
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डा तय भइनसकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेन्डाको अन्तिम टुंगो लागिनसकेको बताएका हुन्।
साथै उनले भ्रमणको एजेन्डा उपयुक्त समयमा जानकारी गराइने पनि स्पष्ट पारे। मन्त्री साउदले भ्रमणको एजेन्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको पनि जानकारी गराए। भ्रमणका क्रममा ठूलो लिस्ट बोकेर जानेभन्दा पनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडि बढाउने प्रस्ताव लिएर जाने उनको भनाइ थियो।
उनका अनुसार चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेन्डा बनाउने विषयमा छलफल भइरहेको छ।