सप्तरीको बलान विहुल गाउँपालिका– ४ वेल्ही नवकाटोलस्थित बलान नदीको बाँध भत्किएको छ । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले बाँध भत्किएको हो ।
स्थानीय विश्वनाथ यादवका अनुसार बाँध भत्काएर नदीको बाढी बस्तीमा पसेको छ । सो टोलका एक सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए । नदीको बाँध तीन ठाउँमा भत्किएपछि बाढी बस्ती पसेको हो । बाढीले जनजीवन प्रभावित बनाएको छ ।
दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटरजति बाँध भत्किएको जानकारी दिएका यादवले गुणस्तरीय बाँध नबनाउँदा बर्सेनि यस क्षेत्रका नागरिकको जनजीवन प्रभावित हुने गरेको बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी पसेका बस्तीका नागरिकको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको जानकारी दिए ।
‘बाँध भत्किएपछि बाढीले थप क्षति नगरोस् भनेर सशस्त्र र नेपाल प्रहरीको टोली खटाएका छौँ, स्थलगत निरीक्षण पनि गरेका छौँ,’ प्रजिअ थापाले भने ।