१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै चालकले गरे दुई सय ६० पटकसम्म नियम उल्लंघन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५४:oo

सडकमा अनुशासनहीनता

न्यून जरिवाना र कमजोर कारबाही प्रणालीले सडकमा अनुशासनहीनता कतिसम्म छ भन्ने ट्राफिक प्रहरीको एक तथ्यांकले देखाउँछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा एउटै चालकले दुई सय ६० पटकसम्म सवारी नियम उल्लंघन गरेर कारबाहीमा परेका छन् । तर, त्यस्ता चालकको समेत लाइसेन्स निलम्बन हुन सकेको छैन, निस्फिक्री सवारी चलाइरहेका छन् । 

यसरी बारम्बार ट्राफिक नियम मिच्ने चालकको संख्या ठूलो रहेको ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन् । ट्राफिक जरिवाना न्यून हुँदा चालकहरू सडकमा अनुशासनहीन बनेको उनको भनाइ छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार १० पटकभन्दा धेरै सवारी नियम मिच्ने चालकको संख्या करिब १५ हजार छ ।

एसएसपी राजेन्द्रप्रसाद भट्ट, उपत्यका ट्राफिक प्रहरी कर्यालय
जरिवाना न्यून हुँदा सडकमा अनुशासन पालनामा कठिन भएको छ । बारम्बार नियम मिच्नेमा धेरै सार्वजनिक यातायातका चालक छन् ।

चारजना चालकले त दुई सयभन्दा धेरैपटक ट्राफिक नियम मिचेको उनले जानकारी दिए । यस्तै, एक सयदेखि दुई सय पटकसम्म ट्राफिक कारबाहीमा पर्ने ५५ जना छन् । ५० देखि एक सयपटकसम्म ट्राफिक नियम मिच्नेको संख्या सात सय ३५ छ । चार हजार दुई सय १४ जनाले २० पटकभन्दा धेरै तथा ५० पटकभन्दा कम ट्राफिक नियम मिचेका छन् । १० पटकभन्दा धेरै र २० पटकभन्दा कमपटक ट्राफिक नियम मिच्ने १० हजार ४७ जना रहेका छन् । 

पटके कारबाहीमा पर्ने धेरै सार्वजनिक यातायातका चालक
पटके कारबाहीमा पर्ने चालकमा धेरैजसो सार्वजनिक यातायातका चालक छन् । ‘एकातर्फ जरिवाना नै न्यून छ,’ एसएसपी भट्ट भन्छन्,‘अर्काेतर्फ सार्वजनिक यातायातका चालक कारबाहीमा पर्दा जरिवाना पनि कम्पनीले नै तिरिदिने भएकाले नियम उल्लंघन गर्ने प्रवृत्ति व्याप्त छ ।’ अर्काेतर्फ, ट्राफिक प्रहरीले यस्ता चालकलाई कारबाहीमा पनि ल्याउन सकेको छैन । सवारी तथा यातायात व्यवस्था नियमावली ०५४ मा पाँचपटकभन्दा धेरै सवारी नियम मिचेमा केही समयका लागि लाइसेन्स निलम्बन गर्न सक्ने प्रावधान छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायतका कारबाहीमा लाइसेन्स निलम्बन गर्न थालेकोमा पछिल्लो समय त्यो पनि रोकिएको छ । यातायात व्यवसायीकै दबाबमा यसरी नियम पालना कमजोर बनाइएको ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन् । 

नियम उल्लंघन गरे कति तिर्नुपर्छ जरिवाना ?
ट्राफिक प्रहरीले नियम उल्लंघन गरेबापत न्यूनतम पाँच सय जरिवाना लिँदै आएको छ । न्यून जरिवानाकै कारण ट्राफिक नियम उल्लंघन बढेको भन्दै गत मंसिरदेखि उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको थियो । १६ वटा कसुरमा न्यूनतम जरिवाना एक हजार पाँच सय बनाइएको थियो । त्यसविरुद्ध यातायात व्यवसायी तथा मजदुर आन्दोलित भए । आन्दोलन उग्र बन्दा नयाँ बसपार्क क्षेत्रमा तोडेफोड र लुटपाटसमेत हुन पुग्यो । त्यसपछि सरकारले वृद्धि भएको जरिवाना फिर्ता लिएको थियो । नेपालमा जरिवाना नै न्यून रहेको र १० वर्षदेखि वृद्धि हुन नसकेको एसएसपी भट्ट बताउँछन् । अन्य देशमा उच्च जरिवानाबाटै सडक नियम पालनामा कडाइ हुने गरेको, तर नेपालमा न्यून जरिवानाकै कारण नियम पालनामा समस्या भएको उनको भनाइ छ । 

विकसित देशमा सडक नियम नमिच्नेलाई यातायातसम्बन्धी कर तथा बिमामा छुटको सुविधा दिने गरिन्छ । हरेक चालकको रेकर्ड राखेर ‘ट्राफिक एब्सट्र्याक्ट’ दिइन्छ । तर, नेपालमा यो पद्धति पनि सुरु हुन सकेको छैन । जसकारण सडकमा अनुशासनहीता र दुर्घटना उच्च छ । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ट्राफिक कारबाही अघिल्लो वर्षभन्दा झन्डै दोब्बर हुँदा पनि दुर्घटना घट्न सकेको छैन । आर्थिक वर्ष ०७९÷८० मा उपत्यकामा आठ लाख ९५ हजार चालक कारबाहीमा परेका थिए । 

 

ad
ad