१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० असोज १३ शनिबार ०६:२३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निराश भएर मनमा केही गलत कुरा खेलेको छ ? आजै फोन गर्नुस् हटलाइन नम्बर ११६६ मा 

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० असोज १३ शनिबार ०६:२३:००

- एक्लोपन, पारिवारिक विचलन, दुर्व्यवहार, हिंसा, दुर्व्यसन, डिप्रेसनलगायत समस्याका कारण जीवनदेखि नै हार मानिरहेका कैयौँ व्यक्ति पाटन मानसिक अस्पतालको हेल्पलाइन सेवाको सम्पर्कमा आएर उचित परामर्श पाएपछि आत्महत्या गर्नबाट बचेका छन्, थुप्रैको तत्काल उद्धार र उपचार भएको छ 
- ०७९/८० मा सात हजारले आत्महत्या गरेको पाटन मानसिक अस्पतालको तथ्यांक
- तीन वर्षमा १३ हजारले गरे मानसिक अस्पतालको हटलाइनमा फोन, ०७९/८० मा आए झन्डै ६ हजार कल, जसमध्ये ४६०  आत्महत्या गर्ने मनस्थितिमा थिए

जो वेलैमा परामर्श पाउँदा जोगिए
घटना १ : डेढ महिनाअघि ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालमा एक अज्ञात व्यक्तिको फोन आयो । हटलाइन फोनमा आत्तिँदै एक महिला ‘श्रीमान्सँगको झगडाको कारण आफूले आत्महत्या गर्न लागेको’ भन्दै चिच्याउन थालिन् । वसुन्धराबाट फोन गरेकी उनले फोन गर्दागर्दै आफ्नो हात काटेपछि चिच्याएकी थिइन् । अस्पतालका परामर्शदाताले तत्कालै नेपाल प्रहरीलाई महिलाको फोन नम्बर र ठेगाना टिपाए अनि उद्धारका लागि आग्रह गरे । प्रहरी पुग्दा ती महिलाको देब्रे हात काटिएको थियो, रगत बगिरहेको थियो । प्रहरीले महिलालाई अस्पताल पुर्‍यायो । अस्पतालमै पुगेर मानसिक अस्पतालका चिकित्सक र मनोपरामर्शदाताले महिला र उनका श्रीमान्लाई सम्झाइबुझाई गरे । हाल उनीहरू मिलेर बसेका छन् ।

घटना २ :  १३ भदौ साँझ ८ बजे ललितपुर नख्खुका एक पुरुषले अस्पतालको हटलाइन नम्बरमा फोन गरे । उनले आफूलाई ऋण लागेको, साहुले अत्याएको र त्यही तनावले आत्महत्या गर्ने योजना बनाएको फोनबाट सुनाए । अस्पतालका परामर्शदाताले सुरुमा फोनबाटै सम्झाउने प्रयास गरे । तर, ती व्यक्तिले लामो कुरा सुन्नै चाहेनन्, बरु फोन काटिदिए । अस्पतालका मनोपरामर्शदाताले त्यो नम्बरमा ‘डायल’ गरे । तर, फोन उठेन । फोन नउठेपछि मनोपरामर्शदाताले ती व्यक्तिले दिएको विवरण र टेलिफोनका आधारमा प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी परिसरको टोलीले उनको ‘लोकसन ट्र्याक’ गर्‍यो । राति १० बजे उनी भएको ठाउँमा प्रहरी र मनोपरामर्शदाता पुगे । उनलाई सम्झाइबुझाई गरे । त्यसपछि ती व्यक्तिले आफूले यस्तो गलत निर्णय कहिल्यै नलिने बताए । 

घटना ३ : एक साताअघि मानसिक अस्पतालको फेसबुक पेजमा काठमाडौं महाराजगन्जका एकजना ३० वर्षीय पुरुषले आत्महत्या गर्न लागेको स्टाटस लेखे । सो स्टाटस देखेपछि अस्पतालका मनोपरामर्शदाताले फेसबुककै च्याटमा ती पुरुषको नम्बर मागे । परामर्शदाताले फोनबाट उनको समस्या बुझे र सम्झाउनु सम्झाए । तर, उनले एकोहोरो आत्महत्या गर्ने बताए । त्यसपछि परामर्शदाताले नजिकको प्रहरीलाई खबर गरे । प्रहरीसँगै परामर्शदाता ती पुरुषकहाँ पुगे । सम्झाइबुझाई गरेपछि ती व्यक्तिको जीवन बचेको मानसिक अस्पतालकी मनोपरामर्शदाता अमृता गुरुङले बताइन् ।

घटना ४ : अस्पतालको हटलाइन नम्बर ११६६ मा मा १५ दिनअघि गोरखाका ७० वर्षीय वृद्धको फोन आयो । बुढेसकालमा श्रीमतीले छाडेर गएकीले ‘आत्महत्या गर्छु’ भन्दै उनले फोनबाट मनस्थिति बताए । ती वृद्धले मानसिक अस्पतालको नम्बर रेडियोमा सुनेर टिपेका थिए । फोन मनोपरामर्शदाता अमृता गुरुङले उठाएकी थिइन् । ती वृद्धलाई सम्झाइबुझाई गरिन् र उनकी छोरीको नम्बर मागिन् । त्यसपछि उनले ती वृद्ध व्यक्तिकी छोरीलाई फोन गरेर घटनाक्रम बताइन् । उनले जिल्ला प्रहरी कार्यालय गोरखालाई पनि जानकारी गराएर उनको नम्बर दिइन् । मनोपरामर्शदाताको फोनपछि प्रहरी र ती वृद्धकी छोरी घरमै पुगे । उनलाई मानसिक समस्या देखिएको पाइएपछि उपचारका लागि मानसिक अस्पतालमा ल्याइयो । हाल उनको अवस्था ठीक भएपछि घर फर्किएका छन् । 

आत्महत्याको मनस्थितिमा पुगेका व्यक्तिलाई लक्षित गरी पाटन मानसिक अस्पतालमा तीन वर्षदेखि हेल्पलाइन सञ्चालन गरिएको छ । २४सै घन्टा खुला रहने हटलाइन ११६६ मा फोन गरी अप्ठ्यारो परेको बताउनेलाई रेस्क्यु टिमबाट तुरुन्तै उद्धार गरिन्छ । तस्बिर : डब्लुएचओ

ललितपुरस्थित मानसिक अस्पतालको हेल्पलाइन नम्बर ११६६ मा बज्ने फोन घन्टीले परामर्शदातालाई उच्च सतर्कतामा राख्छ । फोन गर्नेमध्ये केहीले आत्महत्या गर्न लागेको, केहीले पारिवारिक झगडाका कारण घर छाडेर भाग्न थालेको र कतिपयले आफ्नो शरीरका अंगमा आफैँले चोट लगाउन लागेकोजस्ता जानकारी दिन्छन् । त्यसमध्ये पनि अधिकांशले मध्यरातमा फोन गर्छन् र घटना निम्त्याउन लागेको जानकारी अस्पताललाई गराउँछन् ।

राज्यको थप टेवा चाहिन्छ : डा. वासुदेव कार्की, मानसिक रोग विशेषज्ञ
हामीकहाँ मानसिक रोगबारे परामर्शदेखि उपचार सेवासम्मको सुविधा छ । हाम्रो सम्पर्कमा आएका अधिकांशलाई यस्तो सेवा दिने गरेका छौँ । कतिपयले सुसाइट नोट लेखेर तथा सुसाइट गर्ने औजार नै बोकेर फोन गर्छन् । त्यस्तोमा रेस्पोन्स गर्न निकै कठिन र चुनौती हुन्छ । तैपनि हामीले सकेको गरेका छौँ, दुर्घटना रोकेका छौँ । तर, सबैको उपचार गर्न अस्पताल एक्लैले सक्दैन ।

राति–दिउँसो नभनी परामर्शदाता सेवामा खटिएका हुन्छन् । रातिको समयमै भए पनि अस्पतालका चिकित्सक र परामर्शदाताले घरमै पुगेर, छिमेकी वा प्रहरीलाई खबर गरेर, स्वयं व्यक्तिलाई सम्झाएर आत्महत्या वा क्षतिका घटना रोक्ने प्रयास गरिरहेका छन् । त्यसमा उनीहरूलाई सफलता प्राप्त भएको छ, त्यसैले २४सै घन्टा सेवामा लाग्न प्रेरणा मिलेको छ । 

गत असारयता अस्पतालको हेल्पलाइनमा मासिक ६ सयका दरले फोन कल आएका छन् । यसमध्ये अधिकांश कल काठमाडौंकै रहेका छन् भने बाहिरी जिल्लाबाट पनि केहीले फोन गरेर आत्महत्याको तयारी गरेको भन्दै अत्याउने गरेका छन् । 

अस्पतालका अनुसार ०७९/८० मा चार सय ६० जनाले मानसिक अस्पतालको हेल्पलाइन नम्बरमा फोन गरेर आफूले आत्महत्या गर्न लागेको बताएका थिए । कतिपयले आत्महत्या गर्न लागेको मात्रै अपूरो सूचना दिएर परामर्शदातालाई उल्टै अत्याए । केहीले त आत्महत्या गर्न औजार नै प्रयोग गर्न लागेको वेलामा समेत कल गर्ने गरेको परामर्शदाता बताउँछन् । 

रिसिभ भएका कलमध्ये सबैलाई पराशर्म वा भौतिक रूपमै पुगेर परामर्श वा उपचार गरेपछि ती व्यक्ति आत्महत्याको निर्णयबाट पछि हट्ने गरेका छन् । अस्पतालका अनुसार फोन गर्नेमध्ये ५० जना १८ वर्षभन्दा कम उमेर समूहका थिए भने ६० वर्षभन्दा बढी उमेर समूहका नौजना थिए । त्यस्तै, अन्य व्यक्ति १९ देखि ३९ उमेर समूहका रहेको अस्पतालले जनाएको छ । उनीहरूले आफूहरूलाई आत्महत्याको सोच आएको भनेर अस्पतालको हेल्पलाइनमा फोन गरेका थिए । उनीहरूलाई आवश्यक मनोपरामर्श तथा उपचार गरिएको अस्पतालले जनाएको छ । 

हाल मानसिक अस्पताल पाटनले फोनबाट परामर्श दिने पाँचजना कर्मचारी राखेको छ । यसमध्ये कतिपय अवस्थामा भौतिक रूपमै पुगेर परामर्श दिनुपरे पनि अस्पतालले चिकित्सकसहितको टोली पठाउने गरेको छ । ‘हामीकहाँ मानसिक रोगबारे परामर्शदेखि उपचार सेवासम्म छ, तर सबैको उपचार गर्न अस्पताल एक्लैले सक्दैन,’ मानसिक रोग विशेषज्ञ वासुदेव कार्कीले भने, ‘कतिपयले त अझ सुसाइट नोट लेखेर तथा सुसाइट गर्ने औजार नै बोकेर फोन गर्छन्, त्यस्तोमा रेस्पोन्स गर्न निकै कठिन र चुनौती हुन्छ ।’ 

पाटन अस्पतालले आत्महत्याको अवस्थामा पुगेका वा सोच आएका व्यक्तिलाई लक्षित गर्दै तीन वर्षअघिदेखि निःशुल्क परामर्श दिँदै आएको छ । यसका लागि हेल्पलाइन नम्बर ११६६ सञ्चालनमा ल्याएको छ । यसले आत्महत्या रोकथामका लागि ठूलो टेवा दिएको अस्पतालको भनाइ छ । ११६६ मा अस्पतालले २४सै घन्टा कर्मचारी परिचालन गरेको छ । यसमा फोन गरेर कुनै व्यक्तिले अप्ठ्यारोमा परेको बताए तुरुन्तै ‘रेस्क्यु टिम’ परिचालन हुन्छ । 

आत्महत्या रोक्न जनचेतना चाहिन्छ : डा. कमल गौतम, मनोचिकित्सक
आत्महत्या गर्नेमा महिला–पुरुष बराबर छन् । महिलामा पनि आमा बनिसकेकाहरू बढी देखिएको छ । यसबाहेक १९ देखि ३९ उमेर समूहका ऊर्जाशील युवाले आमहत्या गर्ने गरेको देखिन्छ । आत्महत्या रोकथाम जटिल पक्ष भएकाले यसलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रम चाहिन्छ, सरकारले विशेष चासो दिनुपर्छ ।

यसबाहेक फोनबाट परामर्श दिने, मानसिक रोगी भए अस्पतालमै ल्याएर उपचार गर्नेलगायत कार्य गर्ने गरिएको मनोपरामर्शदाता मनीष महर्जनले बताए । उनका अनुसार तीन वर्षको अवधिमा हेल्पलाइन नम्बरमा १३ हजार फोन आएका छन् । त्यसमध्ये अधिकांश आत्महत्याको मुखमा पुगेका र मानसिक रूपमा अस्वस्थ व्यक्ति थिए । तीन वर्षमा झन्डै ६ हजार फोन मानसिक स्वास्थ्यबारे आएका छन् । 

गएको आर्थिक वर्ष ०७९/८० मा अस्पतालको हेल्पलाइन नम्बरमा झन्डै ६ हजार कल आएको अस्पतालले जनाएको छ । त्यसमध्ये तीन हजार दुई सय १३ वटा कल मानसिक स्वास्थ्यबारे थिए । मनोचिकित्सक डा. कमल गौतमले आत्महत्या भयावह बनेकाले यसको रोकथामका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको बताए । 

आत्महत्या रोकथाम जटिल पक्ष भएकाले यसमा केन्द्र सरकारले नै चासो दिनुपर्ने उनको भनाइ छ । ‘आत्महत्या गर्नेमा महिला–पुरुष बराबर छन् । महिलामा पनि आमा बनिसकेकाहरू बढी देखिएको छ,’ उनले भने, ‘यसबाहेक १९ देखि ३९ उमेर समूहका ऊर्जाशील युवाले आमहत्या गर्ने गरेका छन्, यसलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ ।’ 

यसबाहेक मानिस के कारणले आत्महत्याको अवस्थासम्म पुग्छ, राज्यका निकायले त्यसबारेमा पनि चासो दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार एक्लोपन, पारिवारिक विचलन, प्रकोप, दुर्व्यवहार, हिंसा, दुर्व्यसन, डिप्रेसनलगायत मानसिक रोगका कारणले आत्महत्या गर्ने गरेको पाइन्छ । नेपालमा ०७९/८० मा सात हजारले आत्महत्या गरेको मानसिक अस्पतालको तथ्यांक छ ।

आत्महत्या रोकथाम गर्न रोकथाम केन्द्र स्थापना गरिने 
आत्महत्या रोकथामका लागि सरकारले राष्ट्रिय आत्महत्या रोकथाम केन्द्र स्थापना गर्ने तयारी गरेको छ । मानसिक अस्पताल पाटनको पहलपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्र स्थापना गर्न लागेको र यसले आत्महत्यासम्बन्धी घटना रोक्न भूमिका खेल्नेछ । 

मानसिक अस्पताल पाटनका मानसिक रोग विशेषज्ञ डा. कार्कीका अनुसार आत्महत्या रोकथाम केन्द्रले गृह मन्त्रालयअन्तर्गतको विपत् व्यवस्थापन केन्द्रले जसरी काम गर्नेछ । अर्थात् कोही मानिस आत्महत्याको अवस्थामा पुगेको, आत्महत्या गर्न लागेको, मानसिक स्वास्थ्य बिग्रिएको, उपचार नपाएकोलगायत अवस्थामा केन्द्रको टोली तत्कालै परिचालित भएर उनीहरूको उद्धार र उपचार गर्नेछ ।

यसरी परिचालन भएको टोलीले आवश्यकताअनुसार उपचार गर्नेछ । स्थानीय तहसम्म नपुग्दा मानसिक स्वास्थ्य जटिल बन्दै गइरहेको अस्पतालको बुझाइ छ । ‘मानसिक स्वास्थ्यबारे सरकारी निकायको चासो कम छ, यसले गर्दा समाजमा आत्महत्याका घटना भयावह छन्, यसलाई रोक्न हामीले मनोचिकित्सक तथा मनोपरामर्शदाता परिचालन गरेका छौँ,’ उनले भने, ‘हेल्पलाइन नम्बर चलाएका छौँ । सात सय ५३ वटै स्थानीय तहलाई मानसिक स्वास्थ्यमा पनि काम गर्न आग्रह गरेका छौँ ।’

आत्महत्या रोकथामबारे पर्याप्त कदम चाल्न नसक्दा यसबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको चिकित्सक बताउँछन् । डा. कार्कीले केन्द्रबाटै मानसिक रोगसम्बन्धी चुस्त टिम परिचालन गरिनुपर्ने र यसलाई स्थानीय तहसम्म नै पुर्‍याउन आवश्यक रहेको बताए ।