
नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीले तस्करीको संरक्षण गर्ने हिसाबले संसदमा जवाफ दिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोलेका थापाले गृहमन्त्रीले तथ्यलाई ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन्। ‘तथ्यलाई ढाकछोप गरेर तस्करीको संरक्षण गर्ने हिसाबले गृहमन्त्रीको जवाफ आएको हुनाले हाम्रो विरोध जारी छ,’ उनले भने।
सिनामंगलबाट पक्राउ परेको सय किलो सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ। लामो समयपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिँदै सिआइबीले नै अनुसन्धान गर्ने प्रस्ट पारेका थिए। त्यसमा दुर्नियत देखिए मात्र समिति गठनको विषयमा बहस गर्न सकिने उनको धारणा थियो।
तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बुधबारको बैठक पनि एमालेले अवरोध गरेको छ। घटना सार्वजनिक भएको २२ दिन बितिसक्दा पनि सत्तापक्षले छानबिन गर्ने मनसाय नदेखाएको भन्दै एमालेले अवराेध गरेकाे हाे।