
पर्यटकीय गाउँ भुष्मेमा केही बर्ष अघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली
केही वर्ष अघि बजारमा र छिमेकीसँग तरकारी किन्दै आएका लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुष्मेका स्थानियले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । पर्यटकीय गाउँ भुष्मेमा केही बर्ष अघि बाँझो रहेको जग्गा अहिले तरकारी खेतीले हरियाली भएको छ । भुष्मेकाे सिंगाे गाउँका किसान नै अहिले तरकारी खेतीमा लागेका छन्।
यहाँका किसान एतिबेला काउली, बन्दा, गोलभेंडा लगाएतका तरकारी विक्री गर्न व्यस्त छन् । स्थानिय अगुवा होमराज तामाङले गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा लागेको बताए । 'पहिले किनेर काम चलाउने गरेका थियौँ । अहिले आफैँले खेति गर्नुपर्छ भन्ने बुझेपछि घर-घरमा टनेल बनाएका छौँ,' उनले भने, 'आफैँले तरकारी फलाउन थालेपछी खानलाई पनि भयो विक्री गरेर आम्दानी समेत गरेका छौँ ।' अहिले सिंगाे गाउँ नै तरकारीमा आत्मानिर्भर भएको छ । गाउँलेको दैनिकी तरकारी खेतीमै बित्ने गरेको छ ।
२०७१ सालेदखि तरकारी खेती गर्दै आएकी नीलमाायाँ तामाङले ८ रोपनी जग्गामा अहिले व्यावसायिक तरकारी खेती गरेकी छिन् । उनले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, 'पहिलेका दिनमा दुईचार पैसा देख्न पनि रहरै हुन्थ्याे । अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।'
नीलमायाँ जस्तै तरकारी फलाउन हौसिएकी छिन् सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी विक्रीबाट आएको रकम चलाउने गरेको तामाङले बताइन् । 'तरकारी राम्रो विक्री हुन्छ घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ' उनले भनिन् ।
घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुवीता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछिन् । 'घरमा तरकारीको अभाव कहिल्यै हुँदैन, विक्री पनि गर्छौं' उनले भनिन्, 'जागर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिन्छ ।'
भुष्मे गाउँलाई तरकारी पकेट क्षेत्र नै घोषणा गरिएको छ । गाउँमा भुष्मे तरकारी पकेट सञ्चालन समिति समेत गठन गरिएकाे छ । गाउँलेले १५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । स्थानिय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागी मर्स्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले समेत सहयोग गर्दै आइरहेको छ ।
भुष्मेमा २०७४ सालदेखि होमस्टे समेत सुरु गरिएको छ । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे सञ्चालन गरिएकाे छ । होमस्टेसँगै तरकारी खेतीमा रमाएका यहाँका किसान आजकाल खुशी देखिन्छन् ।