एमसिसी प्रसारणलाइनको टेन्डर रद्द गरिने

अमेरिकाबाट एमसिसीले नै भन्यो– यो बजेटमा काम गर्न सकिन्न, अहिलेको टेन्डर रद्द गरेर पुनः टेन्डर आह्वान गर्नू

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

लागतभन्दा बढी मूल्यमा वित्तीय प्रस्ताव परेपछि मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी बोलपत्र रद्द गर्ने भएको छ । एमसिए नेपालले मूल्यांकनको चरणमा रहेको उक्त टेन्डर प्रक्रिया रद्द गरेर पुनः टेन्डर आह्वान गर्ने भएको हो । 

बुधबार मात्रै अमेरिकाबाट मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले उक्त टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गर्न एमसिए नेपाललाई भनेको हो । एमसिए नेपालले यससम्बन्धी मागेको सुझावमा एमसिसीले यस्तो सिफारिस गरेको हो । त्यसपछि एमसिए नेपाल बोलपत्र रद्द गरेर पुनः टेन्डर प्रक्रियामा जाने निर्णयमा पुगेको हो । अब छिट्टै यसलाई पूर्णता दिने एमसिए नेपालका एक अधिकारीले बताए । सम्भवतः दसैँपछि (कात्तिक दोस्रो सातापछि) नयाँ टेन्डर आह्वान गर्न सकिने उनको भनाइ छ । 

यसअन्तर्गत कुल तीन सय १५ किलोमिटर लामा चार प्रसारण लाइन बन्दै छन् । एमसिए नेपालले त्यसको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर, टेन्डरमा त्यसको न्यूनतम वित्तीय प्रस्ताव भने लागत अनुमानको तुलनामा ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । यो अनुमानित लागतभन्दा १४ करोड ५३ लाख डलर बढी हो ।  

मुख्य परियोजनाका रूपमा रहेको प्रसारणलाइनको ठेक्का सम्झौतामै झमेला हँुदा समयमै काम सम्पन्न हुनेमा चुनौती देखिएको छ

एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.६७ करोड डलर लगानी गरेर निश्चित ६९.६७ करोड डलरको बजेटमा यसअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र ७७ किमि सडक मर्मत गर्नु रहेको छ । यो रकममा ठेक्का सम्झौता गर्दा बजेट पुग्ने अवस्था छैन । ६५ प्रतिशतभन्दा बढी वित्तीय प्रस्तावलाई छलफलमार्फत घटाउन सक्ने सम्भावना थिएन । त्यो अवस्थामा एमसिए नेपाललाई ठेकदार छनोट गर्न गाह्रो परेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सुरुबाटै पुनः टेन्डरमा जान एमसिएलाई निर्देशन दिँदै आएका थिए । तर, एमसिए नेपालले त्यसबारे निर्णय गरेको थिएन ।

अहिले आएर एमसिसीले नै नयाँ टेन्डर आह्वान गर्न भनेको स्रोतको भनाइ छ । उक्त प्रस्तावित बजेटमा काम गर्न नसकिने भन्दै अर्काे टेन्डर आह्वान गर्न एमसिसीले सुझाव दिएको स्रोतको भनाइ छ । अब यसबारे छिट्टै औपचारिक निर्णय हुनेछ । हाल अर्थमन्त्री डा. महत देशबाहिर छन् । उनी आएपछि यसबारे निर्णय हुने स्रोतको भनाइ छ । 

एमसिएअन्तर्गत बन्ने चारवटा प्रसारणलाइनलाई तीन लटमा विभाजन गरेर गत १२ मंसिर (नोभेम्बर २८) देखि ७ जेठ (२२ मे तारिख)सम्म टेन्डर आह्वान गरिएको थियो । त्यसमा भारतका मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केइसी इन्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एन्ड टर्बो लिमिटेड गरेर ६ वटा आवेदन परेका थिए । मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त प्रस्ताव प्राविधिक रूपमा फेल भएको थियो । प्राविधिक रूपमा पास भएका अन्य पाँच कम्पनीको वित्तीय प्रस्ताव एमसिए नेपालले १९ भदौमा खोलेको थियो ।  

टेन्डरको लट–१ मा लप्सेफेदी–रातामाटे–न्यु हेटौँडा, लट–२ मा रातामाटे–न्यु दमौली र लट–३ मा न्यु दमौली–न्यु बुटवल र न्यु बुटवल–नेपाल–भारत बोर्डर प्रसारणलाइन थिए । एक कम्पनीले बढीमा दुई लटसम्मको ठेक्का पाउने नीति थियो । टेन्डरमा लट–१ मा १३ करोड १५ लाख डलर, लट–२ मा १० करोड ५४ लाख डलर र लट–३ मा १२ करोड ९० लाख डलरबराबरको न्यूनतम वित्तीय प्रस्ताव परेको थियो । न्यूनतम प्रस्ताव स्वीकार गर्दा पनि लागत उच्च बढ्ने थियो । सोही अवस्थालाई लक्षित गर्दै एमसिसीले पनि पुनः टेन्डर आह्वान गर्न सुझाव दिएको हो ।

यद्यपि, कुन मोडेलमा पुनः टेन्डर आह्वान गर्ने भनेर टुंगो भइसकेको छैन । लागत घटाउन प्रसारणलाइनको डिजाइन परिवर्तन गर्ने एमसिए नेपालको तयारी छ । सम्भवतः अब एमसिए नेपालले अहिलेकै जस्तो लामो प्रक्रियाको टेन्डर गर्दैन । बढीमा चार महिनामा टुंग्याउने गरी पुनः टेन्डर गर्ने एमसिए नेपालको तयारी छ । अहिलेको टेन्डरमा प्रस्तावक कम्पनीको प्राविधिक र वित्तीय दुई चरणमा मूल्यांकन हुन्थ्यो । प्राविधिक रूपमा पास हुने कम्पनीले मात्रै वित्तीय प्रस्ताव गर्न पाउने मोडेल थियो । तर, अब टेन्डर आह्वान गर्दा प्राविधिक र वित्तीय प्रस्ताव एकै चरणमा टुंग्याउने एमसिए नेपालको योजना छ । त्यस्तै, अहिले प्राविधिक रूपमा पास भएका पाँच कम्पनीले मात्रै प्रस्ताव हाल्न पाउने गरी पुनः बोलपत्र आह्वान गर्न सकिने स्रोतको भनाइ छ ।

एमसिसीसँगको पूर्वसम्झौताअनुसार कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षमा काम सम्पन्न गर्नुपर्छ । यो परियोजना गत अगस्ट ३० बाट कार्यान्वयनमा प्रवेश गरिसकेको हुनाले आगामी २९ अगस्ट ०२८ सम्म काम सकिसक्नुपर्छ । नभए खर्च हुन बाँकी पैसा एमसिसीले पठाउनेछैन । तर, मुख्य परियोजनाका रूपमा रहेको प्रसारणलाइनको ठेक्का सम्झौतामै झमेला हुँदा समयमै काम सम्पन्न हुनेमा चुनौती देखिएको छ । यद्यपि, परियोजना समयमै सम्पन्न हुने एमसिए नेपालको दाबी छ । 

एमसिसी कम्प्याक्ट कोषको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीमा यसअन्तर्गत तीन परियोजना बन्दै छन् । एमसिसी अनुदानका लागि सेप्टेम्बर २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो । यसअन्तर्गत तीन सय १५ किमि लामा चार सय केभी क्षमताका चार प्रसारणलाइनसहित तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको एक सय ३० किमि सडकखण्ड मर्मत हुँदै छ । रातमाटे, तनहुँको दमौली र पश्चिम नवलपरासी–पश्चिम भुमहीमा ४००–४०० केभी क्षमताका तीन सबस्टेसन बन्नेछ । यहीअन्तर्गत महेन्द्र राजमार्गमा भालुबाङबाट पश्चिमतर्फको एक सय ३० किमि खण्ड विशेष रूपमा मर्मत गरिँदै छ । अहिले सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान भइरहेको छ । सडक मर्मतका लागि भने टेन्डर आह्वान भइसकेको छैन । 
 

सुझावित समाचार