अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् । हिन्द–प्रशान्त क्षेत्रका सेनाप्रमुखहरूको भारतको राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय सेना प्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेनाप्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताएका हुन् ।
हिन्द–प्रशान्त क्षेत्रका सेनाबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने र्यान्डी जर्जले बताए । अतिवाद, संगठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै र्यान्डीले सेनाबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धन गर्नु हो ।