सन् २००५ यता अमेरिकामा दैनिक र साप्ताहिक गरी करिब दुई हजार पाँच सय अखबार बन्द भएका छन्
द वासिंटन पोस्टको प्रसिद्ध नारा ‘डेमोक्रेसी डाइज इन डार्कनेस’ संयुक्त राज्य अमेरिकाका धेरै भागमा सत्य साबित भइरहेको छ । डिजिटल युगले अखबारहरूको व्यापार मोडेललाई चकनाचुर पारेको छ, जसका कारण थुप्रै समुदाय स्थानिय पत्रकारिताविहीन भएर ‘समाचार मरुभूमि’मा परिणत भएका छन् । सन् २००५ यता अमेरिकामा दैनिक वा साप्ताहिक गरी करिब दुई हजार ५०० अखबार बन्द भएका छन् र अहिले ६ हजार ५०० भन्दा कम मात्र बाँकी छन् । हरेक हप्ता थप दुई अखबार हराउँछन् ।
स्थानीय पत्रकारिताको पतन धेरै कारकद्वारा प्रेरित छ । तर, आर्थिक चुनौती यी सूचीको शीर्षमा आउँछ । इन्टरनेट युगको सुरुमा, क्रेग्सलिस्टले वर्गीकृत विज्ञापनहरू प्रतिस्थापन गर्यो, जसले पहिले अखबार पत्रकारितालाई वित्त पोषित (विज्ञापन) गथ्र्याे । त्यसपछि ठूला डिजिटल प्लाटफर्म आए । तिनले परम्परागत विज्ञापन मोडेलका लागि अन्तिम मृत्युशड्ढया बिछ्याए । राजस्वको अभावमा स्थानीय समाचार संस्थाहरूले कर्मचारी कटौती गर्नुपरेको छ, कभरेज क्षेत्रहरू घटाउनुपरेको छ वा संस्थालाई नै पूर्ण रूपमा बन्द गर्नुपरेको छ ।
प्यु रिसर्चका अनुसार सन् २००८ देखि २०२० को बीचमा अमेरिकाका स्थानीय समाचार कक्षका कर्मचारीको संख्यामा ५७ प्रतिशतले कमी आएको छ । फलस्वरूप आफ्नो समुदायलाई बिरलै कभर गर्ने ‘घोस्ट न्युजपेपर’को संख्या हजाराँैमा पुगेको छ । साना स्थानीय अखबारसँग गुगल र फेसबुकजस्ता डिजिटल विज्ञापनका महारथीहरूसँग प्रतिस्पर्धा गर्न संसाधनको अभाव छ ।
स्थानीय पत्रकारिताको पतनमा मिडिया उद्योगको एकीकरणले पनि भूमिका खेलेको छ । हालैका वर्षमा धेरै साना अखबार मुनाफाका लागि स्थानीय रिपोर्टिङलाई तिलाञ्जली दिँदै ठूला कग्लोमरेट मिडियाका हिस्सा बनेका छन् । फलस्वरूप, समाचार कभरेजमा पनि एकसूत्रीकरण भएको छ, स्थानीय मुद्दाहरूको कभरेजमा असर परेको छ, सम्पादकीय निर्णयहरू जमिनी पत्रकारहरूले भन्दा कर्पाेरेटस्तरबाट हुन थालेका छन् ।
सरकारी निर्णय प्रक्रिया, सामुदायिक कार्यक्रम र जनतालाई प्रत्यक्ष असर पार्ने स्थानीय मुद्दाबारे नागरिकलाई सूचित गर्न स्थानीय पत्रकारिता महत्वपूर्ण छ । यो कुरा भन्नै पर्दैन । परम्परागत स्थानीय अखबारले स्थानीय अधिकारीलाई जवाफदेही बनाउने र जनताको संलग्नतालाई सहजीकरण गर्ने वाचडगको रूपमा काम गर्थे । स्थानीय पत्रकारिताको अभावमा नागरिक कम सुसूचित हुन्छन् भने भ्रष्टाचारको सम्भावना बढी हुन्छ, मतदानमा कमी आउँछ भने लोकतान्त्रिक संस्थाहरूको क्षय हुन्छ । अझ खराब त के भने विश्वसनीय सूचनाको अभावले गलत सूचना, अफवाह र उट्पट्याङ षड्यन्त्र–सिद्धान्तहरूको प्रसारलाई प्रश्रय दिन्छ, जसले लोकतान्त्रिक प्रक्रियामाथिको विश्वासलाई थप कमजोर पार्छ ।
स्थानीय पत्रकारिताको पतनले राजनीतिक ध्रुवीकरणलाई व्यापक बनाउन पनि योगदान पुर्याएको छ । स्थानीय अखबारहरूको संख्या र प्रभाव घट्दै जाँदा नागरिकहरू राष्ट्रिय समाचार आउटलेटमा बढी निर्भर हुन्छन्, जुन अधिक पक्षपातपूर्ण हुन्छन् । तटस्थ र सन्तुलित रिपोर्टिङ प्रदान गर्ने स्थानीय समाचार संस्थाहरूविना नागरिकहरू आफ्ना आग्रही विश्वाससँग मिल्ने मिडियाको उपभोग गर्न अभिशप्त बन्छन् । सामाजिक–मिडियाका अल्गोरिदमहरूद्वारा बनाइएका ‘फिल्टर बबल्स’को कारण मतदाता अधिकभन्दा अधिक अनजान हुँदै गएका छन्, उनीहरूमा सही तथ्य र जानकारीको अभाव हुन थालेको छ ।
जब समाचारका उपभोक्ताले प्रतिस्पर्धी दृष्टिकोणहरूको कम साक्षात्कार गर्छन्, धु्रवीकरण गहिरिँदै जान्छ । तर, यस्तो हुनु आवश्यक छैन । परम्परागत विज्ञापनद्वारा प्रवर्तित विधिको विकल्पमा गैरनाफामूलक समाचार संगठन, समुदाय–समर्थित पत्रकारिता र सदस्यतामा आधारित मोडेलहरू देखा परेका छन् । यी मोडेलमध्ये अधिकांश सामुदायिक संलग्नता र परोपकारी सहयोगमा निर्भर छन् ।
केहीले स्थानीय पत्रकारिताका थुप्रै क्षेत्रमा महत्वपूर्ण योगदान दिन थालिसकेका छन् । उदाहरणका लागि, एक दशकभन्दा कम समयमै, गैरनाफामूलक ‘क्यालम्याटर्स’ले क्यालिफोर्निया राज्यको राजनीति एवं अन्य मुद्दा कभर गर्ने पत्रकारहरूको संख्यालाई ४० मा पुर्याइसकेको छ । यसले क्यालिफोर्नियालाई महत्वपूर्ण जानकारी र जवाफदेहिता प्रदान गरिरहेको छ । यसबाहेक, थुप्रै सामुदायिक फाउन्डेसनहरू पत्रकारिता र केही उदाहरणमा पत्रकारका लागि लगानी जुटाउने माध्यम बनेका छन् । ठूला फाउन्डेसनहरूले जलवायु परिवर्तन र शिक्षादेखि असमानतासम्मका आफ्ना चासोका क्षेत्रहरू कभर गर्ने पत्रकारहरूलाई सहयोग गरिरहेका छन् । पछिल्लो एक दशकमा अमेरिकामा पत्रकारितामा गरिएको परोपकारी खर्च चार गुणाले बढेर प्रतिवर्ष २५ करोड अमेरिकी डलर पुगेको छ । दगार्जियनडटओआरजी एक्लैसँग एक दर्जनभन्दा बढी दाता छन्, तिनले उसलाई प्रतिवर्ष कम्तीमा पाँच लाख अमेरिकी डलर उपलब्ध गराउँदै आएका छन् ।
तर, अझै धेरै आवश्यक छ । रिबियुल्ड लोकल न्युजका अध्यक्ष तथा रिपोर्ट फर अमेरिकाका सह–संस्थापक स्टिभ वाल्डम्यानका अनुसार (करिब २५ हजार पत्रकारलाई प्रतिवर्ष ६० हजार अमेरिकी डलरको तलबमा रोजगार दिएर) स्थानीय पत्रकारितालाई पुनस्र्थापित गर्न प्रतिवर्ष एक अर्ब ५० करोड अमेरिकी डलर खर्च हुनेछ । यद्यपि यो संघीय सरकारी खर्चको केवल ०.०२ प्रतिशत अर्थात् प्रतिमहिना प्रतिअमेरिकी ५० सेन्टभन्दा कम हो । तुलनाका लागि अमेरिकामा लगभग ७०० उच्च–शिक्षा संस्थान छन्, जसलाई एक अर्ब डलरभन्दा बढीको दान जाने गरेको छ ।
यस वित्तीय खाडललाई पूरा गर्न व्यापक सार्वजनिक कोष आवश्यक छ । अमेरिकी सरकारले अहिले सार्वजनिक मिडियामा प्रतिव्यक्ति ३.१६ डलर मात्र खर्च गर्छ, जसमध्ये अधिकांश स्थानीय सार्वजनिक टेलिभिजन र रेडियो स्टेसनहरूलाई सहयोग गर्न कर्पाेरेसन फर पब्लिक ब्रोडकास्टिङमा जान्छ । जबकि जर्मनीले सार्वजनिक सञ्चारमाध्यममा प्रतिव्यक्ति १४२ अमेरिकी डलरभन्दा बढी खर्च गर्छ ।
केही प्रदेश र स्थानीय तहले यसअघि नै थप रकम उपलब्ध गराउँदै आएका छन् । उदाहरणका लागि, न्यु जर्सीको सिभिल इन्फर्मेसन कन्सोर्टियमले १४ वटा फरक–फरक स्थानीय समाचार संगठनलाई कोष उपलब्ध गराउँछ । न्यु मेक्सिको लोकल न्युज फन्डले सो राज्यभरका १६ जना पत्रकारलाई सहयोग गरेको छ र हालैमा क्यालिफोर्नियाले गरेको दुई करोड ५० लाख डलरको बजेट विनियोजनले मुख्य रूपमा ‘पिछडिएको समुदाय’का पत्रकारिताका ३९ जना फेलोलाई सहयोग गर्नेछ । यसैगरी, म्यासाचुसेट्स, न्युयोर्क, भर्जिनिया, विस्कन्सिन र वासिंटनले पनि स्थानीय मिडियाको सदस्यता (ग्राहक) र तलबमा करछुट दिने विषयमा विचार गरिरहेका छन् । अन्य राज्यहरूले आफ्ना सार्वजनिक विज्ञापनको केही बजेट विपन्न समुदायकेन्द्रित स्थानीय मिडियाका आउटलेटलाई सहयोग गर्न खर्चिन निर्देशन दिइसकेका छन् ।
अन्य ठोस समाधानमाथि पनि छलफल चलिरहेको छ, तर ती अहिले स्थगित भएका छन् । संघीयस्तरमा लोकल जर्नालिजम सस्टेनाबिलिटी एक्टले स्थानीय पत्रकारितालाई सहयोग गर्न करछुट दिन एक अर्ब डलर छुट्याएको थियो, तर यो विधेयकको बिल्ड ब्याक बेटर विधेयकसँगै अवसान भयो । यसैगरी क्यालिफोर्नियाज जर्नालिजम प्रिभेन्सन एक्टलाई पनि स्थगन गरिएको छ । यदि यो विधेयक पास हुन्थ्यो भने यसले डिजिटल विज्ञापनका महारथीलाई समाचार सामग्रीको साथ विज्ञापन बेच्दा समाचार आउटलेटहरूलाई ‘पत्रकारिता प्रयोग शुल्क’ तिर्न लगाउने थियो । साथै, प्रकाशकलाई यो शुल्कको ७० प्रतिशत क्यालिफोर्नियामा पत्रकारिता रोजगारीको संरक्षण गर्न लगानी गर्नुपर्ने कुरालाई अनिवार्य गराउने थियो ।
यस्ता उपाय अपरिहार्य छन् । लोकतन्त्रको रक्षाका लागि स्थानीय पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्छ । तर, यी दुवैलाई जोगाउन हामीलाई तत्काल थप व्यावसायिक नवप्रवर्तन, परोपकारी लगानी र स्वतन्त्र मिडियाका लागि सार्वजनिक समर्थनको खाँचो छ ।
(क्लिन्टन प्रशासनमा राष्ट्रपतिको आर्थिक सल्लाहकार परिषद्की अध्यक्ष रहेकी लौरा टायसन बर्कले स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको हास स्कुल अफ बिजनेसकी प्राध्यापक र एन्जेलो ग्रुपकी सल्लाहकार समितिकी सदस्य हुन् । म्याकिन्से एन्ड कम्पनीका वरिष्ठ पार्टनर एमेरिटस लेनी मेन्डोन्काचाहिँ क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमका पूर्वप्रमुख आर्थिक तथा व्यापार सल्लाहकार र क्यालिफोर्निया हाई–स्पिड रेल प्राधिकरणका अध्यक्ष हुन्)
– प्रोजेक्ट सिन्डिकेट