१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले लुम्बिनीकाे नेतृत्व चुन्न राति मतदान, पौडेलनिकट कँडेल र पाेखरेलनिकट रिजाल मैदानमा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२५:oo

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज राति मतदान हुँदै छ। साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदानको तयारीमा निर्वाचन कमिटी जुटेको छ। 

निर्वाचन कमिटीले राति ८ बजेबाट मतदानको कार्यक्रम तय गरे पनि मतपत्र छपाइमा ढिलाइ हुने देखिएपछि केही समय पर सारिएको छ। 

कमिटीका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले मतपत्र छपाइपछि मतदान सुरु गर्दा राति बढीमा १० बज्न सक्ने बताए। उनले केही पदमा निर्विरोध भए पनि धेरैजसोमा मतदान गराउनुपर्ने अवस्था रहेको बताए।

एमालेको प्रदेश अधिवेशनअन्तर्गत सुरुमै लुम्बिनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि मतदान हुन लागेको हो। 

अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले चुनावी मैदानमा छन्। उनीहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका थिए। हाल प्रदेश अध्यक्षसमेत रहेका कँडेल उपाध्यक्ष विष्णुप्रसाद पौडेल र केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै बुटवलमा नेता तथा प्रतिनिधिहरूलाई निर्देशन दिएर फर्किए पनि यहाँ सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिन लागेको छ। 

दुई पक्षको अघोषित प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। तर, सचिव पदमा भने हालका सचिव लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। अन्य पदमा भने दुवै पक्षका उम्मेदवार चुनावी मैदानमा भिडेका छन्। 

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ रुपन्देही, पूजन विश्वकर्मा बाँके, विश्वराज बराल (अनुप) रुपन्देही र शान्तकुमार वली रोल्पा गरी ४ जना र उपसचिवमा तीनजना महिला तथा ३ जना पुरुष उम्मेदवार रहेको प्रमुख निर्वाचन अधिकृत भण्डारीले  बताए।

पौडेल र पोखरेलनिकटका उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले लुम्बिनी प्रदेश अधिवेशनलाई एमालेका दुई शीर्ष नेता पौडेल र पोखरेलको शक्ति परीक्षणका रूपमा समेत लिइएको छ। लुम्बिनीको रुपन्देही पौडेल र दाङ पोखरेलको गृहजिल्ला हो।

एमालेको केन्द्रीय सचिवालयले प्यानल प्रतिस्पर्धामा रोक लगाएको भए पनि यहाँ प्रतिस्पर्धामा रहेका कँडेल र रिजाल समूहले आन्तरिक रूपमा केही पदमा टिम निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन्। 

अधिवेशनको उद्घाटन समारोहमा नेताहरू पौडल र पोखरेलले आफूहरू गुटबन्दीमा नरहेको दाबी गरेका थिए। त्यस्तै, अन्य नेताहरुले समेत पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै  गुटबन्दी गर्न नहुनेमा जोड दिएका थिए। 

यता अध्यक्षका उम्मेदवारहरू कँडेल र रिजालले पनि आफूहरू कुनै गुटबन्दीमा नरहेको दाबी गर्दै आएका छन्। एमाले लुम्बिनीका प्रचार विभाग प्रमुख डिआर घिमिरेले सहमतिको प्रयास सम्भव नभएपछि मतदानको प्रक्रिया अगाडि बढेको बताए।

लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी बनाउनेछ। अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि सहभागी छन्।

सबैभन्दा धेरै प्रतिनिधि रूपन्देहीबाट

रूपन्देही– १६४, कपिलवस्तु– ७२, दाङ– १३१, बाँके– ५४, बर्दिया– ७४, रुकुमपूर्व– १२, रोल्पा– २७, प्युठान– ५७, अर्घाखाँची– ८२, गुल्मी– १११, पाल्पा– ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि रहेका छन । त्यस्तै, जनसंगठनबाट ८३ गरी जम्मा एक हजार चारजना छन्।