संविधानसभाका अध्यक्ष, पूर्वसभामुख र एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई व्यक्तिगत रूपमा एकजना सहयोद्धाका हिसाबले कसरी स्मरण गर्नुहुन्छ ?
सुवास नेम्वाङले नेपालको राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा जुन भूमिका निर्वाह गरेर आउनुभयो, कामका दौरानमा उहाँसँग अत्यन्त घनिष्ठ, हार्दिक र जीवन्त सम्बन्ध बन्न पुग्यो । उहाँको निधनबाट मैले व्यक्तिगत रूपमा अत्यन्त गहिरो पीडाबोध गरेको छु । व्यक्तिगत रूपमा उहाँ मेरो अत्यन्त घनिष्ठ मित्र, सहृदयी कमरेड, सुखदुःखका कुनै पनि र राष्ट्रिय राजनीतिको विषयमा जीवन्त ढंगले छलफल गर्न सकिने, गहकिला सल्लाह र सुझाव प्राप्त गर्न सकिने नेता हुनुहुन्थ्यो । उहाँको निधनले अत्यन्त ठूलो पीडा भएको छ ।
उहाँको निधनबाट राष्ट्रिय राजनीतिलाई कति क्षति पुगेको छ जस्तो लाग्छ ?
एमालेको उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य, पूर्वसभामुख, संविधानसभा अध्यक्षको हैसियतले उहाँले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा उहाँको जुन उपस्थिति थियो, एउटा ठूलो खाडल सिर्जना गरेको मैले महसुस गरेको छु । त्यो खाडल पूरा गर्न हामीले धेरै मिहेनत गर्नुपर्ने अवस्था देखिन्छ ।
दुईपटक संविधानसभा अध्यक्षसहित पाँचपटकसम्म सभामुख भएको व्यक्तित्व नेम्वाङबाट अहिलेको संसद् र सांसदहरूले सिक्नुपर्ने शिक्षा के छन् जस्तो लाग्छ ?
उहाँले खासगरी २०४८ सालयता प्रतिनिधिसभा, राष्ट्रिय सभा र संविधानसभासहित तीनवटा सभामा प्रतिनिधित्व गर्नुभयो । ती तीनवटै सभामा उहाँको उपस्थिति, भूमिका र प्रस्तुति प्रभावकारी र महत्वपूर्ण रह्यो । सांसदहरूले उहाँबाट असल सांसद कसरी हुन सकिन्छ भन्ने सिक्न सक्छौँ । विधि निर्माणमा, जनताका माग र सरोकार उठाउने सवालमा साथै अन्तरपार्टी संवादमा उहाँबाट धेरै सिक्न सक्छौँ । विमति किनारा लगाउँदै सहमति पहिल्याउने सन्दर्भमा उहाँबाट हामीजस्ता सबै सांसदले धेरै पाउन सक्छौँ ।
पछिल्लो समय उहाँ शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जति समय लाग्छ, त्यसले देशलाई त्यति नै नोक्सान पु¥याउँछ भन्ने बुझाइमा हुनुहुन्थ्यो
दोस्रो, उहाँले संविधानसभा अध्यक्षको हैसियतमा संविधान निर्माणका सवालमा रहेका विमति र चुनौती पन्छाएर सहमति निर्माणका लागि अत्यन्त कुशलतापूर्वक प्रयास गर्नुभयो । पहिलो संविधानसभा असफल हुँदा पनि संविधानसभाबाटै सहमतिबाट संविधान बनाउन सकिन्छ भन्ने उहाँले मान्यता राख्नुभयो । कतिपय मान्छे सुवास नेम्वाङ खाली सहमति–सहमति मात्रै भन्छ भनेर आलोचना पनि गर्थे । तर, त्यसमा कहिल्यै विचलित नभई उहाँले विमति किनारा लगाउँदै सहमति खोज्न अत्यन्तै निर्णायक भूमिका निर्वाह गर्नुभयो । आज मुलुकले जुन संविधान पाएको छ, यो निर्माण गर्न संविधानसभा अध्यक्षको हैसियतमा सुवास नेम्वाङको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ ।
यसबाट हामीले दलहरूका बीचमा विमति पनि हुन्छन् र दलहरूका बीचमा सहमति पनि हुन्छन् भन्ने शिक्षा लिनुपर्छ । विमति भएकाले दलहरू अलग छन्, तर उनीहरूबीच सहमति हुन्छ र साझा निष्कर्षमा पुग्छन् भन्ने मान्यता स्थापित गर्दै व्यवहारमै उदाहरणीय काम गर्नुभएको छ । उहाँबाट सिक्न सकिने अर्को महत्वपूर्ण विषय यो हो । खासगरी असल र सफल जनप्रतिनिधि बन्नका लागि उहाँको सोच्ने, काम गर्ने तरिकाबाट धेरै कुरा सिक्न सक्छौँ ।
उहाँ सधैभरि राष्ट्रिय सहमति र एकताको पक्षधर हुनुहुन्थ्यो, त्यसका लागि अन्तरपार्टी सम्बन्ध सुधारमा जोड दिनुहुन्थ्यो । राष्ट्रिय राजनीतिका अप्ठ्यारा फुकाउन संवैधानिक, कानुनी, राजनीतिक प्रश्न समाधानका लागि निर्णायक भूमिका खेल्नुहुन्थ्यो । तत्कालीन नेकपा निर्माणमा पनि भूमिका खेल्नुभएको भनिन्छ । उहाँको समन्वयकारी, सहमति निर्माण गर्ने छविलाई एमाले र यी सबै विषयसँग जोडिएका पार्टीहरूले कसरी स्मरण गर्नुपर्छ त ?
उहाँले सहमतिमै जोड दिनुहुन्थ्यो । त्यसमा पनि खासखास कालखण्डमा उहाँले सहमतिको विषयलाई विशेष महत्वका साथ जोड दिनुभएको थियो । खासगरी संविधान निर्माणको कालखण्डमा सहमतिलाई बढी जोड दिनुभयो । त्यतिवेला दलहरूका आ–आफ्ना घोषणा, दृष्टिकोण, मान्यता, प्रस्ताव थिए । कुनै एउटा दलको मात्र घोषणापत्र संविधान बन्न सक्दैनथ्यो, दलहरू आ–आफ्ना अडानबाट पछि हटेर र साझा सहमतिमा नबढेसम्म संविधान जारी गर्न सम्भव हुँदैनथ्यो ।
यही ठम्याइका साथ उहाँले आधारभूत रूपमा लोकतन्त्रका विश्वव्यापी मान्यतालाई अनुसरण गर्दै राष्ट्र र जनताको हित र अग्रगामी सारतत्वमा सहमति कायम गर्दै संविधान निर्माण गर्न विशेष जोड दिनुभयो । राष्ट्रिय सहमति भनिरहँदा उहाँ निरपेक्ष होइन, उद्देश्यकेन्द्रित राष्ट्रिय सहमति अर्थात् लोकतान्त्रिक र अग्रगामी अन्तरवस्तुसहितको संविधान निर्माण गर्नुपर्छ भन्नेमा दृढ अडानमा हुनुहुन्थ्यो । त्यसका लागि दलहरूबीच सहमति निर्माणका लागि उहाँले जोड दिनुभयो । उहाँको मान्यता जस्तोसुकै विषयमा जस्तोसुकै राष्ट्रिय सहमति गर्दा हुन्छ भन्ने होइन । त्यो सहमति निःसन्देह अग्रगामी, जनपक्षीय हुनुपर्छ, लोकतान्त्रिक मान्यताको हुनुपर्छ भन्ने मान्यतामा जोड दिने गर्नुभएको हो । दलहरूका बीचमा जब यदाकदा असहमति हुन्छन्, फरक–फरक पोजिसन हुन्छन्, त्यसवेला उहाँले सहमतिका आधार र विन्दु कहाँनेर हुन सक्छ भनेर विशेष ध्यान दिनुहुन्थ्यो । सहमति पहिल्याउने कुरामा उहाँको सधैँ विशेष चासो हुन्थ्यो र पहिल्याउने कलाका हिसाबले निपुण पनि हुनुहुन्थ्यो ।
फरक विचार राख्ने दलहरूबीच सहमति जुटाउन सकिन्छ भन्ने कुरा उहाँले व्यवहारमै स्थापित गर्नुभयो
खासगरी पछिल्ला दिनमा उहाँ सत्यनिरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विधेयकमा सहमति खोजेर शान्ति प्रक्रिया टुंग्याउने मुद्दामा पनि केन्द्रित हुनुहुन्थ्यो । त्यसमा सहमति खोज्न केही भूमिका खेलिरहनुभएको थियो कि ?
शान्ति प्रक्रियाका बाँकी काम लोकतन्त्र र मानव अधिकारका सर्वमान्य सिद्धान्तका आधारमा टुंग्याउनुपर्छ भन्नेमा उहाँ अविचलित रूपमा लागिरहनुभएको थियो । उहाँ शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन जति समय लाग्छ, त्यसले देशलाई त्यति नै नोक्सान पुर्याउँछ भन्ने बुझाइमा हुनुहुन्थ्यो । त्यसकारण ठीक ढंगले छिटो सहमतिमा पुग्ने र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याएर देशलाई अनिश्चय र अस्थिरताको चक्रव्यूहबाट बाहिर निकाल्नुपर्छ भन्नेमा उहाँको विशेष लगाव र प्रयत्न थियो । उहाँको अभावमा त्यस प्रयत्नलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ ।
एमाले दोस्रो ठूलो राजनीतिक दलका रूपमा प्रमुख प्रतिपक्षको भूमिकामा संसद्मा छ । मिसन ८४ केन्द्रित गतिविधिसहित एमाले अगाडि बढिरहँदा आजको विन्दुमा एमालेलाई बलियो बनाउने सवालमा उहाँको अनुपस्थितिले कस्तो प्रकारको क्षति महसुस गरिरहेको छ ?
सुवासको निधनले एमालेलाई मात्र होइन, सिंगो राष्ट्रलाई नै क्षति पुगेको छ । त्यो क्षति त्यति सजिलै पूरा हुँदैन । उहाँले एमालेलाई सशक्त, प्रभाकारी बनाउन भूमिका निर्वाह गर्नुभएको थियो । एमालेको भूमिका अझ सशक्त, प्रभावकारी बनाउन र जनधार विस्तार गर्नका साथै विशेषगरी ०८४ मा हुने तीनै तहको निर्वाचनमा पूर्ण बहुमतसहित निर्वाचित हुनुपर्छ भन्नेमा उहाँको दृढ विश्वास थियो । ०८४ को निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेर देशलाई स्थिरता, समृद्धि, विकास र सामाजिक न्यायसहितको समाजवादको दिशामा अगाडि बढाउनुपर्छ भन्ने उहाँको विश्वासलाई सार्थक तुल्याउन हामी बाँचेकाहरूले थप मिहिनेत गर्नुपर्ने अहिलेको आवश्यकता हो ।