१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Wednesday, 26 June, 2024
२o८o असोज ८ सोमबार o६:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाण फकाउँदै शेखर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o६:३३:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसँग शेखर कोइरालाको भेट अर्थपूर्ण,  १५औँ महाधिवेशनका लागि नयाँ शक्ति सन्तुलन बनाउने रणनीति

१५औँ महाधिवेशनका लागि सभापतिको तयारीमा जुटेका कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले एक महिनाको अन्तरमा केन्द्रीय कारागार सुन्धारा पुगेर बालकृष्ण खाणसँग भेट गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य खाणसँग कोइरालाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेता हुन्, साथै उनी कांग्रेसभित्र बलियो पकड भएका नेतामध्येका एक पनि हुन् । कोइरालाले पछिल्लोपटक शनिबार सुन्धारा पुगेर खाणसँग भेट गरेका थिए । यसअघि १३ भदौमा पनि कोइराला खाणलाई भेट्न गएका थिए । स्रोतका अनुसार भेटमा खाणले सभापति देउवाबाट कानुनी लडाइँलगायतमा अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका थिए । 

७ साउनमा केन्द्रीय समिति बैठकमा कोइरालाले धारणा राख्ने क्रममा भुटानी शरणार्थी प्रकरणले नेपालको छवि धुमलिएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने बताएका थिए । ‘सुशासन : भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन,’ बैठकमा उनले भनेका थिए । बैठकमा महामन्त्री गगन थापालगायतका केही सदस्य खाणलाई केन्द्रीय समितिबाट निलम्बन गर्नुपर्ने पक्षमा उभिएका थिए । 

केन्द्रीय समितिमा खाणको नामै नलिई उनीमाथि प्रहार गरेका कोइरालाले त्यसपछि दुईपटक भेट गरेका छन् । यसलाई कांग्रेसभित्र खाण फकाउने कोइरालाको रणनीतिको अंशका रूपमा हेरिएको छ । कोइरालानिकट स्रोतका अनुसार उनी संस्थापनसँग असन्तुष्ट केन्द्रीय सदस्य, जिल्ला सभापति र जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा छन् । यसैअनुसार उनले महाधिवेशनमा हार–जितमा भूमिका खेल्न सक्ने खाणसँग सम्पर्क बढाएका हुन् । 

शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले शनिबारसहित दुईपटक भेट भएको र राजनीतिक विषयमा पनि कुराकानी भएको बताए । ‘उहाँहरूबीच शनिबारसहित दुईपटक भेट भएको छ । सामान्य भेटघाट हो । राजनीतिक रूपमा उहाँ संस्थापननिकट हुनुहुन्छ, तर स्वाभाविक रूपमा राजनीतिक व्यक्तिबीच भेट भएपछि राजनीतिक विषय र देशको परिस्थितिको विषयमा छलफल हुने  नै भयो,’ उनले भने । जेलका एक अधिकारीका अनुसार कांग्रेस नेताहरू जेलमा पुगेर खाणसँग भेट गरिरहेका छन् । ‘कोइराला पनि दोहोर्‍याएर आइरहनुभएको छ । खाणलाई बारम्बार भेट्न आउनेमा सहमहामन्त्री महेन्द्र यादव, राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी छन्,’ ती अधिकारीले भने । साथै तरुण दलका नेता–कार्यकर्ता पनि उनलाई भेट्न पुग्ने गर्छन् । सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि भने उनी पुगेका छैनन् । 

१५औँ महाधिवेशनकेन्द्रित रणनीतिअन्तर्गत पछिल्लो समय कोइरालाले इतर समूहलाई पकडमा राख्ने र संस्थापनतर्फका नेतालाई रिझाउने प्रयास गरिरहेका छन् । १० साउनको केन्द्रीय समिति बैठकपछिको कोइरालाका गतिविधि महाधिवेशनकेन्द्रित देखिन्छन् । 

सभापतिको तयारीमा लागे पनि उनले औपचारिक घोषणा गरेका छैनन् । बरु २२ भदौमा कोइरालाले सभापतिका लागि दौडिने समय आइनसकेको जिकिर गरेका थिए ।  १४औँ महाधिवेशनमा ‘यसैपटक एकपटक भन्ने नारासहित मैदानमा हुनुहुन्थ्यो, फेरि सभापतिमा लड्नुहुन्छ त ?’ भन्ने प्रश्नमा उनको ठट्यौली जवाफ थियो, ‘यो पटक भएन नि त !’ 

निकट केन्द्रीय सदस्य मधु आचार्य पछिल्लो समय कोइरालाको सक्रियताले महाधिवेशनकेन्द्रित रणनीति स्पष्ट संकेत गर्ने बताउँछन् । अघिल्लो निर्वाचनमा सभापतिमा पराजित बनेको र छविलाई लिएर कुनै प्रश्न नरहेकाले कोइरालाको रणनीतिलाई स्वाभाविक मान्नुपर्ने आचार्यको मत छ । 

कोइरालाको सक्रियता आफ्नै समूह बलियो बनाउने रणनीतिमा पनि रहेको उनको भनाइ छ । ‘पछिल्लो समय उहाँ पार्टीको अर्को विचार समूहसँग पनि सम्पर्क गरिरहनुभएको छ र उहाँहरू पनि सम्पर्कमा आउनुभएको देखिन्छ,’ आचार्यले भने, ‘राजनीतिमा एउटा निर्वाचन सकिएपछि अर्को निर्वाचनको तयारी सुरु हुन्छ ।’ 

विधानको व्यवस्था र आफ्नै घोषणाअनुसार अब महाधिवेशनमा देउवा तेस्रो कार्यकालको नेतृत्वका लागि दाबेदार रहने छैनन् । देउवाको दाबी नहुँदा कांग्रेसमा शक्ति सन्तुलनमा फेरबदल हुने अवस्था छ । देउवा समूहबाट सभापतिको उम्मेदवारबारे अलमल छ । यसलाई कोइरालाले आफूलाई बलियो साबित गर्ने अवसरको रूपमा लिएका छन् । 

पछिल्लो समय विभिन्न कार्यक्रममा जिल्ला जाने र समानान्तर रूपमा नेता–कार्यकर्तासँग भेटघाटलगायतका गतिविधिलाई निरन्तरता दिइरहेका छन् । कोइरालाले पनि समानान्तर रूपमा नेता–कार्यकर्तासँग सम्पर्क गरिरहेको स्विकारेका छन् । कोइरालाले ०८२ मा निर्वाचन गराउन लागिपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल कोइराला पछिल्लो समय आफ्नो समूहलाई एकीकृत गर्न र समूहलाई बलियो बनाउन लागेको बताउँछन् । 

महामन्त्री थापा र नेता कोइरालाको सम्बन्धमा केही दूरीको अवस्था देखिए पनि पछिल्लो समय कोइरालाको सक्रियताले दूरी कम गरेको उनी बताउँछन् । विश्लेषक पुरञ्जन आचार्य कोइरालाले पछिल्लो समय राजनीतिक गतिविधिलाई तीव्र बनाएको महसुस हुने बताउँछन् । ‘पछिल्लो समय गतिविधि तेज बनाएको देखिन्छ । पार्टीमा संगठित हस्तक्षेप गर्ने र समूह विस्तार गर्ने मनोदशा पाएको छु । उहाँलाई पार्टी र जनस्तरबाटै यसका लागि दबाब छ,’ उनले भने, ‘उहाँ अहिले सरकारको काम प्रभावकारी बनाउने र पार्टीलाई विधानमा चलाउने अभियानमा हुनुहुन्छ ।’ 

 कांग्रेस बैठकमा सरकार र मन्त्रीको कार्यसम्पादन समीक्षाको माग
कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार र पार्टीका तर्फबाट सहभागी मन्त्रीको कार्यसम्पादनमाथि समीक्षाको माग उठेको छ । सानेपामा जारी बैठकमा आइतबार धारणा राख्ने सदस्यहरूले सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी नौ मन्त्रीले परिणाम ल्याउने गरी काम गर्न नसकेको आरोप लगाए । ४ असोजबाट जारी बैठकमा अहिलेसम्म ३२ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

ad
ad
ad
ad