समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापरले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों १ तालक्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । यतिवेला माथिल्लो मनाङमा फापर फुलिसकेको छ ।
पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । यहाँको फापर पुरानो रैथाने जातको हो । तराईमा तितेफापर र हिमालमा मिठेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टक आउने गर्छन् । धान, मकै र कोदो नफल्ने हिमाली जिल्ला मनाङमा फापरखेती फस्टाउँदै गएको छ । फापरखेती राम्रो हुन थालेपछि किसान यो खेतीतर्फ हौसिएका हुन् । फापरले उनीहरूलाई आत्मनिर्भर पनि बनाएको छ ।
यहाँका सबै गाउँपालिकाका किसानले फापरखेती गरेका छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय सोनाम लामाले बताए । मनाङमा तीन सय ५० हेक्टर क्षेत्रफलमा फापरखेती लगाइएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ ।
स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको पिसाङका याङडुङ गुरुङले बताए । ‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई खुवाउँछौँ । उनीहरू विशेष रूपले मन पराउँछन् ।’ फापरको पीठोबाट तयार पारिएको ढिंडो र रोटी पोषिलो हुने स्थानीय बताउँछन् । गुरुङका अनुसार होटेल व्यवसायमा आबद्ध स्थानीयले प्रायः फापरखेती गर्ने गरेका छन् । मनाङका किसानले प्राय जेठ अन्तिम साता र असारमा बिउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ ।