आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्यान्डका समकक्षीसँग भेट गरेका छन्। सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन्।
भेटमा दुई देशका संसदबीच संसदीय आदान–प्रदान, द्विपक्षीय सहयोगलगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए।
नेपाल र आयरल्यान्ण्डडबीच सन् १९९९ अगस्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन्। सन् २०१९ मा आयरल्यान्डको प्रतिनिधिसभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए।
सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाई, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिक हकहरूलाई कार्यान्वयन गर्न धेरै कानुनहरू निर्माण भइसकेको र केही कानुनहरू निर्माणका लागि संसद्ले काम गरिरहेको जानकारी दिए।
सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तरव्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्यान्डले सहकार्य गर्न सक्ने धारणा राखे।
आयरल्यान्डको प्रतिनिधिसभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको स्वागतको स्मरण गरे। उनले नेपाल प्राकृतिक रूपमा धनी देश रहेको बताउँदै आफूले नेपालजति सुन्दर मुलुक त्यसअघि भ्रमण नगरेकोसमेत उल्लेख गरे।
आयरल्यान्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका एक सय ६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आइरिस एडमार्फत समावेश गर्ने बताए। सभामुख फारगेलले आयरल्यान्डमा नेपाली विद्यार्थीको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरूको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए।