
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत हुँदा दुई वर्षअघि सक्रिय खेलजीवनबाट सन्न्यास लिएका पूर्वकप्तान पारस खड्का सचिवमा निर्वाचित भए
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुनः निर्वाचित भएका छन् । शनिबार नयाँ बानेश्वरमा भएको निर्वाचनमा कुनै दाबी नभएपछि चन्द सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । चन्द लगातार दुई कार्यकाल क्यानको अध्यक्षमा निर्वाचित भएका हुन् । समग्रमा क्यानमा चन्दको तेस्रो कार्यकाल हो । दोस्रो कार्यकाल लगातार अध्यक्ष चुनिएका चन्दले आगामी चार वर्ष सफल बनाउन सबैसँग हातेमालो गर्ने बताएका छन् । उनले भने, ‘निकै कठिन समयलाई पार गर्दै पुनः सबैको साथ पाएर निर्वाचित भएको छु । आगामी चार वर्ष उत्कृष्ट गर्ने प्रयास गर्नेछु,’ चन्दले सर्वसम्मत भएपछि प्रतिक्रिया दिए, ‘हामीले भर्खरै टेस्ट राष्ट्र पाकिस्तान र भारतसँग खेलेका छौँ । अब घरेलु संरचना परिवर्तन गर्नुपर्छ । त्यसतर्फ ध्यान दिन्छौँ,’ चन्दले भने । अब क्रिकेटलाई सरकारले पनि सहयोग गर्नुपर्ने चन्दले बताएका छन् ।
सचिवमा पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । दुई वर्षअघि सक्रिय खेलजीवनबाट सन्न्यास लिएका खड्काले पूर्वसदस्य प्रशान्तविक्रम मल्ललाई पराजित गरेका हुन् । पूरा ८५ मत खस्दा खड्काले ४८ तथा मल्लले ३७ मत पाएका थिए । यसअघि ७५ मत खस्दा नै पारस विजयी भइसकेका थिए । दुई वर्षअघि सन्न्यास लिएका पारसले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गरेसँगै केन्द्रमा छिर्ने बाटो खुलेको थियो ।
निर्वाचित पूर्वकप्तान खड्काले आवश्यक संरचना तयार गर्न र मैदानभित्र जस्तै प्रशासनमा पनि वाहवाही पाउन प्रयास रहने बताए । ‘अहिले मैदानभित्र क्रिकेटको जस्तो वाहवाही छ, त्यसैगरी प्रशासनमा पनि काम गर्छाैं,’ सन्न्यास लिएको दुई वर्षमै सचिवमा निर्वाचित खड्का भन्छन्, ‘संस्थागत रूपमा जिल्ला र प्रदेशमा एउटा राम्रो संरचना ल्याएर भविष्य सुनिश्चित गर्न सक्ने वातावरण सिर्जना गनुपर्छ ।’ उनले आफ्नो समर्थनमा रहेका केही पदाधिकारी पराजित हुँदा खल्लो भएकोसमेत बताए ।
पछिल्लो चार वर्ष चन्दलाई साथ दिएका मल्ल भने क्यानको कार्यकारी भूमिकाबाट बाहिरिएका छन् । मल्ल बाहिरिँदा पूर्वकोषाध्यक्ष रोशनकुमार सिंह र सदस्य दुर्गाराज पाठक भने विजयी भए । उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा कर्णाली प्रतिनिधि पदम खड्का सर्वसम्मत भएका छन् । यसअघि, अध्यक्षमा चन्दसँग लड्ने बताएका सिंह जिल्ला र प्रदेशको निर्वाचनसँगै हच्किएका थिए । यसपछि उनी चन्दकै समर्थनमा खुले । कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैँयासहित महिला सदस्य दार्चुलाकी जयन्तीदेवी भट्ट पनि सर्वसम्मत भइन् ।
यस्तो रह्यो क्यानको नयाँ टिम
क्यानको अध्यक्षमा चन्द दोहोरिँदा र सचिव नयाँ अनुहार खड्का निर्वाचित भएका छन् । खुला सदस्यमा पाठकसँगै धीरेन्द्र साउद, आयुष श्रेष्ठ, वीरेन्द्रबहादुर चन्द र करन महत्रा क्षेत्री निर्वाचित भए । ऋषिराम गौतमसँगै बराबर २६ मत भएपछि गोलाप्रथाबाट क्षेत्री विजयी भएका हुन् । धीरेन्द्रले ५९, पाठकले ५४, श्रेष्ठले ५१, चन्दले ३४ मत पाए । गौतमसँगै कृष्णप्रसाद श्रेष्ठ (२५), प्रकाश पौडेल (२३), सुनील कार्की (२०), सुनील सिंह हमाल (१८), नरेश राणा (१४), कैलाश विष्ट (१३) र प्रकाश गैरे (७) पराजित भए ।
प्रदेश सदस्यबाट केसी र मजगैँया निर्विरोध हुँदा कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा छन् । कोशीबाट पौडेलले ४६ मत पाउँदा ३४ मत पाएका सुनीलकुमार पौडेल पराजित भएका छन् । मधेशमा कर्माचार्य र मोहम्मद दाउद अन्सारीको समान ४२ मत हुँदा कर्माचार्य गोलाप्रथामा भाग्यमानी ठहरिए । सचिवमा खड्कालाई जिताउन मुख्य भूमिका खेलेका घलेले प्रतिस्पर्धी सुदीप पियालाई पराजित गरे । घलेले ४६ र पियाले ३६ मत पाएका छन् । यसअघि पारसलाई जिताउन घलेले उपाध्यक्ष पद छाडेर सदस्यमा प्रतिस्पर्धा गरेका हुन् । गण्डकीमा शर्माले ५२ र देवेन्द्र प्रजूले २८ मत पाए । सुदूरपश्चिमका विक्रम विष्टले ४९ र हरि रेग्मीले ३१ मत पाएका छन् ।