१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एसियाडमा नेपालको तर्फबाट अन्तिम चारमा पुगेको पब्जी टोलीका साथ राखेपका सदस्यसचिव टंकलाल घिसिङ । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३६:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : पब्जी टोली सेमिफाइनलमा 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३६:oo

एसियाडमा लगातार खराब नजिता व्यहोरिरहेको नेपालले शुक्रबार इस्पोर्टस् एलिटका रूपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा निकालेका छन् । प्रतियोगिताको शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । जारी एसियाडमा नेपालको तर्फबाट अन्तिम चारमा पुगेको पब्जी पहिलो टोली हो । 

यसबाहेक नेपाल सहभागी कुनै पनि खेलका खेलाडी क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पब्जीले नेपाललाई पदकको आशा दिलाएको छ । पुरुष भलिबल, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, जुडो, आर्चरी, स्क्वास, सुटिङ र बक्सिङजस्ता खेलका खेलाडी खराब प्रदर्शन गरी घर फर्किसकेका छन् । 

पब्जीको अन्तिम चारमा पुगेका सुबिनकुमार प्रजापति, दीपेश गुरुङ, साहस भण्डारी, समीर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’मा हङकङ शीर्ष स्थानमा रह्यो । 

नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरणको स्थान पक्का गरेको हो । प्रतियोगितामा वरीयताका आधारमा प्यालेस्टाइनले सीधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । तर, प्यालेस्टाइन अन्तिम आठभन्दा अगाडि बढन सकेन ।

नेपाली खेलाडीले आफ्नो समूहमा सबै चुनौती पार गर्दै अन्तिम चारको स्थान पक्का गरेका हुन् । समूह ‘डी’मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ । यसमा दोस्रो स्थान रक्षा गरे नेपालले फाइनलमा स्थान बनाउनेछ । 

फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुनेछैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीनभित्र रहे मात्र पदक जित्नेछ । यसकारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ । 

प्रतियोगिताको शुक्रबार समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन् । समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे । समूह ‘डी’बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइनेछ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । 

सेमिफाइनलमा दुवै समूहको खेल आज हुनेछ । यद्यपि, समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना राख्नेछ । 

नेपाली टोलीका कप्तान सुबिन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए । उनले आफ्नो समूहका सबै सहभागी टोली बलियो भएको बताए । ‘हाम्रो टोलीमा सहभागी सबै राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’ उनले भने, ‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन् ।’

पौडीमा सबै हिटबाटै बाहिरिए
पौडी स्पर्धामा नेपालबाट एसियाडमा सहभागी सबै खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । राष्ट्रिय प्रतियोगितामा रेकर्डमाथि रेकर्ड राखेका खेलाडीले हाङझाउमा आफ्नो व्यक्तिगत रेकर्डसमेत सुधार गर्न सकेनन् । प्रतियोगिताको शुक्रबार नेपालका नासिर हुसेन हिट चरणबाटै बाहिरिएका छन् । 

हाङझाउ ओलम्पिक स्पोर्टस् सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् । हिट–२ मा उनले प्रतिस्पर्धा गरेका थिए । उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेन्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए । उनी २५ मध्ये २२औँ स्थानमा रहे । यसअघि नासिर दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएका थिए ।

नासिरको इभेन्ट्ससँगै १९औँ एसियाडमा नेपाली खेलाडीका खेल सकिएका छन् । पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । नेपालका कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् । पुरुषतर्फ एलेक्स शाहले ५० र सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरे । उनी पनि हिट चरणबाटै बाहिरिए । यस्तै, महिलातर्फ डुवाना लामाले सय मिटर ब्रेस्टस्ट्रोक र दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । अनुसिया तन्डुकारले ५० र सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । डुवाना र अनुसिया पनि आफ्नो हिट चरणमै सीमित भए । 

बास्केटबलमा सबै हार 

थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । नेपाली महिला टोलीले थ्री बाई थ्रीमा तेस्रोपटक सहभागिता जनाएको हो । सन् २०१४ मा कोरिया र सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा महिला टोलीको सहभागिता थियो । दोस्रोपटकमा नेपालले कम्तीमा एक खेल जित्ने लक्ष्य राखेको थियो । खेलाडीले हाङझाउमा यो लक्ष्यसमेत पार गर्न सकेनन् । जिओग्राफिम इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ को फराकिलो अन्तरले पराजित भयो । 

नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो । नेपालका लागि कप्तान श्रेषा खड्का र मीना गुरुङले समान एक स्कोर गरे । यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा जापानसँग २२–४ ले परजित भएको थियो । दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा नेपालको महिला बास्केटबल टिमले फुल कोर्टमा खेलेको थियो । एसियाडमा डेब्यु गरेको थियो । १८औँ एसियाडमा नेपालको पुरुष र महिला दुवैमा थ्री बाई थ्री टिम सहभागी थिए । यसपटक भने नेपालबाट महिला थ्री बाई थ्री टोली मात्र सहभागी भएको हो । 

ब्याडमिन्टन : टिम इभेन्टबाट बाहिरियो
ब्याडमिन्टनको टिम इभेन्टबाट नेपाल बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २–० को सीधा सेटमा पराजित भए । लक्ष्यले प्रिन्सलाई २१–५ र २१–८ ले हराए । पाँच वर्षअघिसम्म उमेर समूहको विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा रहेको प्रिन्सले भारतका लक्ष्यविरुद्ध कोर्टमा केवल २२ मिनेटसम्म प्रतिस्पर्धा गरे । अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २–० ले नै हराए । जोशी भारतीय खेलाडीसँग २१–४ र २१–१३ ले पराजित भएका हुन् । यो खेल ३१ मिनेटसम्म चलेको थियो । अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारे । यो खेल २५ मिनेटसम्म रह्यो । 

ह्यान्डबलमा हङकङले हरायो
एसियाडअन्तर्गत नेपालले सहभागिता जनाएको खेल ह्यान्डबल पनि हो । नेपाली महिला टोलीले उपाधि दाबेदार हङकङसँग समूह ‘बी’मा खेल्दा २७–१८ ले पराजित भयो । नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन । हङकङले पूर्ण रूपमा खेल नियन्त्रणमा राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन गर्‍यो । दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेनन्, हङकङलाई कडा चुनौती दिएको थियो । हङकङको कमजोरीको फाइदा लिए पनि १३–१२ ले पराजित भयो । 

गल्फमा कमजोर प्रदर्शन
१९औँ एसियाडअन्तर्गत गल्फमा नेपालको प्रदर्शन कमजोर भएको छ । पार–७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पुरुष व्यक्तिगत स्पर्धामा शुक्रबहादुर राईबाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सकेनन् । गल्फको दोस्रो दिन तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर गरेका छन् । उनले पहिलो दिन दुई अन्डर ७० को कार्ड लेखाएका थिए । उनी समग्रमा २९औँ स्थानमा रहँदै फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

युवा गल्फर सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन सोचेजस्तो भएन । इभन पार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव व्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन् ।  युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ स्कोर गर्दै बाहिरिएका छन् । 

गल्फमा पुरुष र महिला टिम स्पर्धाबाट नेपाल बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुष्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर गरेका छन् । कस्मिराले ११ ओभर ८३ र सुष्माले १६ ओभर ८८ स्कोर गरेका थिए । नेपाल महिला टिम स्पर्धामा १४ मध्ये १३औँ स्थानमा रहेको छ । नेपालले मंगोलियालाई पछि पारेको हो । पुरुषतर्फ हङकङका ताइची २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्ष स्थानमा छन् । 

एथ्लेटिक्समा नेपालको खराब सुरुवात
एसियाली खेलकुदको महत्वपूर्ण खेलमध्ये एथ्लेटिक्स पनि एक विधा हो । शुक्रबार एसियाडको मुख्य रंगशालामा पुरुष र महिलातर्फका दौड भए । नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । तर, दुवैले एसियाडमा व्यक्तिगत रेकर्डसम्म सुधार गर्न सकेनन् । समग्रमा चालू एसियाडमा नेपाली एथ्लेटिक्स खेलाडीले निकै खराब सुरुवात गरेका छन् । कुमाल चार सय मिटर दौडको हिट चरणबाटै बाहिरिए । उनले  निर्धारित दूरी ४८.६८ सेकेन्डमा पूरा गरे । सहभागी सातमध्ये उनी पाँचौँ स्थानमा रहे । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई मात्र पछि पार्न सफल भए । 

कुमालले सहभागिता जनाएको विधामा जापानका सातो केन्टारो पहिलो र भारतका मोहमद अजमद दोस्रो भएका छन् । कुमार सुरुदेखि नै पछि परेका थिए । जापान र भारतका खेलाडीले सुरुमै गति लिँदा अन्य खेलाडीहरूले पछ्याउन सकेनन् । एसियाडअगाडि नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया कुमालले नयाँ पत्रिकालाई दिएका छन् । ‘प्रतियोगिताअगाडि नै म डेंगुको सिकार भएँ, यसबाट मेरो तयारी राम्रो भएन,’ निराश बनेका उनले भने, ‘यदि बिरामी नपरेको भए, यहाँ व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’

उनले आफूले चार सय मिटर दौडमा ४८ सेकेन्डमै नै टाइमिङ निकाल्ने गरेको जनाए । ‘मेरो यस विधाको टाइमिङ भनेको ४८ सेकेन्ड नै हो, यद्यपि बिरामी नहुँदा यसलाई सुधार गर्ने योजनामा थिएँ ।’ उनको यो दोस्रो एसियाड हो । पाँच वर्षअघि जाकार्तामा भएको एसियाडमा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए । दक्षिण एसियालीभन्दा माथिको स्तरमा प्रतिस्पर्धा गर्न एसियाड नै नेपाली खेलाडीहरूलाई आवश्यकता भएको उनले बताए । ‘हामीजस्ता खेलाडीको नजरमा एसियाड नै सबैभन्दा ठूलो प्रतियोगिता हो, यहाँ हामीले आफ्नो स्तर एसियालीस्तरमा देखाउन अवसर पाउँछौँ,’ संक्षिप्त कुराकानीमा उनले भने, ‘अबको तयारी अगामी प्रतियोगिताका लागि गर्ने हो ।’ उनी त्रिभुवन आर्मीमा आबद्ध छन् । 

कुमालको स्पर्धा सकिएलगत्तै महिलातर्फको १० हजार मिटर दौड सुरु भएको थियो । १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता नेपाली धाविका सन्तोषी श्रेष्ठले १९औँ एसियाडमा सोचेजस्तो प्रदर्शन गर्न सकिनन् । यस विधामा आठजना खेलाडीले भाग लिएका थिए । सन्तोषी सातौँ स्थानमा रहिन् । उनले निर्धारित दूरी ३८ मिनेट ४०:१५ सेकेन्डमा दौड पूरा गरिन् । यसअघि सन्तोषकीको उत्कृष्ट टाइमिङ ३५ मिनेट ७.९४ सेकेन्ड थियो । 

बहराइनकी भिआह किलोजोले ३१:४३:७३ मिनेटमा दौड पूरा गरी स्वर्ण जितेकी छिन् । जापानकी हिरोनाका यिररिकाले ३१:५०:७४ मिनेटका साथ रजत तथा काजकिस्तानकी  किकिरु कारोलिनले कांस्य हात पार्दा ३३:१५:८३ मिनेट लगाइन् । यस विधामा बहराइनकै वोन्टोले दौड पूरा गर्न सकिनन् । बहराइनकी खेलाडीले स्वर्ण जितिसक्दा सन्तोषी भने तीन ल्यापले पछि परेकी थिइन् । 

ad
ad