१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३० शनिबार o७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको तीनकुनेमा हत्या भएका चारमध्ये तीनजना एकै परिवारका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार o७:५२:oo

सबैको सनाखत,  घटनाको अनुसन्धानका लागि एक जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीनजना एकै परिवारका भएको खुलेको छ। तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार तीनजना एकै परिवारका छन्।

हत्या हुनेमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन्।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए। अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ।

उक्त दिव्य स:मिल दोलखा, कालिञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण सिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ। अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले जानकारी दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए।