
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण (फर्स्याेट) गर्न नाैवटा उपसमिति गठन गरेको छ । समितिको आइतबारको बैठकले दलीय भागबन्डाका आधारमा सबैको प्रतिनिधित्व हुने गरी नाैवटा उपसमिति बनाएको छ ।
कांग्रेस तीन, एमाले दुई तथा माओवादी, रास्वपा, राप्रपा र जसपाले एक–एक उपसमितिको नेतृत्व पाउने गरी गठन गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । कोभिड महामारीपछि लेखा समिति सक्रिय हुन नसक्दा बेरुजु फर्स्याेट अगाडि बढेको छैन ।
समितिको मुख्य कार्य नै सदनमा पेस गरिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजुको जाँच गर्ने हो । यसैगरी, समितिले महालेखा परीक्षकद्वारा सम्पादित कामकारबाही र सो सम्बन्धमा सम्बन्धित निकायबाट हुनुपर्ने कामकारबाही कानुनसम्मत र औचित्यपूर्ण तवरबाट भए–नभएको सम्बन्धमा अध्ययन गरी आवश्यक निर्देशनसमेत दिन्छ ।
यति धेरै बेरुजुको सम्परीक्षण गर्न समितिले नाैवटा उपसमिति बनाएको हो । कांग्रेसका अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव, एमालेका गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी, माओवादीका लेखनाथ दाहाल, रास्वपाका मनीष झा, राप्रपाका राजेन्द्र लिङ्देन र जसपाका प्रदीप यादवलाई उपसमिति संयोजक तोकिएको छ । लेखा समिति २७ सदस्यीय छ ।
महालेखा प्रतिवेदनले औँल्याएअनुसार हाल नेपालमा नाै सय ५८ अर्ब बेरुजु छ । अहिले महालेखाको ६०औँ प्रतिवेदन आइसकेको छ । ५९औँ प्रतिवेदन पनि समितिले हेरेको छैन । तथ्यांकअनुसार ४४औँ प्रतिवेदनदेखिका केही अंश पनि फर्स्याेट हुन बाँकी छ ।