Skip This
धितोपत्र बोर्डले केही सातामै मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २९ शुक्रबार २२:२o:oo
Read Time : > 4 मिनेट
अर्थ डिजिटल संस्करण

धितोपत्र बोर्डले केही सातामै मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउँदै

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार २२:२o:oo

नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले केही सातामै मार्जिन ट्रेडिङसम्बन्धी नीति आउने बताए । 

‘केही दिनमा नै ब्रोकरमार्फत प्रवाह हुने मार्जिन ट्रेडिङसम्बन्धी नीति कार्यान्वयनमा आउँछ,’ अध्यक्ष हमालले भने, ‘हामीले क्यालेन्डर नै बनाएर काम गरिरहेका छौं ।’ 

बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरूको छुट्टै योग्यता तोक्ने पनि उनको भनाइ छ । अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरूको रोष्टर पनि धितोपत्र बोर्डले नै बनाउने पनि बताए । 

‘हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौँ, रोष्टर नै बनाउँदै छौँ । स्वतन्त्र संचालकले स्वतन्त्र लेखा परीक्षकलाई नै रिपोर्ट बुझाउने व्यवस्था गर्दैछौँ,’ अध्यक्ष हमालले भने । यसका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सँग उक्त विषयमा छलफलसमेत भइसकेको अध्यक्ष हमालले जानकारी दिए ।

उनले ‘इन्ट्रा डे ट्रेडिङ’ पनि सञ्चालन हुने जानकारी दिए । ‘धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टिमसँग छ,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको निराशाले सेयर बजारमा पनि केही कन्फिडेन्समा कमी देखिएको छ । तर, अर्थतन्त्रका सूचक खराब अवस्थामा नभएको र अझै सुधारउन्मुख भएका छन् । सबै सकारात्मक हुनुपर्छ । कन्फिडेन्सलाई बढाउनुपर्छ ।’

अध्यक्ष हमालले ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नगर्ने पनि स्पष्ट पारे । ‘ब्रोकरको कमिसन घटाउने प्रस्ताव सञ्चालक समितिमा लैजाँदा धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्तावसँगै जान्छ,’ उनले भने, ‘ब्रोकर सस्टेन नहुने गरी कमिसन घटाउने पक्षमा छैनौँ । ब्रोकर कमिसन घटाउँदा सँगै ब्रोकरलाई सुविधा थप गर्ने प्रस्ताव पनि लैजान्छौँ ।’

अध्यक्ष हमालले ब्रोकरको सुविधा थप्ने बताए पनि त्यो सुविधा के हुने भनेर खुलाएनन् । तर, सीमित कार्य गर्ने र ब्रोकरलाई पनि मार्जिन ट्रेडिङ, पोर्टफोलियो मानेजमेन्टलगायतका सुविधा थप्ने विषयमा बोर्डले छलफल गरिरहेको उनको भनाइ छ ।  

अध्यक्ष हमालले हकप्रद सेयरबारे पनि नयाँ नियम ल्याउने तयारी गरिरहेको बताए । यसका साथै सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा पनि चाँडै ब्रेक थ्रु हुने उनको भनाइ छ ।

अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने संकेत गरे । १० कित्ते नीतिले गर्दा धितोपत्र बजारको  विस्तार भएको भन्दै त्यसलाई अवसरको रूपमा लिनुपर्ने र त्यसमा रहेको केही कमजोर पक्ष सुधार गर्ने पक्षमा सेबोन रहेको अध्यक्ष हमालले बताए । 

‘बोर्डले समग्र बजार र अवस्थाका विश्लेषण र अध्ययन गरेर सुझबुझपछि पूर्ण निर्णय गर्छ,’ उनले भने, ‘१० कित्ते नीति पुनरावलोकन गर्नुपर्नेछ । त्यसबारे अध्ययन गर्नेछौँ ।’

अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए । उनले सूचीकृत कम्पनीको गभर्नेन्स, स्ट्यान्डर्ड र प्रोटोकलमा पनि सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रमममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले नेप्से इन्डेक्स र बजार पूँजीकरणरणलाई समयानुकुल रूपमा वैज्ञानिक बनाउनु पर्ने औँल्याए । सूचक नै गलत नभएको बताएका उनले जलविद्युत क्षेत्रलाई पूर्ण रूपमा नियमन गर्ने विषय बोर्डको कार्यक्षेत्रमा ल्याउन सम्भव नहुने बताए । 

कार्यकारी निर्देशक श्रेष्ठले हाइड्रोपावरको सेयर संरचनालगायतका विषयमा पनि छलफल भइरहेको बताए । बोर्डमा रियल टाइम सर्भलेन्स आवश्यक रहेको भन्दै त्यसको प्रक्रियाअगाडि बढेको उनको भनाइ थियो । 

उनले ब्रोकरलाई सुविधासहितको कमिसनका प्रस्ताव ल्याउनसमेत आग्रह गरे । राम्रो सुविधा र नराम्रो सुविधामा पनि एउटै कमसिनभन्दा यस्तो सुविधा लिन्छौँ, यसरी कमीसन ल्याउछौँ भनेर ब्रोकरले सुविधा अनुसारको कमिसन प्रस्ताव ल्याए बोर्ड त्यसमा छलफल गर्न तयार रहेको उनको भनाइ छ ।  

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले मार्जिन ट्रेडिङमा रिकभरीमा नीतिगत सहयोग चाहिने बताए । यस्तै, अक्सन मार्केट र सेटलमेन्ट ग्यासेन्टी फन्डजस्ता उपकरण ल्याएर बजारमा स्थायित्व कायम गर्नुपर्ने उनको भनाइ थियो । 

मार्जिङ ट्रेडिङको लागि ऐनमै व्यवस्था गर्नुपर्नेमा जोड दिएका उनले त्यसो हुँदा सेटलमेन्टमा सहज हुने बताए । उनले नेप्से सूचकको आधार मूल्यको विषयमा पनि प्रश्न गरे ।  

उनले हाइड्रोपावरलगायत वास्तविक क्षेत्रका कम्पनीमा लकइन अवधि सकिएलगत्तै सप्लाई चाप बढ्ने बताए । यस्तो वेला लसकङ नसकिँदाको भन्दा मूल्य तल झर्दा आम लगानीकर्ताले मूल्य कम छ भने सेयर किन्दा अधिक सप्लाई चापमा फस्ने जोखिम कुन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । 

धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले नेप्सेमा नै सूचीकृत कम्पनीको लकिङ डाटा उपलब्ध हुनुपर्ने बताए । उनले मनिटरी मार्केटको ट्रेजरी बिललगायका औजारहरू पनि धितोपत्र बजारमा नभएको भन्दै थप उपकरण विस्तारमा जोड दिए । केही ऋणपत्रहरू भए पनि यसमा पनि आकर्षण नदेखिएको उनको भनाइ थियो । 

कमिसन घटाउँदा ब्रोकर टिक्न नसक्ने बताएका उनले अहिलेको कमिसनमा दैनिक औसत ५÷६ अर्बको कारोबार हुँदा मात्रै ब्रोकरहरू ८÷१० प्रतिशतको रिटर्नमा जाने भन्दै तत्काल कमिशनको विषयमा नयाँ व्यवस्था गर्न नहुने बताएका थिए । उनले इन्डेक्ट फन्ड सर्ट सेलजस्ता औजार बजारमा चाहिने बताए । 

सर्ट सेल नभए पनि इन्ट्रा डे ट्रेडिङजस्ता औजार ल्याउनुपर्ने गिरीको भनाइ छ । यस्तै ब्रोकरको लगानी होल्ड हुने अवस्था हुने भन्दै थप सुविधा दिएर ब्रोकरको पूँजी परिचालन गर्नुपर्ने उनले बताए ।  

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहेका सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार कति घट्यो र प्रभावित भयो भनेर हेर्नको लागि बढ्दाको इन्डेक्स र बजार पूँजीकरण मात्रै पर्याप्त नहुने बताए । त्यसका लागि उक्त अवधिमा नेप्सेमा सूचीकरण भएको थप धितोपत्रको आधार मूल्य पनि हेर्नुपर्ने बताएका उनले आम लगानीकर्ताले आधारभूत जानकारी लिएर मात्र लगानीको निर्णय गर्नुपर्नेमा जोड दिए । 

उनले  सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आइपिओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरू प्रिमियमतर्फ लागेको बताए । उनले घाटामा रहेको र नेटवर्थ नै नेगेटिभ हुने अवस्थामा रहेका कम्पनीलाई हकप्रदको स्वीकृति दिएको विषयमा बोर्डको ध्यानाकर्षणसमेत गराए ।

पौडेलले संस्थागत लगानीकर्तालाई शून्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्नेमा जोड दिए । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा पर्याप्त रहेको तर सेयर बजारमा नै लगानी गर्ने उद्देश्यले आएको कम्पनीमा पनि १२ करोडको सीमा गलत भएको उनले बताए । ‘राष्ट्र बैंकले नै सेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेन्ट गर्ने कुरा गलत छ,’ उनले भने ।  

लगानीकर्ता पौडेलले सेयर बजार घट्नै हुँदैन भन्ने मास साइकोलोजी हुनुले बजारको आधारभूत ज्ञान नै छैन भन्ने बुझ्नुपर्ने बताए । उनले पूँजीबजार घट्ने र बढ्ने प्रक्रिया प्राकृतिक हुनुपर्ने बताए । नीतिगत अस्थिरताले बजार प्रभावित हुँने कुरामा पौडेलले आफ्नो असहमति प्रकट गरे ।

कार्यक्रमममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माले धितोपत्र बजारमा लगानीको औजारमा सबैभन्दा धेरै ऋणपत्र भए पनि सेयरमा धेरै सक्रिय हुँदा बजारले पूर्णता पाउन नसकेको बताए । 

उनले कोभिडको समयमा हरियो मात्रै देखेका र सोही पेला बजार प्रवेश गरेका लगानीकर्ता अहिले बजार घट्दा आतालिएको बताए । ‘पछिल्लो तीन आर्थिक वर्षमा धेरै लगानीकर्ता बजार प्रवेश गरेका छन् । तर, उनीहरूमा लगानीकर्ता शिक्षा र पूँजीबजारको आधारभुत ज्ञानको कमी छ,’ शर्माले भने, ‘त्यसले गर्दा बजारमा केही असर पनि गरेको छ । तर, ती लगानीकर्तालाई लगानीकर्ता शिक्षा र आधारभुत ज्ञान प्रदान गर्न सक्ने हो भने बजार विकासको लागि अवसर पनि हुनसक्छ ।’