मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
गगन अयडी बाजुरा
२०८० असोज ११ बिहीबार १६:२१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

फेरिँदै कोल्टी बजार

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० असोज ११ बिहीबार १६:२१:००

विगतका वर्षहरूमा अस्तव्यस्त रहेको बाजुराको कोल्टी बजारमा अहिले भौतिक संरचनाहरू बन्दै छन्। धमाधम पूर्वाधार निर्माण हुन थालेपछि कोल्टीको मुहार फेरिन थालेको छ।

कोल्टी बजार व्यवस्थापन समितिका अध्यक्ष सञ्जय रोकायाले भने, ‘कोल्टी बजारमा खानेपानी, बिजुली र सञ्चारको समेत सुविधा थिएन। सडकहरू निकै अस्तव्यस्त अवस्थामा रहनुका साथै जताततै फोहोर देखिन्थ्यो। कोल्टीमा खानेपानीको समस्याले गर्दा एक घन्टाको दूरीमा रहेको दैयाँ खोलाको पानी खच्चरमा बोकाएर कोल्टी बजारवासीले खानुपर्ने बाध्यता थियो।’

यसअघि बजारवरिपरि जताततै फालिएको फोहोरका कारण कोल्टी विमानस्थल आउने आगन्तुकहरू नाक छोपेर हिँड्ने गरेका रोकाया बताउँछन्। जिल्लाकै दोस्रो व्यापारिक केन्द्रको रूपमा रहेको बुढीनन्दा नगरपालिकास्थित कोल्टी बजारमा भौतिक संरचना निर्माण हुन थालेपछि मुहार फेरिन लागेको उनले बताए।

सुन्दर र व्यवस्थित कोल्टी बजार बनाउने चुनावी नारा लिएर आएका बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहाेराले झन्डै डेढ वर्षमै बजारको मुहार परिवर्तन गराएको स्थानीय होटेल सञ्चालक अमृत भण्डारीको दाबी छ। उनले भने, ‘अहिले घरघरमा खानेपानीका धारा निर्माण गर्नुका साथै बिजुली पनि नियमित आउँछ। कोल्टीमा सञ्चार सेवा २४ घन्टा नै उपलब्ध छ।’ यहाँको सडक पूरै पिच हुनुका साथै सडक बत्ती  र सार्वजनिक शौचालय निर्माण गरेपछि सफा र सुन्दर देखिन लागेको भण्डारीले बताए। 

कोल्टी बजारवरपरका सडक किनारमा ससाना बिरुवा रोप्ने कार्य भइरहेको छ। आफ्नो पाँचवर्षे कार्यकालमा कोल्टीको मुहार फेरिने नगरप्रमुख बोहाेराको दाबी छ। व्यवस्थित सहर बनाउने आफ्नो उद्देश्य रहेको बताउँदै उनले डेढ वर्षभित्रमा धेरै परिवर्तन भएको जिकिर गरे। रारा, मानसरोवरजस्ता धार्मिक पर्यटकीय स्थल जाने धेरै पर्यटकहरू कोल्टी हुँदै जाने भएकाले पनि यसलाई थप व्यवस्थित बनाउनुपर्ने बोहाेराको भनाइ छ।

‘बजारलाई थप व्यवस्थित बनाउनुका साथै सुरक्षा व्यवस्थापन, आधुनिक सेवा सुविधाहरू, होटेल व्यवस्थापनजस्ता काम गर्नुपर्ने चुनौतीहरू छन्,’ नगर प्रमुख बोहाेराले भने।