![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/druk2023-08-29-06-25-57.gif)
रोयल भुटान एइरलाइन्स ‘ड्रुक एयर’ले भुटानको पारोबाट पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ड्रुक एयरलाई २३ भदौका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्न अनुमति दिएको छ ।
ड्रुक एयरको न्यारोबडी जहाज २३ भदौमा बिहान भुटानको पारोबाट उडेर सीधै पोखरामा अवतरण गर्नेछ । पोखरामा एक घन्टा रोकिएर सीधै पारोतर्फ उड्ने तालिका छ । चार्टर उडानको सफलतापछि ड्रुक एयरले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘ड्रुक एयरको टिम नै नेपाल आएको थियो, उनीहरूले पारो–पोखरा–पारो उडान गर्न चाहेका छन्,’ उनले भने, ‘चार्टर उडान सफल हुनेबित्तिकै नियमित उडान थाल्ने योजना छ ।’
अहिले ड्रुक एयरले पारो–काठमाडौं–पारो दैनिक उडान गर्दै आइरहेको छ । सूचना अधिकारी भुलले भने, ‘ड्रुकले भविष्यमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने योजना बनाएको छ ।’ तर, यसका लागि भारतले पोखरा विमानस्थलबाट दिल्ली उडानको अनुमति दिनुपर्ने हुन्छ । बुद्ध एयरले उद्घाटनकै दिन १७ पुस ०७९ मा पोखराबाट बनारसमा उडान गर्न अनुमति मागे पनि भारतीय उड्डयन नियामक निकायले झुलाएर राखेको छ । कोभिडअघि ड्रुक एयरले पारो–काठमाडौं–दिल्ली नियमित उडान गर्दै आइरहेको थियो । तर, पछिल्लो समय पारो–काठमाडौं–पारो सीधा उडान गर्दै आइरहेको छ । अहिले भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरले पारोबाट काठमाडौं–दिल्ली–काठमाडौं–पारो रुटमा उडान गर्दै आएको छ ।
१७ पुस ०७९ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । यसैबीच ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । ८ र ९ असारमा फेवातालमा आयोजित नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र पर्यटकलगायत यात्रु बोकेको सिचुवानको जहाज सीधै पोखरा अवतरण गरेको थियो ।
भुटानको ड्रुक एयरले नियमित उडानको चासो देखाएसँगै पोखराका पर्यटन व्यवसायी तथा स्थानीयहरू उत्साहित बनेका छन् । ठूलो लगानीमा निर्माण गरिएका भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानका लागि मात्र प्रयोग हुँदै आइरहेको छ ।