१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Wednesday, 03 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८o असोज १८ बिहीबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भूकम्पले भत्काएका खण्डहर कोठाबाट सञ्चालन भइरहेको छ कोदारी अध्यागमन

तातोपानी नाका सञ्चालनमा समस्याका चाङ

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार o६:५६:oo

मानव आवतजावतसहित पूर्ण रूपमा खुला गरिएको तातोपानी नाका सञ्चालन गर्न कठिनाइ देखिएको छ । नाका हुँदै दैनिक ५०–६० जना चिनियाँ नेपाल प्रवेश गर्छन् भने सीमावर्ती क्षेत्रका चार सय सर्वसाधारण सामान किन्न पारी जाने गरेका छन् । मितेरीपुलनजिकै रहेको अध्यागमन कार्यालय कोदारीको आफ्नो भवन छैन । भूकम्पले भत्काएको खण्डहर कोठाबाट नै दैनिक काम सञ्चालन भइरहेको छ ।

विद्युतीय ब्याकअपसम्म नहुँदा नेपाल चिनियाँ पर्यटकलाई भिसा इन्ट्री गर्न नै घन्टौँ कुर्नुपर्ने बाध्यता छ । नेपाली अध्यागमनको हालत देखेर चिनियाँहरू अचम्मित हुने भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले बताए । चेकजाँचको तरिका पनि पर्यटक हतोत्साही बनाउने खालको भएको उनको भनाइ छ । नाका खुला भए पनि समस्याले घेरिएकाले स्थानीय बासिन्दा खुसी हुन नसकेको उनको गुनासो छ । ‘ब्ल्यांकेट, खानेकुरा र घरायसी प्रयोजनका सामान्य सामग्री ल्याउँदा स्थानीयलाई सीमामा रोकेर दुःख दिइन्छ,’ उनले भने ।

चिनियाँहरूले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरेका छन् । नेपालबाट कुनै पनि सामग्री चीनमा लान दिँदैनन् । सीमाक्षेत्रमा उत्पादित साग र अर्गानिक निगुरोसमेत चिनियाँ प्रहरीले पारि लान दिँदैनन् । उनीहरूको सामान बिक्री गर्ने चिनियाँ रणनीतिले नेपालीलाई फाइदा छैन । ‘हामीले नेपालमा बनेको एक पोका चाउचाउ पनि पारि लान पाएका छैनौँ,’ नाकामा रहेको कैलाशमान सरोवर होटेलका सञ्चालक शेरबहादुर मगरले भने । 

नेपालतर्फ क्वारेन्टिन व्यवस्थित छैन । आयातित वस्तु कुन गुणस्तरको हो चेकजाँच गर्ने कुनै उपकरण छैन । बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक जीर्ण छ । ४० फुटे चिनियाँ ट्रेलर गुड्दा जोखिम बढेकाले खासाबाट सुक्खा बन्दरगाह लार्चासम्म ट्रेलरले सामान ल्याउने र त्यहाँबाट पल्टी गरेर साबिक चलेका साना कन्टेनर भ्यानले राजधानीसम्म सामान ढुवानी गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

जीर्ण सडकमा ठूला ट्रेलर गुड्दा एकातिर दुर्घटना हुने जोखिम र अर्कोतिर सडक किनारका स्थानीयले घर थर्किएको भनेर विरोध जनाएकाले यस्तो निर्णय गरिएको न्यौपाने बताउँछन् । चिनियाँ ट्रान्सपोर्ट कम्पनीले तातोपानी भन्सारसम्म सामान ल्याएर फर्किँदा नेपाली पक्षलाई फाइदा पुग्छ । भन्सार यार्डमा काम गर्ने ६ सय मजदुरले काम पाउने ट्रान्सपोर्ट कम्पनीहरूको भनाइ छ ।

यद्यपि, पुनर्निर्माणपछि कन्टेनर भ्यान खासा जान पाउनुपर्ने नेपाली पक्षले बताएका छन् । उनीहरूले चिनियाँ पक्षसँग यस विषयमा पटक–पटक निवेदन गरेका छन् । नेपाली गाडी खासा गएमा चिनियाँ ट्रान्सपोर्ट कम्पनीले पनि काठमाडौंसम्म सामान ढुवानी गर्न पाउनुपर्ने अडान राखेका छन् । नेपाल–चीन अधिकारीले नेपाली भ्यान खासा जाने र चिनियाँ टेलर सीधै काठमाडौं जाने प्रणाली लागू गरे भने सीमावर्ती क्षेत्रमा काम गर्ने ६ सय मजदुर कामविहीन हुन्छन् । चिनियाँ क्षेत्रमा आडो, तिब्बत सिल्क, मुसा र खासा नामका ट्रान्सपोर्ट कम्पनी छन् । नेपालपट्टि सिल्क, रेवाङ र नमस्ते रहेका छन् । भूकम्पअघि चलेका नेपाल कन्टेनर ढुवानी लिमिटेडमा आबद्ध कन्टेनर पनि सामान ओसार्न तातोपानी पुगेका छन् । 

तातोपानी भन्सारको गोदाम भाडामा लिएको ट्रान्स–सिल्क जेभीले व्यवस्थापन गर्न नसक्दा ढुवानी कम्पनीबीच वेलावेलामा विवाद उत्पन्न हुने गरेको छ । वैशाखमा चीनबाट ल्याएको सात लाख बोरा रासायनिक मल गोदाममा भण्डारण गरिएकाले दसैँलगायत चाडपर्वका लागि खासाबाट आएको सामानको व्यवस्थापनमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।     

ad
ad
ad
ad