१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आय-व्यय सार्वजनिक नगर्दा कल्याणपुर नगरपालिकामा विवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५३:oo

सिराहाको कल्याणपुर नगरपालिकामा ‘नगरसभामा आय–व्यय’ सार्वजनिक गर्नुपर्ने विषयमा विवाद बल्झिएको छ।

मेयर रामपुकार साहले आठौँ नगरसभा गत सोमबार गर्न खोज्दादेखि नै विवाद सुरु भएको छ। कल्याणपुर नगरपालिकाका ६ जना वडाध्यक्षले नगरसभामा गत आर्थिक वर्ष ०७९/८० को आय–व्यय सार्वजनिक गर्नुपर्ने र वडालाई तजबिजको अधिकारमा गर्न खोजेको रकम विनियोजनको सट्टा एकरूपता ल्याउन माग गरेको छ। 

कल्याणपुर नगरपालिका– १ का वडाध्यक्ष जयराम कामतीले आय–व्यय सार्वजनिक गर्नुपर्ने र वडालाई बजेट विनियोजनमा भेदभाव रोक्नुपर्ने माग रहेको बताएका छन्।

उपमेयर रेखाकुमारी यादवले दुवै पक्षलाई वार्ता गर्न सिडियोले सिराहा बोलाएको बताएकी छिन्। मेयरले नगरसभा गरेर हरहिसाब तीन–चार दिनमा सार्वजनिक गर्ने भनेपछि वडाध्यक्षहरू विवादमा ओर्लिएको उपमेयर यादवले बताएकी छिन्। 

धर्नामा बसेका वडाध्यक्ष पक्ष र मेयर  साहपक्षबीच विवाद भएपछि बिहीबार दिउँसो स्थिति तनावग्रस्त बन्यो। दुवै पक्षबीच ढुंगा हानाहान भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले हवाई फायरसँगै आश्रुग्यास प्रहार गरी तनावग्रस्त अवस्थालाई शान्त पारेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले झडप रोक्न नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल अश्रुग्यास प्रहार गरेको बताएका छन्। 

नेपाल प्रहरीले थ्री नट थ्री राइफलबाट पाँच राउन्ड हवाई फायरसमेत गरेको डिएसपी पाण्डेले बताएका छन्। झडपमा परी नेपाल प्रहरीका चार र सशस्त्र प्रहरीका दुईजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको डिएसपी पाण्डेले बताए।

झडपमा दुवै पक्षका दर्जनभन्दा बढी सामान्य घाइते भएको स्थानीय सञ्जयकुमार महराले बताएका छन्। आन्दोलनरत वडाध्यक्ष पक्षका कार्यकर्ताले नगरपालिका कार्यालयलक्षित गरी ढुंगामुढा गर्दा कार्यालयको झ्यालको सिसाहरू फुटेको छ।

नगरपालिकाको सेवा प्रवाह प्रभावित

आय–व्यय सार्वजनिक र वडालाई बजेट विनियोजनमा भेदभाव रोक्नुपर्ने भन्दै धर्नामा विभिन्न ६ वटा वडाका वडाध्यक्ष नेतृत्वमा नगरपालिका कार्यालयमा धर्ना बसेपछि आज पनि कामकाज प्रभावित भएको छ। धर्नाका कारण अवस्था तनावग्रस्त हुँदा कल्याणपुर नगरपालिकाको सेवा प्रभावित हुँदै आइरहेको छ।

विरोधमा पाँच राजनीतिक दल

कल्याणपुर नगरसभामा मेयर रामपुकार साहले मनोमानी गर्न खोजेको भन्दै पाँच राजनीतिक दल विरोधमा उत्रेका छन्। कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेकपा माओवादी र जनमत पार्टी विरोधमा उत्रिएका हुन्।

जस अनुसार कांग्रेसका वडा नम्बर ५ र ८, जनता समाजवादीका वडा नम्बर १, २, १० र जनमतका वडा नम्बर ९ का वडाध्यक्षहरू धर्नामा बसेका छन्। दलहरूले आज पनि धर्नामा बस्ने तयारी गरेका छन्। मेयर, उपमेयरलगायतका केही वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित छन्।


 

ad
ad