बाग्लुङको तमानखोला गाउँपालिकाले सामाजिक भेदभाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रूपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ। जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुईवटा भान्सा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रूपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ।
जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्सा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए। उनले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यपालिका बैठकबाट सामाजिक रूपमा हुने भोजभतेरको भान्सा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताए।
‘सामाजिक विभेद व्यवहार र भान्साबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्सा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनजातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्सा हुँदै आएको थियो। यो सामाजिक र जातीय विभेद हो,’ अध्यक्ष बुढामगरले भने, ‘यसको अन्त्यका लागि दुईवटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ। समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’
गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भन्दै उनले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिए।
‘सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुन सकेको छैन,’ अध्यक्ष बुढामगरले भने, ‘अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रूपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन्।’ उनका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।