१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५४:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्।

चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएकाे नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे। उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, इयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गर्दै यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोको नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणासमेत गरेका थिए। त्यस बैठकमा उनले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सले हालै पोखराको पहिलो उडान गरेकाले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए।

कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ।

ad
ad