
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोडको बजेट ल्याएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले चालू आवका लागि बजेट, नीति तथा कार्यक्रम पास गरेको हो । चालू आर्थिक वर्षको बजेट अघिल्लो आवको भन्दा पाँच अर्ब कम छ ।
क्यानले विमानस्थललगायतका हवाई पूर्वाधार निर्माणका लागि १९ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । यस्तै, चालू खर्चतर्फ सात अर्ब र वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड विनियोजन गरिएको छ । ठूला पूर्वाधार आयोजना भैरहवाको गौमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको हुनाले क्यानले बजेट घटाएको हो ।
चालू आर्थिक वर्षमा देशभरका विमानस्थल सञ्चालनबापत १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा क्यानले करिब साढे १३ अर्ब आम्दानी गरेको थियो । दुई ठूला विमानस्थलसमेत सञ्चालनमा आइसकेको हुँदा क्यानले वार्षिक आम्दानी १० प्रतिशतले बढाएर करिब १६ अर्बको लक्ष्य तोकेको हो । बजेटमा कर्मचारीलाई बोनसदेखि सरकारलाई लाभांश वितरण गर्नसम्म रकम विनियोजन गरिएको छ ।
चालू बजेटमा देशैभरका आन्तरिक विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । नयाँ आयोजना निर्माण थालनीभन्दा पनि निर्माणाधीन अवस्थामा रहेका आयोजनालाई अगाडि बढाउने नीति बजेटले लिएको छ ।क्यानले भरतपुर, नेपालगन्ज, विराटनगर र भोजपुर विमानस्थलको स्तरोन्नति सुरु गरेको छ । भरतपुर, नेपालगन्ज र विराटनगर विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन निर्माण चालू आवमै ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
यस्तै, भरतपुर विमानस्थलमा एटिआर ७२ जहाज अवतरण गर्न सक्ने गरी विस्तारको योजना बजेटमा छ । भरतपुर विमानस्थलमा अहिले एटिआर ४२ जहाज अवतरण गर्न सक्छ । हवाई क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा स्तरोन्नतिको कामलाई तीव्रता दिइने भएको छ ।
त्रिभुवन विमानस्थलमा भइरहेको पार्किङ एप्रोन, प्यारालल ट्याक्सी वे, ह्यांगर एप्रोन निर्माणलगायत काम तीव्रताका साथ अगाडि बढाउने भनिएको छ । बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पूर्वतयारीका काम र लगानी तथा निर्माण मोडालिटीसम्बन्धी काम टुंग्याउने नीति लिइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्नुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि अवसर र चुनौतीका रूपमा लिएको छ ।
बजेटले हवाई सुरक्षा अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । जसअन्तर्गत विभिन्न विमानस्थलमा उड्डयन उपकरण, सुरक्षा उपकरण र सञ्चारसम्बन्धी उपकरण जडान गरिनेछ । स्टल उडानमा मौसमी जानकारी गराउने इन–रुट वेदर क्यामेरा जडानदेखि चरा धपाउने उपकरणसमेत राख्ने लक्ष्य लिइएको छ ।