हुम्लाको ताजाँकोट गाउँपालिका– ३ को मासपुर गाउँ भोटबैंक मात्रै बनेको छ। निर्वाचनभन्दा पहिला भोट माग्न विभिन्न आश्वासन दिने ठूला दलका नेता चुनाव सकिएपछि गाउँमा अनुहार देखाउन गएका छैनन् ।
मासपुरवासीको एक मात्रै माग छ– गाउँपालिका केन्द्र पुग्ने छरी भिरको पहरो बनाइदेऊ । हुम्लामा ठूला राजनीतिक दल भनिएका नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस चुनाव सकिएपछि गाउँ फर्केर नआएको ताजाँकोट गाउँपालिका– ३ मासपुर गाउँका गहुकला रोकायाले गुनासो पोखिन्। ‘भोट माग्न आउँदा आश्वासन दिए, अहिले जिते अनुहार देख्न पाइँदैन,’ उनले नयाँ पत्रिकासँग भनिन्।
‘चुनावको वेला भोटका लागि छरी भिरको पहरो बनाइदिन्छु भनेर सबै नेताले भने । वर्षदिन बित्यो न त छरी पहरोको बाटो बनाइदिए न त नेताहरू गाउँ फर्किए,’ उनले भनिन् । ‘गाउँपालिका पुग्न जोखिम मोल्दै आवतजावत गर्नुपर्छ,’ अर्का स्थानीय केशबहादुर रोकायाले पीडा व्यक्त गरे।
छरी भिरमा झुन्डिएर वारपार गर्नुपर्दाको पीडा कुनै नेताले नबुझेको उनको भनाइ छ । ‘मासपुरमा भोट मात्रै चाहिने रहेछ । विकास केही पनि गरेनन् । विभेद मात्रै गरे । हामी जनता भोटबैंक मात्रै भयौँ,’ रोकायाले नयाँ पत्रिकासँग भने ।