
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन गरेको अभियोगमा पक्राउ परेका चार डाक्टर धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशमा मंगलबार उनीहरू जनही ६०–६० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन्। रिहा हुने डाक्टरमा पुनम थापा, श्रद्धा शिल्पकार, रन्जित यादव र एरिना साह छन्।
उनीहरूलाई गत २५ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। उनीहरूको पक्षबाट बहसमा उत्रिएका अधिवक्ता अरुण पौडेलले पक्राउ परेका चारैजना धरौटीमा रिहा भएको जानकारी दिए।
उनले भने, ‘नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा डाक्टर बनेको अभियोगमा सिआइबीले चार डाक्टरलाई पक्राउ गरेको थियो। उनीहरूलाई जनही ६०–६० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ। अदालतको आदेश दण्डात्मकभन्दा पनि सुधारात्मकजस्तो देखिन्छ।’
सिआइबीले उनीहरूसँगै कांग्रेस सांसद सुनील शर्मासहित आठ डाक्टरलाई पनि पक्राउ गरेको थियो। जसमध्ये शर्मालाई अदालतले पक्राउ परेको पर्सिपल्ट नै हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।