
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा बेइजिङमा नेपाल–चीन बिजनेस समिट आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी)को संयुक्त आयोजनामा बेइजिङमा आइतबार नेपाल–चीन बिजनेस समिट हुने भएको हो ।
द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको महासंघले जनाएको छ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा चिनियाँ कम्पनीका एक सय २० जना प्रतिनिधिको सहभागिता रहनेछ । नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदै छन् । समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ । उक्त समिटअघि व्यावसायिक भेटवार्ता (बिजनेस टु बिजनेस मिटिङ) पनि राखिएको छ ।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका विषयमा आफ्नो धारणा राख्नेछन् । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महŒवपूर्ण रहने महासंघ अध्यक्ष ढकालले बताए । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रीसँगको सहकार्यमा नेपाल–भारत बिजनेस समिट आयोजना गरिएको थियो ।