Skip This
उत्तर कोरियाको स्वार्थमा बढिरहेको छ रुससँगको घनिष्टता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 26 July, 2024
जस्टिन हास्टिन
२o८o असोज ३ बुधबार o८:३७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उत्तर कोरियाको स्वार्थमा बढिरहेको छ रुससँगको घनिष्टता

Read Time : > 3 मिनेट
जस्टिन हास्टिन
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार o८:३७:oo

उत्तर कोरियाली नेता किम जोङ उनले रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो ‘पूूर्ण र निःसर्त समर्थन’को प्रतिबद्धता व्यक्त गरे । विश्लेषकहरूले अनुमान गरेका छन् कि यस प्रतिबद्धताअन्तर्गत युक्रेनमा रुसी युद्धका लागि गोलाबारुदको सहयोग पनि समावेश हुन सक्छ । यद्यपि, उत्तर कोरियाली गोलाबारुदको विश्वसनीयता र रुससम्म पुर्‍याउन हजारौँ माइलको लामो ढुवानी आवश्यकतालाई मनन गर्दा यो रुसका लागि सीमित सहयोग हुन सक्छ ।

तर किम के चाहन्छन् ? सधैँजस्तै उत्तर कोरियालाई खानेकुरा, मल र सम्भावित अन्य मानवीय सहायताको खाँचो छ । तर, किम खाद्यान्न सहायताका लागि मात्र रुसको यात्रा गर्छन् भन्नेमा भने संशय देखिन्छ । उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम अहिले एक महत्वपूर्ण मोडमा पुगेको छ । बाहिरी प्रमाणीकरण असम्भव भए पनि उत्तर कोरियाको आणविक हतियारले काम गर्ने देखिन्छ । सरकारले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरिसकेको छ । उत्तर कोरियाले बढ्दो परिष्कृत ब्यालिस्टिक मिसाइलको पनि परीक्षण गरेको छ ।

तर, उत्तर कोरियाका क्षेप्यास्त्रहरू एन्टी–ब्यालिस्टिक मिसाइल प्रणालीलाई भेद्न सक्छन् कि सक्दैनन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन । त्यस्तै, उसले क्षेप्यास्त्रहरूको शीर्षभागमा रहने आणविक हतियारलाई कुन हदसम्म घटाउन (मिसाइलमा अटाउने गरी सानो आकारमा डिजाइन वा निर्माण गर्न) सक्छ , मिसाइललाई कसरी सटिक रूपमा लक्षित गर्छ र कसरी निरन्तर रूपमा प्रक्षेपण गर्न सक्छ भन्ने पनि प्रस्ट छैन । पछिल्ला केही महिनामा उत्तर कोरियाको दुइटा असफल जासुस उपग्रहको प्रक्षेपणले यसको विश्वसनीयतामा समस्या रहेको संकेत गर्छ । रुसले सैद्धान्तिक रूपमा उत्तर कोरियालाई हतियार विकासमा दशकौँको अनुभवको साथसाथै उन्नत स्याटेलाइट प्रविधिको ज्ञान प्रदान गर्न सक्छ । यसले उत्तर कोरियाको जासुसी उपग्रह कार्यक्रमलाई वर्षौंको प्रयासपछि थप प्रगति प्रदान गर्न सक्छ ।

रुसले उत्तर कोरियालाई पनडुब्बी प्रविधि पनि प्रस्ताव गर्न सक्छ, जसले सरकारलाई आणविक हतियार प्रक्षेपण गर्ने वैकल्पिक माध्यम प्रदान गर्छ । उत्तर कोरियाले पहिलेदेखि नै पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक मिसाइलहरू विकास गरिरहेको बताइएको छ ।

कोरियाले चिनियाँ निर्भरताका कारण आउन सक्ने प्रभावलाई कम गर्न अन्य देशसँग सम्बन्ध पुनर्विकास गर्न खोजेको छ । सन् ०१८ र ०१९ मा दक्षिण कोरिया, अमेरिका र रुससँगको शिखर सम्मेलन यस रणनीतिको एक हिस्सा थियो, तर यसले उत्तर कोरियाका लागि ठोस लाभ दिन सकेन

पनडुब्बी र मिसाइल प्रविधिमा भएको प्रगतिले जापान र दक्षिण कोरियालाई आफ्ना अवरोध अझ बलियो बनाउने कार्यलाई सम्भावित रूपमा धक्का दिन सक्छ । यद्यपि, चीन र उत्तर कोरियाको कथित धम्कीको सामना गर्दै दुवै देशले पहिले नै आफ्नो सैन्य क्षमता विकास गरिरहेका छन् । उनीहरूले एक–आपससँग र संयुक्त राज्य अमेरिकासँग सहयोग अघि बढाइरहेका छन् । तसर्थ, यो प्रवृत्ति अपरिवर्तित रहने सम्भावना छ ।

रुसले पक्कै पनि उत्तर कोरियालाई औद्योगिकस्तरमा सैन्य सहायता प्रदान गर्न सक्दैन । यो वास्तवमा रुसको सबैभन्दा ठूलो कमजोरी हो । युक्रेनसँगको युद्धका कारण रुसले हतियार र गोलाबारुद उत्पादन गर्नेभन्दा धेरै छिटो–छिटो खपत गरिरहेको छ । उत्तरको नयाँ उच्च–प्रविधियुक्त हतियारहरू उत्पादन गर्ने क्षमता संयुक्त राष्ट्रसंघीय प्रतिबन्धद्वारा सीमित बनेको छ (यद्यपि पश्चिमी, उच्च–प्रविधियुक्त उपकरण र केही सामग्रीको आयात अझै पनि नजिकैका देशमार्फत भइरहेको छ) ।

नयाँ आर्थिक साझेदारको प्रस्ताव
रुसले उत्तर कोरियालाई आफ्नो रणनीतिक द्विविधाबाट बाहिर निस्कने बाटो पनि दिएको छ । सन् २००९ मा उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएपछि धेरै देशले उत्तर कोरियाली सरकारसँगको व्यापार सम्बन्ध तोडेका थिए । यसले उत्तरलाई असहज ढंगमा चीनमा निर्भर बनायो ।

फलस्वरूप उत्तर कोरियाले चिनियाँ निर्भरताका कारण ऊबाट आउन सक्ने प्रभावलाई कम गर्न अन्य देशसँग सम्बन्ध पुनर्विकास गर्न खोजेको छ । सन् ०१८ र ०१९ मा दक्षिण कोरिया, अमेरिका र रुससँगको शिखर सम्मेलन यस रणनीतिको एक हिस्सा थियो, तर यसले उत्तर कोरियाका लागि ठोस लाभ दिन सकेन । 

पूर्वी रुसमा पुटिनसँग किमको पछिल्लो शिखर वार्ता यही नीतिको निरन्तरता हो । अहिले, परिस्थिति परिवर्तन भएको छ । किमले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई प्रभावकारी रूपमा निष्प्रभाव बनाउने एक मार्ग पहिल्याएका छन् । उत्तर कोरियालाई प्रविधि र अन्य प्रतिबन्धित वस्तु प्रदान गर्न चीनका लागि मुख्य बाधक चिनियाँ कम्पनीमाथि अमेरिकाको सम्भावित हल्का प्रतिबन्ध र अमेरिकी डलरको लेनदेनबाट अलग हुने त्रास हो । यही कारण उत्तर कोरियालाई बेइजिङले चिनियाँ सहायता सीमित गरेको छ । 

रुस अहिले पश्चिमा प्रतिबन्धअन्तर्गत छ । रुसले उत्तर कोरियालाई सहायता प्रदान गर्दा दुष्परिणामको मतलब हुने भएन । रुस आणविक हतियार र मिसाइल प्रसारमा संलग्न हुन नचाहेको हदसम्म मात्र सीमित छ र आफ्नै सिमानामा परिष्कृत आणविक–सशस्त्र देश सिर्जना गर्ने विषयमा पनि ऊ सावधान छ ।

यस हप्ता किमसँगको भेटमा उत्तर कोरियालाई यसको स्याटेलाइट कार्यक्रममा मद्दत गर्नेसहित सहयोगका सबै विकल्प छलफलका लागि प्रस्ताव गरिएको रुसी राष्ट्रपति पुटिनले बताए । भनिरहन आवश्यक छैन कि यो संयुक्त राष्ट्रसंघको प्रतिबन्धको साथै मिसाइल प्रविधि नियन्त्रण प्रणालीमा रुसको आफ्नै प्रतिबद्धतामा प्रत्यक्ष उल्लंघन हुनेछ ।

यदि रुसले अब संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको वास्ता गर्दैन भने यसले उत्तर कोरियालाई सैन्य प्रविधि मात्र नभई सबै सामानमा प्रतिबन्ध बाइपास गर्ने अर्को सम्भवतः अझ सुसंगत माध्यम दिन्छ । रसियालाई नयाँ आर्थिक साझेदारका रूपमा पछ्याउँदा भ्लादिभोस्टोक र उत्तर कोरियाबीचको रेलमार्ग, साथै उत्तर कोरिया र पूर्वीरुसबीचको ढुवानी मार्गहरू खुल्छन्, जसले उत्तर कोरियाको कोइला तस्कर गर्ने समूहलाई प्रोत्साहन पनि गर्न सक्छ । 

हास्टिन युनिर्भसिटी अफ सिड्नीका अन्तर्राष्ट्रिय सम्बन्ध र तुलनात्मक राजनीतिशास्त्रका प्रध्यापक हुन् । 

–द कन्भर्सेसनबाट