लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । तर, हालसालैका दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । यो दशकमै पहिलोपटक विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा समस्या देखिन थालेको छ ।
हङकङको हाङ सेङ सूचकांक (इन्डेक्स)मा गत शुक्रबार गिरावट आयो । यो गिरावट जनवरीमा देखिएको उच्च गिरावटभन्दा २० प्रतिशतले बढी हो । गत हप्ता चिनियाँ मुद्रा युआन पनि १६ वर्षयताकै न्यून बिन्दुमा आयो । जसले गर्दा केन्द्रीय बैंकलाई अनुमानित बजारमूल्यको तुलनामा डलरमा अधिक दर निर्धारित गरी आफ्नो मुद्राको रक्षा गर्न प्रेरित ग¥यो ।
कोभिड महामारीबाट तंग्रिएपछि गत वर्ष तीव्र रूपमा आर्थिक गतिविधि भए । यद्यपि, चीनको आर्थिक वृद्धि अझै पनि रोकिएको छ । उपभोक्ता मूल्यमा गिरावट आएको छ, घरजग्गा कारोबार संकटग्रस्त छ भने निर्यात पनि घटेको छ । युवा बेरोजगारी दर उच्च हुन थालेपछि सरकारले तथ्यांक प्रकाशन गर्नै बन्द गरेको छ ।
यस्तै, प्रमुख घर निर्माण तथा लगानी गर्ने कम्पनीले आफ्ना लगानीकर्तालाई भुक्तानी दिन सकेको छैन । आवास बजार (हाउजिङ मार्केट)मा देखिएको निरन्तरको संकटले वित्तीय स्थिरतामा झन् जोखिम थपिने देखिन्छ । घरेलु मागलाई प्रोत्साहन गर्ने सरकारको ठोस उपायको कमी र संक्रमणको डरले विकास दरमा कमी आउन थालेको छ । यसैलाई हेरी धेरैजसो इन्भेस्टमेन्ट बैंकले चीनको आर्थिक वृद्धिको अनुमान घटाएर ५ प्रतिशतमुनि झारेका छन् । घरजग्गा व्यवसायमा आएको गिरावट, न्यून बाह्य माग र नीति समर्थनमा कमी आएकाले चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन अनुमान घटाएको युबिएसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । यसको अर्थ चीनले उद्घोष गरेको ५.५ प्रतिशतको आर्थिक वृद्धि पछ्याउन सम्भव हुनेछैन ।
सन् २००८ को वैश्विक आर्थिक संकटका बीचमा चीन विश्वमै ठूलो सहायता प्याकेज सार्वजनिक गर्ने र संकटबाट उत्रिने पहिलो प्रमुख देशसमेत थियो । यो महामारीको सुरुवाती दिनभन्दा पनि उल्टो हो, जब चीन मन्दीबाट बच्ने एक मात्रै अर्थतन्त्र थियो । त्यसोभए के गलत भयो त ?
चीन सरकारले नेतृत्व लिएका पूर्वाधार परियोजनामा केन्द्रित कतिपय उपायले पनि अभूतपूर्व ऋण विस्तार तथा स्थानीय सरकारको उच्च कर्जालाई बढावा दिएका छन् । त्यसकारण पनि चीनको अर्थतन्त्र संघर्षकै चरणमा छ ।
सम्पत्ति संकट : यो वर्षको सुरुदेखि लय पक्रिएको चीनको अर्थतन्त्र अप्रिलयता मन्दीमा छ । तर, यो महिना सम्पत्ति (प्रोपर्टी) बिक्रीको हिसाबमा देशकै ठूलो डेभलपर कम्पनी कन्ट्री गार्डन र अर्को कम्पनी झोङरोङ ट्रस्ट डिफल्ट भएपछि थप चिन्ता बढ्न थालेको छ । युबिएसको रिपोर्टअनुसार कन्ट्री गार्डनले दुई अर्ब अमेरिकी डलर बोन्डमा ब्याज भुक्तानी कम गरेको छ । यसबाट लगानीकर्ता डराएका छन् । यसले हालसालै टाट पल्टिएको रियल इस्टेट कम्पनी इभरग्रान्डेको सम्झना दिलाएको छ ।
यो महिनाको सुरुवातमा कर्पोरेट ग्राहक र धनीका लागि ८७ अर्बको कोष व्यवस्थापन गर्ने झोङरोङ ट्रस्टले कम्तीमा पनि चार कम्पनीलाई १९ अर्बबराबरको लगानी फिर्ता गर्न सकेन । लगानी फिर्ता गर्न नसकेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीले ट्रस्ट कम्पनीअगाडि उच्च उपज उत्पादनमा भुक्तानीको माग गरेका छन् । क्यापिटल इकोनोमिक्समा चिनियाँ अर्थशास्त्रका प्रमुख जुलियन इभान्स प्रिचार्डले प्रोपर्टी सेक्टरको घाटाले वित्तीय अस्थिरता ल्याउन सक्छ । जबकि, एभरग्रान्डे अझै पनि ऋण पुनर्गठनको स्थितिबाट गुज्रिरहेको छ । यस्तै, कन्ट्री गार्डनको संकटले चिनियाँ अर्थतन्त्रमै चिन्ता सिर्जना गरेको छ ।
स्थानीय सरकारको ऋण : अर्को मुख्य चिन्ता स्थानीय सरकारको ऋण पनि हो । प्रोपर्टी बिक्रीमा आएको गिरावटले सरकारको राजस्व प्रभावित भएको छ । साथै, कोभिड महामारीमा लागू कोभिड नीतिले थप प्रभाव पारेको छ । स्थानीयस्तरमा देखिएको राज्यकोषमाथिको दबाबले चिनियाँ बैंकलाई ठूलो जोखिम रहेको त देखाउँछ नै, विकासलाई गति दिने र सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि संकुचित बनाउँछ ।
राजधानी बेइजिङले अर्थतन्त्रलाई बढावा दिन लगातार वृद्धिका उपाय सार्वजनिक गरेको छ । यसमा ब्याजदर कटौती, प्रोपर्टी मार्केट र उपभोक्ता व्यापारलाई समर्थन गर्ने कदम छन् । तर, चीनले अन्य कुनै ठूलो कदम उठाउन चाहेको छैन । केही अर्थशास्त्री तथा विश्लेषकका अनुसार वैश्विक संकटका वेला चीनले आफ्नो अर्थतन्त्रलाई गति दिन १५ वर्षअगाडि वैश्विक वित्तीय संकटका वेलामा झैँ अहिले चरम ऋणग्रस्त बनेको छ ।
त्यतिवेला चिनियाँ नेताले वैश्विक संकटको प्रभाव कम गर्न ५८६ अर्ब डलर सहायता प्याकेज घोषणा गरेका थिए । तर, सरकारले नेतृत्व लिएका पूर्वाधार परियोजनामा केन्द्रित उपायले पनि अभूतपूर्व ऋण विस्तार तथा स्थानीय सकारको उच्च कर्जालाई बढावा दियो । त्यसकारण पनि चीनको अर्थतन्त्र संघर्षकै चरणमा छ ।
अहिलेको मन्दीमा एउटा चक्रीय तत्व रहेको र त्यसले अधिक प्रोत्साहनलाई उचित ठहर्याउने इभान्सको भनाइ छ । उनका अनुसार चिनियाँ नीतिनिर्माता उनीहरूको पारम्परिक नीति योजनाले भुक्तानी गर्नुपर्ने ऋण वृद्धि हुनेमा चिन्तित छन् । यता, चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका अनुसार वित्तीय नियामक र धितोपत्र नियामकले संयुक्त रूपमा यो चुनौतीसँग लड्न मिलेर काम गर्ने बताएका छन् ।
जनसांख्यिक गिरावट : चीनले अहिले कम जनसंख्या तथा मुख्य व्यापार साझेदार युरोप–अमेरिकासँगको सम्बन्धमा खटपटजस्ता दीर्घकालीन चुनौतीको सामना गरिरहेको छ ।सरकारी स्वामित्वको जिमियन डटकमले हालसालै प्रकाशित गरेको एक रिपोर्टअनुसार देशको कुल प्रजनन दर (एक महिलाको जीवनमा बच्चाको औसत संख्या) घटेको छ । यस्तो दर दुई वर्षअघि १.३० रहेकामा यो वर्ष ऐतिहासिक १.०९ पुगेको छ । यसरी हेर्दा चीनको प्रजनन दर अब जापानको भन्दा पनि कम हो । जापानलाई लामो समयदेखि वृद्ध समाजका रूपमा चिनिँदै आएको छ ।
यो वर्षको सुरुवातमा चीनले जारी गरेको तथ्यांकअनुसार त्यहाँको जनसंख्या ६ दशकमा पहिलोपटक घट्न थालेको छ । मुडिज इन्भेस्टर्स सर्भिसका विश्लेषकले जनसांख्यिक गिरावटले आर्थिक क्षमता विकासका लागि महत्वपूर्ण चुनौती दिने उल्लेख गरेका छन् ।
श्रम आपूर्तिमा आएको गिरावट र स्वास्थ्य तथा सामाजिक खर्चमा भएको वृद्धिले चीनलाई उच्च राज्यकोष घाटा र कर्जाको बोझ बढ्न सक्छ । सानो कार्यदलले घरेलु बचतलाई समाप्त पार्न सक्छ । जसको परिणाम उच्च ब्याजदर र लगानीमा गिरावट देखिन सक्छ । साथै, लामो अवधिका लागि आवास (हाउजिङ) को मागमा पनि गिरावट आउन सक्छ । जनसांख्यिक गिरावट, ग्रामीण इलाकाबाट सहरमा बसाइँसराइ र भूराजनीतिक लहर संरचनात्मक विषय हुन् र यी नीतिनिर्माताको नियन्त्रणभन्दा बाहिर पनि छन् ।