१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Saturday, 28 September, 2024
गणेश लम्साल विराटनगर
२o८o श्रावण २४ बुधबार १२:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धर्ना बस्दा थुनामा परेकी इन्दिराबारे अधिकारकर्मीको चासो

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १२:२१:oo

शिक्षामा भइरहेकाे बेथिति सुधारकाे माग गर्दै पछिल्लो तीन महिनादेखि विराटनगर महानगरपालिकाको गेटअगाडि धर्नामा बस्दा थुनामा परेकी इन्दिरा चापागाईंबारे मानव अधिकारकर्मीहरूले चासो दिएका छन्।

कानुन नबनाई बरगाछीस्थित गोग्राहा कलेजलाई बजेट विनियोजन गर्ने गरेको भन्दै तीन महिनादेखि महानगरपालिका कार्यालयअगाडि एक्लै धर्नामा बस्दै आएकी ५२ वर्षीया इन्दिरा चापागाईंको अवस्थाबारे  मानव अधिकार सञ्जालमा आबद्ध अधिकारकर्मीहरूले चासो दिएका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेकी इन्दिरालाई मंगलबार भेटेर उनको अवस्थाबारे जानकारी लिएको र महानगरका प्रमुख नागेश कोइरालासँग सोधपुछ गरेर आवश्यक सुझाव दिएको मानव अधिकार सञ्जाल कोसी प्रदेशका सदस्य वासु अधिकारीले बताए।

अधिकारकर्मीका अनुसार हिरासतमा रहेकी इन्दिराको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अधिकारकर्मीहरूको आग्रहमा प्रशासनले उनलाई चाँडै हिरासतमुक्त गर्ने बताएको छ। महानगरअगाडि धर्नामा बस्दा १५ साउनमा प्रहरीले प्रमुख नागेश कोइरालालाई अभद्र व्यवहार गरेको आरोपमा इन्दिरालाई पक्राउ गरेको थियो। सुरुमा उनलाई सात दिन र पछि थप आठ दिन म्याद थप गरेर हिरासतमा राखिएको थियो।

विराटनगर– ५ मा श्रीमान् र एक छोरीसहित बस्दै आएकी इन्दिरा  बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालयको सञ्चालक समितिकी पूर्वअध्यक्ष हुन्। उनले गोग्राहा माविको संरचना प्रयोग गरेर अलग्गै भएको संस्थागत कलेजलाई महानगरपालिकाले बजेट दिन नहुने भन्दै विरोध गर्दै आएकी थिइन्। इन्दिराले तत्कालीन गोग्राहा माविका प्राचार्य बलबहादुर भुजेलबाट गालीगलौज मुद्दामा एक सय रुपैयाँ क्षतिपूर्ति पनि भराएकी थिइन्। उनले आफू अध्यक्ष हुँदा विद्यालयमा भएको भ्रष्टचारविरुद्ध सशक्त आन्दोलन थालेकी थिइन्।

पछिल्लो समय उनले आफूलाई सुशासनको अभियन्ता बताउँदै हातमा झन्डा बोकेर टाउकोमा फेटा बाँधेर प्रदर्शन गर्दै आएकी थिइन्। शिक्षामा सुधारको माग गर्दै शान्तपूर्ण धर्नामा बस्दै आएकी उनलाई हिरासतमा थुनाएको भन्दै विराटनगर महानगर प्रमुख नागेश कोइरालाको आलोचना भइरहेको छ। प्रमुख कोइरालाचाहिँ आफूलाई निरन्तर गालीगलौज र धम्की दिँदै एसएमएस पठाउने गरेको, देख्नासाथ थुक्ने गरेको र मूल गेटमा धर्ना बसेर कामकाजमा बाधा पुर्‍याएको र सम्झाउँदा पनि पार नलागेपछि प्रहरी प्रशासन गुहार्न बाध्य भएको बताउँछन्।