बाल्यकालको दिमागबाट यौनहिंसाको आघात कहिल्यै मेटिँदैन । मलाई यो कुरा थाह छ, किनभने म पाँच वर्षको छँदा एक वयस्क नातेदारले मलाई बलात्कार गरेका थिए । त्यो दुर्व्यवहारले मलाई दमित स्मृतिको अँध्यारो कुवामा धकेलेको थियो । स्नायुतन्त्रीय संयन्त्रले कलिलो मस्तिष्कलाई त्रासदीको स्मृति ढाकछोप गरिदिन्छ । अर्थात त्रासद सम्झनाहरू वास्तवमा बिर्सिएका हुँदैनन्, तिनलाई पछिका लागि केही समय छेउ लागेको मात्र हुन्छ ।
वहन गरेका यी भयानक भारबाट अचेत भएरै म किशोरावस्थामा गएँ । तर, कुनै न कुनै तरिकामा मेरो शरीरलाई के भएको थियो भनेर थाहा थियो, शरीर र भावनालाई नियन्त्रण गर्न म निकै थोरै खान्थेँ । मलाई फोबिया भयो । दुःस्वप्नहरू आए । मलाई रिस नियन्त्रण गर्न कठिन भयो । स्कुलमा मेरो एकाग्रतामा कमी भयो । मैले कुलतसँग लड्नुपर्यो । म भरोसापूर्ण र मायालु सम्बन्धमा प्रवेश गर्न सकिनँ ।
जब म ३७ वर्षकी भएँ, बलात्कारका ती घटनाको स्मरण ताजा हुँदै गयो । म यसलाई निको पार्न लामो उपचारात्मक, न्यायिक र व्यक्तिगत परीक्षणबाट गुज्रिएँ । म अहिले ५१ वर्षकी भएँ । अन्ततः मलाई शान्ति महसुस भएको छ । म बाल अधिकारकर्मी र ब्रेभ मुभमेन्टको सह–संस्थापक हुँ । बाल्यकालमा हुने यौनहिंसा अन्त्य गर्न म अन्य सर्भाइभर (पीडित) र सहयोगीसँग मिलेर काम गर्छु ।
आज मेरो अभियानको एउटा मुख्य केन्द्रबिन्दु ठूला प्रविधि कम्पनीलाई विश्वभरका करोडौँ मानिसले दैनिक रूपमा प्रयोग गर्ने प्लाटफर्ममा बाल यौन शोषणका सामग्रीको प्रसारविरुद्ध कारबाही गर्न दबाब दिनु भएको छ । सन् १९७० को दशकमा जब ममाथि दुव्र्यवहार भयो, त्यतिवेला इन्टरनेटको अस्तित्व नै थिएन । त्यसैले मेरा आफन्तले ममाथि गरेका यौन अपराध कुनै सामाजिक सञ्जालमा भाइरल हुने सम्भावना थिएन ।
तर पनि ईन्टनेटको डरले मलाई पछ्याउन छाडेन । म बलात्कृत भएको दशकौँपछि सन् १९९० को दशकमा मेरा ती आफन्त इन्टरनेटको लती भएछ । ऊ घन्टाैँ इन्टरनेटमा बिताउने रहेछ । उसले अनलाइनबाट बाल यौन दुर्व्यवहार सामग्री (सिएसएएम)हरूमा पहुँच पाएको र सेयर गरेको हुन सक्ने चिन्ताले मलाई आजसम्म पनि गम्भीर बनाउँछ । त्यस यता प्रविधिले धेरै प्रगति गरेको छ, तर बालबालिकाका लागि सुरक्षाका उपायमा केही गरिएको छैन भन्ने तथ्यले मलाई आक्रोशित बनाउँछ । जब मलाई दुव्र्यवहार गरियो, मेरो पीडा यति ठूलो थियो कि मेरो दिमागले त्यसलाई दमित बनायो । के तपाईं इन्टरनेटमा आफूमाथिको दुर्व्यवहारका सामग्री भाइरल भएका बालबालिकाको अनुभव कल्पना गर्न सक्नुहुन्छ ? आज, करोडौँ बालबालिका पुनः आघातको अन्त्यहीन दुश्चक्रमा फसेका छन् ।
‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोयटेड चिल्ड्रेन साइबर ट्रिपलाइन’ले सन् २०२२ मा मात्र विश्वभरबाट बाल यौन शोषणका शंकास्पद सामग्रीका तीन करोड २० लाखभन्दा बढी रिपोर्ट प्राप्त गरेको थियो । हामी डार्क वेबको एक कुनामा छिपेका अपराधीको सानो संख्याबारे कुरा गरिरहेका छैनौँ । अनलाइन बाल यौन दुर्व्यवहार व्यापक बनेको छ । इनफ इज इनफ, अब त अति भयो । यस विश्वव्यापी संकटको अन्त्यका लागि निर्णायक कदम चाल्नुपर्ने वेला आएको छ । सोसल मिडिया, टेक्नोलोजी र गेमिङ कम्पनीले बढीभन्दा बढी नाफाका लागि बालबालिकाको सुरक्षालाई दाउमा लगाइरहेका छन् । बाल्यकालमा हुने यौनहिंसालाई बढावा दिने उत्पादन र सेवाहरू निर्माण गरिरहेका छन् ।
यस विश्वव्यापी संकटको अन्त्यका लागि निर्णायक कदम चाल्नुपर्ने वेला आएको छ । सामाजिक सञ्जाल, प्रविधि र भिडियो गेम कम्पनीले बढीभन्दा बढी नाफाका लागि बालबालिकाको सुरक्षालाई दाउमा लगाइरहेका छन् । बाल्यकालमा हुने यौन हिंसालाई बढवा दिने उत्पादन र सेवा निर्माण गरिरहेका छन् ।
युवा तथा बालबालिकासहित सबैका लागि मनोरञ्जन, सम्पर्क र अवसरका स्रोत बन्ने भएकाले प्रविधि अविश्वसनीय सुखद अनुभव हुने गर्छ । तर, खेलौना, कार, लुगाफाटा र अन्य व्यापक रूपमा प्रयोग गरिने उत्पादन बनाउनेहरूको जस्तै यी टेक्नोलोजीका निर्मातामा पनि आफ्ना प्रयोगकर्तालाई हानि नपुगोस् भनेर सुरक्षा र चेकजाँचका संयन्त्र निर्माण गर्ने जिम्मेवारी छ । प्रविधि कम्पनी र ती प्रविधि निर्माण गर्ने मस्तिष्कसँग डिजिटल संसारमा विचरणको दशकौँको अनुभव छ । उनीहरूले आफ्ना उत्पादनलाई थप आकर्षक, प्रयोग गर्न थप सजिलो र अधिक लाभदायक बनाउन तिनलाई तीव्र गतिमा र कुशलतापूर्वक पुनरुत्थान, नवीकरण र अनुकूलनको सामथ्र्य बारम्बार प्रदर्शन गरिसकेका छन् ।
यसर्थ, जब उनीहरूले कुम हल्लाउँदै आफूहरूसँग आफ्ना प्लाटफर्मबाट सिएसएएम पत्ता लगाउने, रिपोर्ट गर्ने र तिनलाई हटाउने उपकरण छैनन् भन्छन्, हामीले बुझ्नुपर्छ उनीहरूले केवल मुनाफालाई प्राथमिकता दिइरहेका छन् । ए श्रेणीका अनलाइनमा समेत बालबालिका र नवजात शिशुहरूको यौन दुर्व्यवहारका सामग्री सन् २०२० यता दोब्बर भएको छ ।
प्रविधि कम्पनीसँग बालबालिकाको सुरक्षाका लागि आवश्यक प्रतिरक्षा निर्माण गर्न सीप र संसाधन दुवै छन् । उनीहरूसँग नभएकोचाहिँ यसका लागि लगानी र परिचालनको इच्छाशक्ति मात्र हो । तर जिम्मेवारी प्रविधि कम्पनीहरूको मात्रै छैन । सरकार र नियामकको अवस्था कस्तो छ ? उनीहरूले किन केही गर्दैनन् त ? नागरिकहरूलाई गैरजवाफदेही शक्तिबाट जोगाउनु, व्यवसायबाट हानि–नोक्सानी र शोषणबाट बचाउनु, मानव अधिकारको रक्षा गर्नु सरकारकोे जिम्मेवारी होइन भने उनीहरू केका लागि हुन् ?
एक फ्रान्सेली नागरिक र एक पीडितका रूपमा, मलाई रिपोर्ट गरिएका सिएसएएमको ६० प्रतिशतभन्दा बढी सामग्री युरोपेली संघबाट होस्ट गरिएको कुरा एकदमै असह्य लाग्छ ।युरोपेली नेताहरूले यसलाई रोक्न सक्छन् र रोक्नैपर्छ । प्रस्तावित ‘इयू रेगुलेसन टु प्रिभेन्ट एन्ड कम्ब्याक्ट चाइल्ड सेक्सुअल अब्युज अफलाइन एन्ड अनलाइन’ले सेवा प्रदायकलाई उनीहरूका प्लाटफर्ममा बाल यौन दुर्व्यवहारको रिपोर्टलाई अनिवार्य बनाउँछ र सिकारीहरूलाई न्यायको कठघरामा ल्याउन अधिकारीहरूलाई सचेत गराउँछ । करोडौँ बालबालिकालाई आजीवन आघातबाट बचाउने यो अद्वितीय अवसर हो । संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, अफ्रिकी संघ र अन्य देशमा बाल यौनहिंसाको मुद्दा राजनीतिक एजेन्डा बनिरहेको यो समयमा इयूसँग बालबालिकाहरूको सुरक्षा गर्ने र टेक कम्पनीहरूलाई जवाफदेही बनाउने शक्तिशाली अवसर छ ।
त्यसैले, युरोपेली सरकारहरू साहसी र निडर हुन आवश्यक छ । हामीले उनीहरूलाई शंका गर्ने, विरोध गर्ने र अवरोध गर्नेहरूको सामना गर्न अझ अग्लो भएर उभिनु आवश्यक छ । यसर्थ, यो प्रस्ताव युरोपेली संसद्मा बहसको महत्वपूर्ण चरणमा पुगेसँगै ब्रेभ मुभमेन्टका पीडित, युवा अभियन्ता र सहयोगीहरूले ब्रसेल्स र युरोपभर सामूहिक कदम चालिरहेका छन् । हामी आज बालबालिका र सर्भाइभरहरूलाई प्राथमिकतामा राखिएको कुरा सुनिश्चित गर्न ब्रसेल्समा छौँ । हामी प्रस्तावित यो कानुनलाई ठूला प्रविधि कम्पनी र तिनका समर्थकको धम्कीको प्रभाव पर्न अनुमति दिनेछैनौँ ।
जब म आफूले भोगेका कुरा र वर्षाैँसम्मका त्यसका आघातबारे सोच्छु, मैले सम्झिने कुरा के हुन्छ भने, ‘जब म बलात्कृत भएँ, इन्टरनेटको अस्तित्व नै थिएन ।’ यौन दुर्व्यवहारमा परेका र त्यसपछि इन्टरनेटमा त्यो दुर्व्यवहारको सामग्री प्रसारको आघात भोगेका सर्भाइभरहरूलाई म चिन्छु । एउटी सानी केटीलाई तिनका बाबुले वर्षाैँसम्म बलात्कार गरे । ती अपराधका तस्बिरहरू इन्टरनेटमा लाखौँपटक प्रसारित भएका छन् । उनी अहिले ३० वर्षकी भइसकेकी छिन् । उनलाई आफूलाई मानिसहरूले सडकमा चिन्ने हुन् कि भन्ने डरले सधैँ सताउने गर्छ । त्यसैले उनी बिरलै घरबाहिर निस्किन्छिन् ।
ती सर्भाइभर र ती बालबालिकाका लागि म अहिले ब्रसेल्समा मेरा सर्भाइभर भाइबहिनीसँगै छु । हामी यहाँ युरोपेली संसद् र इयूका सदस्य राष्ट्रहरूलाई ‘हामी तपाईंहरूंलाई हेरिरहेका छौँ । हामीलाई निराश नबनाऊ, यी बालबालिकालाई असफल नबनाऊ’ भन्न आएका छौँ ।
– अलजजिराबाट