१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वीरको भिआइपी र भिभिआइपी कक्षमा थपिँदै उच्चपदस्थ बिरामी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४८:oo

पूर्वराष्ट्रपति यादव, कांग्रेस सहमहामन्त्री यादव र कोशीका भौतिक पूर्वाधारमन्त्री कार्कीको उपचार हुँदै

वीर अस्पतालमा भिआइपी र भिभिआइपी कक्षमा उपचारका लागि आउने उच्चपदस्थको संख्या बढ्न थालेको छ । हाल अस्पतालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अस्पतालको भिआइपी कक्षमा उपचार भइरहेको छ । 

अस्पतालमा हाल भिभिआइपी र भिआइपी गरेर पाँचवटा उपचार कक्ष छन् । एक महिनाअघि तीन शय्या थपेर पाँचवटा उपचार कक्ष बनाइएको थियो । उपचार कक्ष व्यवस्थित बनाएपछि शीर्ष व्यक्तिहरू उपचारका लागि आउने क्रम बढेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । पूर्वराष्ट्रपति यादव र कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कार्की आइतबार अस्पताल भर्ना भएका थिए । 

डा. सन्तोष पौडेल निर्देशक, वीर अस्पताल
उच्चपदस्थ व्यक्तिहरूले वीर अस्पताललाई विश्वास गर्न थाल्नुभएको छ, यो सकारात्मक हो । पहिलेभन्दा अस्पतालको उपचार सेवा सहज भएको छ, तर बिरामीको भिड हुने भएकाले सेवावधि ल्याए पनि उपचारमा चुनौती छ ।

भृकुटीमण्डपमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कांग्रेस सहमहामन्त्री यादव भने पाँच दिनदेखि उपचाररत छन् । वीरको भिभिआइपी कक्षमा ल्याउनुअघि उनलाई ट्रमा सेन्टरमा उपचार गरिएको थियो । तर, त्यहाँ भिभिआइपी र भिआइपी कक्ष नभएकाले वीरमै सारिएको र ट्रमाकै चिकित्सकले उपचार गरिरहेका छन् । पूर्वराष्ट्रपति यादव उच्च रक्तचाप र मधुमेहले सताएपछि अस्पताल भर्ना भएका छन् । उनीहरूको उपचार यसअघि तयार भएको भिभिआइपी र भिआइपी उपचारसम्बन्धी गाइडलाइनअनुसार विशेषज्ञ चिकित्सकबाट भइरहेको छ । अस्पतालको भिआइपी कक्षमा उपचाररत मन्त्री कार्कीलाई डेंगु संक्रमण भएको छ । 

पूर्वराष्ट्रपति, सहमहामन्त्री यादव र मन्त्री कार्कीलाई भेट्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आइतबार अस्पताल पुगेका थिए । उनले भिभिआइपी कक्ष व्यवस्थित भएको र उपचार सेवा पनि सहज पारिएको बताउँदै ढुक्कले उपचार गर्न शीर्ष व्यक्तिहरूलाई आग्रह गरेका थिए । अस्पतालका निर्देशक डा. पौडेलले पहिलेभन्दा अहिले उच्चपदस्थ व्यक्तिहरू वीरमै उपचार गर्न आउने क्रम बढेको बताए । एक साताअघि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पनि वीरमै उपचार गराएर डिस्चार्ज भएका थिए । ‘उच्चपदस्थ व्यक्तिहरूले वीर अस्पताललाई विश्वास गर्न थाल्नुभएको छ, यो सकारात्मक हो,’ उनले भने, ‘पहिलेभन्दा अस्पतालको उपचार सेवा सहज भएको छ, तर बिरामीको भिड हुने भएकाले सेवावधि ल्याए पनि उपचारमा चुनौती भने छ ।’ उनका अनुसार अस्पतालले पाँचवटा शय्या भिआइपी तथा भिभिआइपीका लागि छुट्याएपछि उच्चपदस्थ व्यक्तिहरूले त्यसबारे चासो देखाउने र सोधीखोजी गर्न थालेका पनि छन् । भिभिआइपी र भिआइपी उपचार कक्षमा आउने व्यक्तिको सुरक्षा गार्ड र आफन्त बस्ने छुट्टै कोठाको व्यवस्था गरिएको छ भने बैठक कक्ष पनि छ । सो कक्षमा नर्सिङ वार्ड पनि राखिएको अस्पतालले जनाएको छ । 

दैनिक तीन हजार बिरामी आउँदा उपचारमा हम्मेहम्मे 
वीर अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या पनि अत्यधिक छ । अस्पतालका निर्देशक डा. पौडेलका अनुसार अहिले दैनिक तीन हजारका दरले बिरामी आउने गरेका छन् । यो संख्या देशभरकै अस्पतालमध्ये सबैभन्दा बढी मानिन्छ । झन्डै हजार शय्याको अस्पतालमा बेड खाली नभएपछि कतिपय बिरामी फर्कने गरेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा खुला गरिसकेको छ । ‘हामीले सक्दो सेवा विस्तार गरिसकेका छौँ, तर चाप निकै बढी छ,’ निर्देशक पौडेलले भने, ‘तैपनि व्यवस्थित गर्ने कोसिस गरिरहेका छौँ ।’

डा. भगवान कोइरालाले भिजिटिङ प्रोफेसरका रूपमा काम गर्ने 
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले वीर अस्पतालमा भिजिटिङ प्रोफेसर रूपमा बिरामीको उपचार सेवा सुरु गरेका छन् । उनले चार दिनअघि मुटुसम्बन्धी बिरामीको शल्यक्रिया गरेर उपचार सेवा सुरु गरेका हुन् । ‘उहाँ विशेषज्ञ र अनुभवी चिकित्सक हो, उहाँले वीर अस्पतालाई थोरै भए पनि समय दिनु महŒवपूर्ण विषय हो । यसले सरकारी अस्पतालप्रति आममानिसको भरोसा बढाएको छ,’ निर्देशक पौडेलले भने, ‘मुटुसम्बन्धी उपचार सेवा थप व्यवस्थित हुने हाम्रो अनुमान छ ।’

वीरमा ठाउँ हुँदाहुँदै रक्षामन्त्री खड्का गए सेनाको अस्पताल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भने वीरमा उपचार गर्ने ठाउँ हुँदाहुँदै नेपाली सेनाको वीरेन्द्र अस्पतालमा उपचार गराएका छन् । प्रोस्टेटमा समस्या आएपछि उनी १३ भदौमा अस्पताल भर्ना भएका थिए । शल्यक्रियापछि उपप्रधानमन्त्री खड्का आइतबार डिस्चार्ज भएका छन् । अचानक बिरामी भएपछि उनलाई १३ भदौमा सेनाको अस्पतालमा उपचार गर्न लगिएको थियो । वीर अस्पतालका निर्देशक पौडेलले भिभिआइपीमा हुने सबैखाले रोगको उपचार सेवा वीरमा रहेको बताउँदै रक्षामन्त्रीको विषयमा भने आफूलाई थाहा नभएको बताए । 

 

ad
ad