१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सार्क शिखर सम्मेलन नभई बिदा भए दुई महासचिव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२o:oo

कूटनीतिज्ञहरू भन्छन्–हरेक दुई वर्षमा नियमित रूपमा सार्क सम्मेलन भइदिएको भए सार्कको २०औँ सम्मेलन श्रीलंकामा ०७५ मै सम्पन्न हुन्थ्यो र ०७७ मा अफगानिस्तानमा २१औँ तथा ०७९ मा बंगलादेशमा २२औँ सम्मेलन भइसक्थ्यो । अर्को वर्ष भुटानले २३औँ शिखर सम्मेलन आयोजना गर्नुपर्थ्यो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ शिखर सम्मेलन नौ वर्षअघि काठमाडौंमा भएयता १९औँ शिखर सम्मेलन हुन सकेको छैन । हरेक दुई वर्षमा सम्मेलन हुन सकेको भए आगामी वर्ष भुटानमा सार्कको २३औँ सम्मेलन हुने थियो । तर, यसबीचमा भारत र पाकिस्तानको आपसी तानावका कारण सार्कका चारवटा शिखर सम्मेलन प्रभावित भएका छन् भने सार्क सचिवालयका दुई महासचिव शिखर सम्मेलन नै नभई अवकाशमा गएका छन् । 

नेपालमा १० र ११ मंसिर ०७१ मा भएको शिखर सम्मेलनमा पूर्वपरराष्ट्रसचिव अर्जुनबहादुर थापा महासचिव थिए । उनीपछि महासचिवका रूपमा पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी सियाल र श्रीलंकाली कूटनीतिज्ञ एसला विराकुनको कार्यकाल सम्मेलन नै नभई सकिएको छ । थापा सार्कका १२औँ महासचिव थिए भने सियाल १३औँ र अब फर्किन लागेका विराकुन १४औँ महासचिव हुन् । 

विराकुन अब बिदाइ भेट सम्पन्न गरेर कोलोम्बो फर्किने तयारीमा छन् । उनी अर्को महिना श्रीलंका फर्किने योजनामा छन् । उनले उच्चपदस्थ अधिकारीसँग बिदाइ भेटका लागि समय मागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

नवनियुक्त महासचिव बंगलादेशी कूटनीतिज्ञ गोलाम सरवार कार्यभार सम्हाल्न नेपाल आउने तयारीमा छन् । उनी हाल मलेसियाका लागि बंगलादेशका राजदूत छन् । उनी मलेसियाबाट ढाका आउन लागेको र त्यसपछि काठमाडौं आउने गृहकार्य गरिरहेको जानकारी बंगलादेशबाट परराष्ट्र मन्त्रालयलाई आएको छ । 

‘हरेक दुई वर्षमा नियमित रूपमा सार्क सम्मेलन भइदिएको भए सार्कको २०औँ सम्मेलन श्रीलंकामा ०७५ मै सम्पन्न हुन्थ्यो र ०७७ मा अफगानिस्तानमा २१औँ तथा ०७९ मा बंगलादेशमा २२औँ सम्मेलन भइसक्थ्यो,’ कूटनीतिज्ञहरूले भने, ‘अर्को वर्ष भुटानले २३औँ शिखर सम्मेलन आयोजना गर्नुपर्थ्यो ।’

सार्कमा देशको नामको वर्णानुक्रमअनुसार तीन वर्षमा सम्बन्धित देशले महासचिवको नाम प्रस्ताव गर्छन् र सबैले अनुमोदन गरेपछि महासचिवले पदबहाली गर्छन् । पूर्वमहासचिव अर्जुनबहादुर थापाका अनुसार सार्कका परराष्ट्रमन्त्रीस्तरीय बैठकमा महासचिवको नाम प्रस्तुत हुन्छ र अनुमोदन हुन्छ । अनौपचारिक बैठकसमेत नहुने अवस्थामा कूटनीतिक च्यानलमार्फत महासचिवको नाम पठाइन्छ र सदस्य मुलुकले नाम अनुमोदन गरेपछि महासचिवको नियुक्ति हुने थापाले बताए । 

भारत र पाकिस्तानको चिसो सम्बन्धले सार्क अप्ठ्यारोमा
१०–११ मंसिर ०७१ काठमाडौंमा सम्पन्न १८औँ शिखर सम्मेलनले २४–२५ कात्तिक ०७३ मा पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर, पाकिस्तानमा हुने भनिएको सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ ।

अर्कातिर अफगानिस्तानमा भएको शासन परिवर्तनले पनि सार्कलाई अप्ठ्यारोमा पारेको छ । तालिबानलाई सार्कका कुनै सदस्य मुलुकले मान्यता दिएका छैनन् । १९८५ डिसेम्बरमा स्थापना भएको सार्कमा सुरुमा सात मुलुक थिए । सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट सार्कमा अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । युरोपियन युनियन, चीन, जापान, इरानलगायत सार्कका नौ पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालयमा महासचिवबाहेक आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत हुनुपर्नेमा हाल ६ जना मात्रै छन् । भारत र अफगानिस्तानबाट सार्कमा निर्देशक अहिले छैनन् ।

ad
ad