई जिम्मा दिएर मात्रै समस्याको समाधान हुँदैन ।

तपाईंले भनेजस्तै गर्ने हो भने सरकारको नीतिसँग सहमत भएन भने के गर्ने ? उसको कामसँग सहमति भएन भने के गर्ने ? चरम भ्रष्टाचार गर्न थाल्यो भने के गर्ने ? उसले गलत नीति लियो भने के गर्ने ? देशविरोधी, जनविरोधी काम गर्न थाल्यो भने के गर्ने ? जे भए पनि गठबन्धन एउटा मान्यतामा उभिनुपर्छ । म त्यस्तो प्रधानमन्त्रीमध्ये एक हुँ, जसले २२ वटा पार्टीलाई एकसाथ मिलाएर लगेको हो । २२ वटा पार्टीलाई २२ महिनासम्मै एकताबद्ध बनाएर लगेको हो । त्यसमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका थियो । नेपाली कांग्रेसले पनि गठबन्धन सरकारको समय–समयमा अगुवाइ गरेको छ । कांग्रेस र माओवादी, कांग्रेस र हाम्रै पार्टी मिलेर पनि सरकार चलाएको इतिहास छ । यो गठबन्धन सरकार चलाउने पहिलो अनुभव होइन । कहीँ कमजोरी भएको छ भने गठबन्धन दलको बैठकमा ल्याए हुन्छ । त्रुटि भएका छन् भने सच्याएर अगाडि बढ्नुपर्छ । 

देश र जनताको हितको रक्षा मुख्य कुरा हो । लोकतन्त्रको मूल्य–मान्यताभित्र रहेर हामीले काम गर्नुपर्छ । खासगरी अर्थतन्त्रको अहिलेको संकटको मारमा परेका उद्यमी, व्यवसायी र आमजनताको समस्यालाई सम्बोधन गर्नुपर्नेछ । महँगीको मारमा रहेका जनताको समस्यालाई समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्नेछ । 

समाजवादी जागरण अभियानमा तपाईंहरूको प्रस्तुति यसअघिको भन्दा फरक देखियो । यसअघि एमाले अध्यक्षप्रति तीव्र आलोचना गर्नुहुन्थ्यो, यसपटक त्यस्तो देखिएन । एमालेसँग सम्बन्ध सुधार हुन लागेको हो ? 
हामीलाई कसैको विरोध गर्नु छैन । कसैको विरोध गर्नका लागि हामीले यो पार्टी बनाएका होइनौँ । हामीले समाजलाई परिवर्तन गर्नका लागि, रूपान्तरण गर्नका लागि पार्टी बनाएका हौँ । यो पार्टी उद्देश्यको खातिर अगाडि बढेको हुनाले सद्बुद्धि सबैमा आओस् भन्ने चाहना हुन्छ । सकारात्मक सोचमा सबै चलून् भन्ने हुन्छ ।

जनताको अवस्था बदलिएन भन्ने कुरा गलत हो । मेची–महाकाली अभियानका क्रममा हामीले देख्यौँ, गाउँगाउँमा बाटाहरू पुगेका छन् । कतिपय ठाउँमा क्वालिटीको समस्या होला । तर, आम रूपमा बाटाहरू राम्रो पाइयो । गाउँगाउँमा दुई लेनका बाटा छन् । 

अब कोही नकारात्मक सोच राखेर गालीगलोज गरेर आनन्द मान्छन् भने उनीहरूलाई धिक्कार छ भन्नुबाहेक केही हुँदैन । नाम काढीकाढी, कुनै पार्टी विशेषको विरोध गर्ने कुरालाई कसैले राम्रो ठान्दैन । हामी हाम्रा एजेन्डा अगाडि सारेर जनतामाझ आएका छौँ । सडकबाट जनतासँग गाँसिन मेचीदेखि महाकालीसम्मको यात्रामा छौँ । सडकबाट जनताको पीडा, वेदना बुझ्न, जनतामा हाम्रो सन्देश, विचार, समाजवाद र समृद्धिको अवधारण र नेपालको भविष्य केमा छ भन्ने कुरा बताइरहेका छौँ । राष्ट्रियता, देशभक्तिपूर्ण हाम्रा धारणा अघि सारेका छौँ । सम्पूर्ण देशभक्त शक्ति आउनुहोस्, एकताबद्ध होऔँ । पार्टीहरू पनि आउनुहोस्, एकताबद्ध होऔँ भनिरहेका छौँ । सारा देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा भएको बुझेर नै यो अभियान सञ्चालन गरेका हौँ । देशभरका जनता यो अभियानप्रति खुसी छन् । आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत सबै समुदायले हामीप्रति ठूलो आशा र अपेक्षा गरेका छन् । 

पछिल्लो समय साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि पनि भए, कतिपयले राजनीतिक रंग दिन खोजेको पनि देखियो । तपाईं के भन्नुहुन्छ ?
हिन्दू र मुसलमानको बीचमा, आदिवासी जनजाति र अन्य समुदायको बीचमा दूरी बढाउने खालको कोसिस भइरहेको छ । यसलाई हामीले परास्त गर्नुपर्छ । जसरी प्रतिगामीको चलखेल देखिएको छ, त्यसलाई पनि परास्त गर्नुपर्छ । जनतालाई सजग, होसियार पनि बनाउनुपर्छ । आन्दोलनको उपलब्धि जोगाउने, संविधानको रक्षा गर्ने अभियानलाई अगाडि बढाउनुपर्छ ।

समाजवादी मोर्चाको संयोजक पनि हुनुहुन्छ । सुदूरपश्चिममा रोकिएको सन्देश सभा कहिले हुन्छ ?
समाजवादको मान्यतामा सहमत भएका चार पार्टी मिलेर गत असार ४ गते समाजवादी मोर्चा बनेको हो । सरकारबाट काम गर्न, सदनबाट र सडकबाट आवाज उठाउन सकियोस् भनेर मोर्चा बनाएका हौँ । ६ वटा प्रदेशमा सन्देश सभाहरू सम्पन्न गरिसकेका छौँ । सुदूरपश्चिम प्रदेशमा हामीले सन्देश सभा गर्न भ्याएका छैनौँ । भदौ १३ मा तय गरेका थियौँ । तर, केही समस्याले रोकियो । २६ भदौमा पनि रोकियो । सुदूरपश्चिममा पनि सन्देश सभा छिटै गर्नेछौँ ।

समाजवादी मोर्चाले दिन खोजेको खास सन्देशचाहिँ के हो ? 
पहिलो सन्देश भनेको समाजमा समानता हुनुपर्छ । समाजमा रहेका सबै प्रकारका असमानतालाई हटाउनुपर्छ । समाजमा न्याय हुनुपर्छ । अन्याय जति पनि छन्, त्यसविरुद्ध जुझ्नुपर्छ । न्यायको प्रत्याभूति गर्नुपर्छ । राज्य सञ्चालन गर्दा सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । विकासको अभियान सञ्चालन गर्दै रोजगारीको प्रत्याभूति गर्नुपर्छ । र, जनतालाई समृद्धि प्रदान गर्न सक्नुपर्छ । हामी सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको पक्षमा छौँ ।