१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गाजाबाट प्रहार गरिएको रकेटले राजधानी तेलअभिभको दक्षिणी भागमा अवस्थित रेहोवोट क्षेत्रमा पारेको क्षति
श्रवण उप्रेती काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:२५:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हमासको दाबी– २० मिनेटमा ५००० रकेट प्रहार

Read Time : > 5 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२५:oo

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार इजरायलतर्फ १५० र गाजापट्टीतर्फ २०० जनाको मृत्यु भएको छ, दुवैतर्फ गरी एक हजारभन्दा बढी घाइते छन्

प्यालेस्टाइनी समूह हमासले विनाचेतावनी नै इजरालयमाथि आक्रमण गरेको छ । यो समाचार तयार पार्दासम्म दुवैतर्फ गरी कम्तीमा ३५० को मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

स्थल, हवाई र समुद्री कारबाही सुरु गरेपछि इजरायल र हमासको अर्को द्वन्द्व सुरु भएको छ । हमासले इजरायलको मध्य तथा दक्षिणी भागमा हजारौँ रकेट प्रहार गरेको जनाएको छ । उसले २० मिनेटमै पाँच हजार रकेट प्रहार गरेको दाबी गरेको छ ।


त्यस्तै, उसका लडाकु बलियो तारजाली तोडेर इजरायली भूमि प्रवेश गरेका छन् । इजरायली सरकारले पनि हमासका लडाकु आफ्नो सीमाभित्र छिरेको पुष्टि गरेको छ । इजरायली भूमिमा कम्तीमा हजारको संख्यामा हमास समर्थकले घुसपैठ गरेको हुन सक्ने इजरायली स्रोतले जानकारी दिएको अल जजिराले लेखेको छ । इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले पनि सो समूहले रकेट (हवाई), सीमानजिकका बस्तीमा घुसपैठका अतिरिक्त समुद्री मार्गबाट पनि आक्रमण गरेको बताए । 

हमासले पछिल्लो सैन्य कारबाहीलाई ‘अप्रेसन अल–अक्सा फ्लड’ नाम दिएको छ । पहिलो चरणको रकेट स्थानीय समयअनुसार बिहानको साढे ६ बजे प्रहार गरिएको थियो । यहुदीहरूको बिदाको दिन सिमच्याट तोराह पारेर आक्रमण भएको छ, जुन एक हप्ता लामो यहुदी पर्व सुक्कोतको अन्तिममा पर्छ । इजरायली भूमिभित्र पसेका हमास लडाकुले सीमानजिकका यहुदी बस्ती कब्जामा लिने, बाटोमा देखिएका मानिसमाथि अन्धाधुन्ध गोली हान्ने र सयौँलाई नियन्त्रणमा लिएर गाजातर्फ अपरहण गरेर लगेको इजरायली मिडियाले लेखेका छन् । हमासका उपनेता सालेह अल अरौरीले इजरायली जेलमा रहेका आफ्ना लडाकु छुटाउन पुग्ने संख्यामा इजरायलीलाई कब्जामा लिएको दाबी गरेका छन् । 

इजरायली बस्तीहरू प्यालेस्टाइनी समूहको कब्जामा रहेको घटना सन् १९४८ को इजरायल–प्यालेस्टाइनबीचको पहिलो द्वन्द्वपछिको पहिलो हुन सक्ने विश्लेषकहरूले बताएका छन् । अन्यथा जति पनि संघर्ष हुन्थ्यो प्यालेस्टाइनी भूमिमा केन्द्रित हुन्थ्यो । आक्रमणमा डेढ सयजति इजरायली मारिएको र करिब हजारजना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ । हमासको आक्रमणलगत्तै दर्जनौँ इजरायली लडाकु विमानले गाजापट्टीमाथि बमबारी सुरु गरेका थिए । ‘अप्रेसन आइरन सोर्ड’ नाममा सुरु भएको यी आक्रमणमा इजरायली सेनाले हमासको अखडा हुन सक्ने १७ सैन्य कम्पाउन्ड र चार सम्भावित मुख्यालयमा निसाना बनाइएको बताएको छ । यी आक्रमणमा घाइते भएका सयौँ प्यालेस्टाइनीलाई अस्पताल भर्ना गरिएको मिडियाहरूले लेखेका छन् । यो समाचार तयार पार्दासम्म गाजापट्टीतर्फ करिब दुई सय मारिएका थिए भने सयौँ घाइते भएका थिए ।

कहाँ–कहाँ भयो आक्रमण ?
हमासको रकेट आक्रमणको निसाना मध्य तथा दक्षिण इजरायल भए पनि केही रकेट इजरायलको राजधानी तेल अभिभसम्म पुगेको पाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । इजरायली सीमाभित्र पसेका हमासका स्थल लडाकु भने दक्षिणी इजरायलका बस्तीमा पसेका छन् । इजरायली मिडियाका अनुसार तिनको भूमिभित्र पसेका हमास लडाकुले दक्षिण नगर स्देरोतका सडकमा अन्धाधुन्ध गोली हानेका थिए । सामाजिक सञ्जालमा हालिएका भिडियोमा हमास लडाकु पिक–अप भ्यानजस्तो गाडीपछाडि बन्दुक बोकेर इजरायली भूमिमा घुमेको देखिन्छ । एक समाचारका अनुसार हमास लडाकुले केही दक्षिणी इजरायली बस्तीलाई घेरेका थिए । त्यहाँका नागरिकले सरकारसँग सहयोग माग गरेका रिपोर्ट आएका थिए । मुख्यतः कफार अज, स्देरोत, साफु, नहाल ओज, मगेन, बेएरी र रिएम सैन्य केन्द्र आक्रमणको निसाना बनेको टाइम्स अफ इजरायलले लेखेको छ । 

हमासले किन गर्‍यो आक्रमण ? 
हमासका प्रवक्ता खालिद कदोमीले आफूहरूको सैन्य कारबाहीलाई दशकौँदेखि प्यालेस्टाइनीले इजरायली पक्षबाट भोगिरहेको जवाफ भएको बताएका छन् । ‘हामीहरू अन्तर्राष्ट्रिय समुदायलाई गाजा, प्यालेस्टाइनी जनता र अल–अस्कामाथि भइरहेको अत्याचार रोक्न ध्यानाकर्षण गर्न चाहन्छौँ,’ कदोमीले अलजजिरासँग भने । 

त्यस्तै, अलजजिरासँग कुरा गर्दै हमासका सैन्य कमान्डर मोहम्मद डेइफले ‘पृथ्वीको अन्तिम अतिक्रमण अन्त्यका लागि ठूलो लडाइँ सुरु भएको’ टिप्पणी गरेका छन् । उनले पाँच हजार रकेट प्रहार गरेको दाबी गरेका छन् । समाजिक सञ्जाल टेलिग्रामले आफ्नो च्यानलमा लेखेअनुसार हमासले ‘पश्चिम किनारामा बसिरहेका लडाकु, अरब तथा इस्लामिक राष्ट्र’लाई संघर्षमा साथ दिन आह्वान गरेको छ । 

इजरायली सरकारले आफ्ना नागरिकलाई गाजानजिक नजान र घरभित्रै बस्न भनेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको बताउँदै त्यसलाई जितेरै छाड्ने बताए । त्यस्तै, इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले हमासले इजरायलविरुद्ध युद्ध सुरु गरेर गम्भीर गल्ती गरेको बताए ।

अन्तर्राष्ट्रिय शक्ति को कता ?
हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच फोन वार्ता भएको छ । बाइडेनले आफूहरू इजरायलको पक्षमा अटल रूपमा उभिएको र इजरायलको आत्मरक्षाको अधिकारको पूर्ण समर्थन रहेको दोहोर्‍याएको इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । फोन संवादमा नेतान्याहुले ‘निर्सत समर्थनका लागि धन्यवाद दिँदै इजरायलको जितका लागि बलियो र दीर्घकालीन अभियानको आवश्यकता रहेको’ बताएको उल्लेख छ । अमेरिकी रक्षामन्त्री ल्योयड अस्टिनले इजरायलको सुरक्षा प्रत्याभूत गर्न काम गर्ने बताएका छन् । 

नेतान्याहुले फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रो र डच प्रधानमन्त्री मार्क रुटसँग पनि कुराकानी गरेका छन् । दुवै नेताले ‘इजरालयको आत्मरक्षाको अधिकारप्रति पूर्ण सथर्मन जनाएको’ बताइएको छ । फ्रेन्च विदेशमन्त्रीले पनि ‘इजरायल र त्यहाँका जनताविरुद्ध भएको आतंकवादी आक्रमण’को भत्र्सना गर्दै इजरायललाई पूर्ण समर्थन जनाएका छन् ।

अमेरिकालगायत पश्चिमी राष्ट्रले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा सधैँ इजरायलको ‘आत्मरक्षाको अधिकारको पक्ष’मा रहेको टिप्पणी गर्ने गरेका छन् । यसपटक पनि सबै पश्चिमी राष्ट्रले उस्तै प्रतिक्रिया दिएका छन् । अमेरिकाले त उसको सबैभन्दा बलियो मध्यपूर्वी साझेदार इजरायललाई बर्सेनि ३.८ अर्ब डलरको निर्सत सैन्य अनुदान दिँदै आएको छ । 

युरोपेली संघका विदेश विभाग प्रमुख जोसेफ बोरेलले इजरायलप्रति ऐक्यबद्धता जनाएका छन् । बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले पनि हमासको आकस्मिक आक्रमणको भत्र्सना गरेका छन् । इजरायलको अस्तित्व नै नमान्ने इरानले भने प्यालेस्टाइनी आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अलि खामेनीका सल्लाहकारले पछिल्लो आक्रमणमा संलग्न प्यालेस्टाइनी लडाकुलाई बधाई दिएको मिडियालाई जानकारी गराए । इजरायललाई शत्रु मान्ने छिमेकी लेबनानमा सक्रिय हेबजुल्ला समूहले भने एक वक्तव्य जारी गर्दै गाजामा भइरहेको घटनाक्रमप्रति नजिकबाट अवलोकन गरिरहेको जनाएको छ ।

अरबी मुलुकमध्ये सबैभन्दा बढी जनसंख्या भएको र प्रभावशाली मुलुक इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा पछिल्लो तनावले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिँदै अधिकतम संयमता अपनाउन र आमनागरिकलाई जोखिममा पर्नबाट जोगिन आह्वान गरेको छ । अर्को मुस्लिम क्षेत्रीय शक्ति टर्कीले पनि अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । उता कतारले पछिल्लो तनावका लागि इजरायल जिम्मेवार भएको भन्दै संयमता अपनाउन आग्रह गरेको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यो घटनालाई गाजाका प्यालेस्टाइनी जनताविरुद्ध क्षति पुर्‍याउने आक्रमणको बहाना बनाउनबाट रोक्न आह्वान गरेको छ । इजरायलसँग सम्बन्ध सुधारका लागि भित्रभित्रै वार्ता गरिरहेको अर्को अरबी क्षेत्रीय शक्ति साउदी अरबले इजरायली र प्यालेस्टाइनीबीच जारी हिंसा तत्काल रोक्न आह्वान गरेको छ ।

के हो हमास ?
सन् १९८७ मा स्थापना भएको प्यालेस्टाइनी लडाकु समूह हमासले सन् २००६ देखि अनवरत रूपमा गाजा क्षेत्रमा शासन गर्दै आएको छ । सन् २००६ मा प्यालेस्टाइनी विधायिक निर्वाचन जितेदेखि यो समूहले अर्को वर्ष गाजा क्षेत्रलाई कब्जा गरेको घोषणा गरेको थियो । त्यसयता सो क्षेत्रमा निर्वाचन भएको छैन । यस समूहअन्तर्गत धार्मिक इकाइ, समाजिक सेवा इकाइ र लडाकु इकाइ सक्रिय छन् । स्थापनाको एक वर्षपछि जारी गरेको समूहको बडापत्रमा यसले प्यालेस्टाइनलाई पूर्ण स्वतन्त्र बनाउने र त्यो भेगमा इस्लामिक राज्य स्थापना गर्ने मूल लक्ष्य लिएको थियो । उसले भन्ने गरेको प्यालेस्टाइनमा गाजापट्टी र वेस्ट बैंकका अतिरिक्त अहिले इजरायल रहेको क्षेत्रसमेत पर्छ । इजरायलविरुद्ध कट्टर नीतिका कारण इजरायल र उसका घनिष्ट मित्रराष्ट्र अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र जापानले हमास समूहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन् । 

इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास
एउटै भूमिमाथि नियन्त्रण जमाउन लडिरहेका इजरायल (यहुदी बहुल राष्ट्र) र प्यालेस्टाइन (अरबी बहुल भूभाग)बीचको द्वन्द्व विश्वको सबैभन्दा लामो र जेलिएकोमध्येको एक मानिन्छ । दोस्रो विश्वयुद्धको अन्त्यअघिसम्म बेलायतको म्यान्डेट भूमि रहेको प्यालेस्टाइनलाई युद्धपछि संयुक्त राष्ट्रसंघले यहुदी र अरबबीचमा विभाजित गर्ने प्रस्ताव पारित गर्‍यो । विश्वभर विशेषतः युरोपमा छरिएर रहेका र ठाउँठाउँमा विभेद भोगेका यहुदीहरू तिनको आफ्नै भूमि खोजिरहेका थिए । त्यसैले तिनले तत्काल सो प्रस्ताव स्विकारे । केही यहुदीले सोही क्षेत्रमा आपूmहरूलाई राष्ट्र निर्माण गर्न दिनुपर्ने अभियान चलाइरहेका थिए । दोस्रो विश्वयुद्धमा नाजीहरूको चरम यातना भोगेकाले उनीहरूप्रति सहानुभूति पनि थियो । तर, सो भूमिमा हजारौँ वर्षदेखि बस्दै आएका अरबीहरूले उक्त प्रस्तावलाई नमान्ने घोषणा गरे । यहुदीहरू पनि संगठित हुँदै थिए र उनीहरूबीच विभिन्न सशस्त्र समूह निर्माण भइसकेको थियो । संयुक्त राष्ट्रसंघको प्रस्तावित भूमिलाई जब यहुदी नेताहरूले इजरायलका रूपमा स्वतन्त्र राष्ट्र घोषणा गरे, तब प्यालेस्टाइनवरपरका अरब मुलुकले उनीहरूविरुद्ध युद्ध घोषण गरे । सो युद्धमा इजरायली पक्षले अरबी फौजलाई हरायो । इजरायलले उसको भूमि थप बढायो । उसले गाजापट्टी र पश्चिमी किनारबाहेक पहिले ब्रिटिस शासनअन्तर्गत रहेको सम्पूर्ण भूभागमा कब्जा जमाउन सफल भयो । 

त्यसपछि पनि पटक–पटक इजरायल र अरबी फौजबीच लडाइँ भयो । पश्चिमी शक्तिको निर्सत सहयोगले इजरायल सैन्य रूपमा निकै शक्तिशाली थियो । बिस्तारै छिमेकी अरबी राष्ट्र इजरायलसँग सम्झौता गर्दै गए । इजरायलले गाजापट्टी र पश्चिम किनारामा रहेका प्यालेस्टाइनीमाथि अत्याचार गर्न थाल्यो । तिनको प्रतिरोधमा विभिन्न समयमा विभिन्न सशस्त्र समूह बने । पछिल्लो समय हमास सबैभन्दा बलियो प्रतिरोध समूहका रूपमा रहेको छ । 

एजेन्सीको सहयोगमा 

ad
ad