१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज १५ सोमबार १६:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनुदानमा लिइएको बिउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १६:३o:oo

उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा किसानलाई अनुदानमा धानको बिउ वितरण गरेको थियो। नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि हर्षित भएका किसान धान नफलेपछि निराश भएका छन्। 

‘केही धान पसाइसक्यो, केही पसाउने तयारीमा छन्, कोही त पसाउलाजस्तो नि लाग्दैन,’ किसान मोहन दनुवारले भने, ‘छिमले भयो, पहिलाको पाकेर झर्दा अरू पसाउलाजस्तो छ।’ 

गत वर्ष नगरपालिकाले दिएको धानको बिउले राम्रो उत्पादन दिएपछि यसपटक २५ कट्ठामा रामधान जातको बिउ लगाएको उनले बताए। कटारी– ३ ताराघारीका अमित श्रेष्ठले पनि गत वर्ष रामधान जातको बिउ नगरपालिकाबाट ल्याएर दुई कट्ठामा परीक्षणका रूपमा लगाए। 

‘त्यतिवेला प्रशस्त फल्यो, हौसिएर यस वर्ष १५ कट्ठामा अनुदानमा बिउ लगाएँ,’ उनले भने, ‘यस वर्ष धान त फल्नेभन्दा पनि कोही फल्ने, कोही फल्दै नफल्ने बिरुवा मात्रै बढ्ने भयो।’ 

पचास प्रतिशत अनुदानमा प्रतिकिलो रु. ३३ का दरले बिउ लिएका कृषक अहिले धानको अवस्था देखेर चिन्तामा डुबेका छन्। ‘यस्तो लापरबाही पनि कृषकसँग गर्नुहुन्छ ?’ कृषक दनुवारले भने, ‘कृषक त मरेजस्तै भयो। यस वर्ष यसको क्षति कसले व्यहोर्ने ?’

कृषक श्रेष्ठले किसानलाई आर्थिक भार पर्ने भएकाले राहत पाउनुपर्नेमा जोड दिए। ‘वर्षभरि खानुपर्ने धान नफलेपछि हामीलाई क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने। धान फल्ने वेला उत्पादन नदिएपछि क्षतिपूर्ति पाउनुपर्ने किसानले बताए। 

नगरपालिकाका कृषि शाखाका प्राविधिक तथा बिउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापनका प्रमुख रवीन्द्र राईले कृषकलाई दिइएको धान नपसाएपछि आपूर्तिकर्तालाई अनुगमन तथा निरीक्षणका लागि बोलाएको बताए। 

‘बिउ खरिदका लागि डिजिटल इनावेल सिड म्यानेजमेन्ट सिस्टम (डिजेज)मार्फत प्रक्रिया पुर्‍याएर खरिद गरेका थियौँ,’ उनले भने, ‘नगरभरिका किसानले लगेको रामधान जातको बिउको उत्पादनमा समस्या देखियो।’

राईका अनुसार नगरपालिकाले सर्लाहीको श्रीकृष्ण कन्हैया उपभोक्ता सहकारी संस्थाबाट तीन हजार तीन सय ५० किलो बिउ खरिद गरी किसानलाई वितरण गरेको थियो। 

संस्थाका अध्यक्ष सञ्जयप्रसाद साहले बिउबाट उत्पादनमा समस्या आएको स्विकार्दै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमअन्तर्गतका प्रतिनिधिलाई कृषकसमक्ष ल्याएर छलफल गर्ने बताए। रासस