मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नवीन गुरुङ संखुवासभा
२०८० असोज ११ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संखुवासभामा बजार अनुगमन, म्याद गुज्रेको सामान नराख्न निर्देशन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०८० असोज ११ बिहीबार १८:१५:००

दसैँ तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा संखुवासभामा बजार अनुगमन गरिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाँदबारी १ नम्बर वडा कार्यालय र सञ्चारकर्मीहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो।

उक्त टोलीले खाद्यान्न बिक्रेताहरूको डिलर, पसल तथा व्यवसायीहरूको गोदामको अनुगमन गरेको थियो। खाँदबारीका मुख्य चारवटा खाद्यान्न डिलरको अनुगमन गर्ने क्रममा खाँदबारी सुपरमार्केटमा केही म्याद गुज्रेका सामान भेटिएका थिए। त्यहाँ जुस, चकलेटजस्ता सामानको म्याद गुज्रेर किरासमेत भेटिएको थियो। आवश्यकताअनुसारका कागजातहरूसमेत नराखेको पाइएकाले सबै कागजात लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।

घिमिरेले जिल्लामा दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको अवस्था, सञ्चय, गोदाम र म्याद गुज्रेका सामानहरूको अवस्थाको बारेमा निरीक्षण गरिएको बताए। खाद्यान्न, होटेल व्यवसाय, मासु पसल, बेकरी र कपडा पसलहरूकोसमेत पालैपालो अनुगमन गरिने उनको भनाइ छ।

चाडपर्वको समयमा अन्य समयको तुलनामा खरिद बिक्री बढी हुने र त्यही क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरू बिक्री हुने बढी सम्भावना भएकाले अनुगमन अनिवार्य भएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले बताए।

बजार अनुगमनले व्यवसायीहरूलाई सचेत बनाउने भएकाले समय–समयमा गरिनु राम्रो हुने संखुवासभा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले बताए। उनले नियमित रूपमा बजार अनुगमन गर्दा व्यापारीहरू डराउनेभन्दा पनि गुणस्तरीय सामान मात्रै बिक्री गर्न सचेत हुने बताए।