१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मिलन विश्वकर्मा
२o८१ बैशाख २४ सोमबार o८:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुदृढ बन्दै भारतमा बिजुली निर्यात

दुई आयोजनाको ४४ मेगावाट बिजुली भारतको रियल टाइम मार्केटमा

Read Time : > 2 मिनेट
मिलन विश्वकर्मा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o२:oo

भारततर्फ हुने बिजुली निर्यात दिगो र सुदृढ बन्दै गएको छ । दुई वर्षअघिबाट भारतको बिजुली खरिद–बिक्री हुने प्लेटफर्म इनर्जी एक्सचेन्ज (आइएक्स)बाट सुरु भएको निर्यातले अहिले वास्तविक बजार समय (रियल टाइम मार्केट)मा समेत प्रवेश पाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभाग निर्देशक प्रबल अधिकारीका अनुसार भारतले पहिलो चरणमा ४४ मेगावाट विद्युत् रियल टाइममा बिक्री गर्ने अनुमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा शनिबार रातिबाट १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको अधिकारीले जानकारी दिए ।

रियल टाइम मार्केटमा प्रवेश गरेपछि प्राधिकरणले सवा घन्टाअघि प्रतिस्पर्धा गरेर भारतीय बजारमा विद्युत् बिक्री गर्छ । दुई वर्षदेखि एक दिनअघि (डे अहेड)को प्रतिस्पर्धी मूल्य र परिमाणमा बिजुली बेच्दै आएको छ । यद्यपि, अहिले पनि ठूलो परिमाणको बिजुली डे अहेड प्रणालीबाटै बिक्री गर्नुपर्ने अवस्था छ ।

भारतीय बजारमा बिजुली बिक्री गर्ने दुवै आयोजनाको प्राप्त अनुमतिको समयावधि शनिबार सकिँदै थियो । त्यसैले प्राधिकरणले नवीकरणका लागि डे अहेड र रियल टाइम मार्केट दुवै बजारमा अनुमति माग्दै पत्राचार गरेको थियो । त्यसपछि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले दुवै बजारमा बिजुली बिक्रीका लागि अनुमति दिएको विद्युत् व्यापार विभागका निर्देशक अधिकारीले जानकारी दिए ।

अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने उनको भनाइ छ । ‘रियल टाइम मार्केटमा प्रवेशसँगै सवा घन्टाअघि प्रतिस्पर्धा गरेर बिजुली बिक्री गर्न पाउने भएका छौँ, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद–बिक्री गर्न सजिलो हुनेछ,’ उनले भने, ‘यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुका साथै दुई देशबीचको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको छ ।’

नेपालको बिजुलीलाई रियल टाइम मार्केटमा प्रवेश दिन भारतले गत १५ साउनमा नै विद्युत् आयात–निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधन गरेको थियो । सो कार्यविधि संशोधन गरेको दुई महिनापछि नेपालले अनुमति पाएको हो ।

रियल टायम मार्केटमा आफूसँग विद्युत् भएको अवस्थामा तत्काल बिक्री गर्न सकिने सुविधा हुन्छ । प्राधिकरणका अनुसार रियल टाइम मार्केटमा सवा एक घन्टापहिले विद्युत् खरिद–बिक्री गर्न बिडिङ गरिनेछ । यसमा पनि १५–१५ मिनेटको ब्लकमा विद्युत् बिक्री गर्न सकिने प्राधिकरणको भनाइ छ । यसरी एक घन्टाअघि नै बिड गर्दा विद्युत् खेर जाने तथा पेनाल्टी तिर्नुपर्ने अवस्था नआउने प्राधिकरणको भनाइ छ । 

रियल टायम मार्केटका कारण हिउँदमा नेपालले आयात गर्नुपर्ने बिजुलीसमेत खरिद गर्न सजिलो हुने भएको छ । नेपालको वास्तविक समयको मागअनुसार विद्युत् आयात गरिने र यसबाट खेर जान नपाउने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले कात्तिक ०७८ देखि भारतीय बजारमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । यो वर्ष १३ जेठदेखि भारततर्फ बिजुली निर्यात भइरहेको छ । हाल भारतमा प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई एक सय १० मेगावाट गरी कुल ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । 

यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८०/८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ८.१३ रुपैयाँ र भदौमा १२.२७ रुपैयाँ प्रतियुनिटका दरले विद्युत् निर्यात गरेको थियो । 

यो वर्ष भारतमा १५ अर्ब रुपैयाँसम्मको विद्युत् निर्यात गर्ने लक्ष्य लिएकोमा रियल टाइम मार्केटको प्रवेशले थप सजिलो बनाएको छ । किनभने, यो बजारमा बिजुली बिक्री गर्न थप सहज छ । प्राधिकरणले हालसम्म (साउन र भदौमा) पाँच अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात गरिसकेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८०’ मा तयार गर्दै सन् २०३५ (आव 
०९१/९२) भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । यस्तो लक्ष्य पूरा गर्न भारतले नयाँ बजारमा दिएको प्रवेशले सघाउ पुग्नेछ । 

 खेर जाने बिजुली समयमै बेच्न पाउने ग्यारेन्टी भएको छ
कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

अहिलेसम्म एक दिनअघि मौसम र बजारको मागसम्बन्धी प्रक्षेपणलाई आधार मानेर बिजुली खरिद–बिक्रीको प्रक्रिया अघि बढाइन्थ्यो । तर, अब प्रक्षेपणको प्रतिकूल अवस्थामा पनि बिजुली खेर नजाने गरी खरिद–बिक्री गर्न पाइन्छ । जस्तै, कुनै उद्योगले सोचेअनुसार बिजुली खपत नगर्ने अवस्था आयो वा मौसम पूर्वानुमानअनुसार प्रतिकूल मौसम भएर बिजुली खेर जाने भएमा तत्कालै बिड गरेर बिजुली बिक्री गर्न सकिने भयो । त्यस्तै, आवश्यक परिहालेमा रियल टाइममा खरिदसमेत गर्न पाइने भयो । यो नेपालमा पहिलोपटक हो । 

ad
ad