१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Monday, 01 July, 2024
 पक्राउ परेका सज्जन शाही ।
२o८o श्रावण २३ मंगलबार ११:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

विनोद शाही हत्या प्रकरण : मुख्य आरोपी सज्जन शाही पक्राउ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार ११:५९:oo

विनोद शाही हत्याका मुख्य आरोपी सज्जनबहादुर शाही पक्राउ परेका छन्। राजनीतिक संरक्षणमा काठमाडौंमा बस्दै आएका शाही धापासीबाट पक्राउ परेका हुन्। 

अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए। यो घटनाका मुख्य योजनाकारको रूपमा आरोप लाग्दै आएका सज्जन लामो समयदेखि काठमाडौंमा लुकिछिपी बसेका थिए। तर, पीडित परिवारले भने नेता र प्रहरीकै संरक्षणमा उनी पक्राउ नपरेको आरोप लगाउँदै आएका थिए। 

द्वन्द्वका वेला माओवादी कार्यकर्ता सूर्यबहादुर शाहीको हत्या गरेको आरोप पनि शाहीमाथि छ। उनकै योजनामा सूर्यलाई बोरामा हालेर कर्णाली नदीमा फालेको आफन्त बताउँछन्।

पक्राउ परेका शाही पञ्चदेवल विनायक नगरपालिका– ४ निवर्तमान वडाध्यक्ष हुन्। उनी कांग्रेसका नगरसभापति तथा पूर्वशिक्षकसमेत हुन्। 

कक्षा १० मा अध्ययनरत विनोदको हत्यापछि किटानी जाहेरी परेका जम्मा १३ जनामध्ये जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहित द्रोपती शाही, कर्ण शाही र शान्ति शाही अहिले पनि फरार रहेको प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए। 

फरार सूचीमा रहेका अभियुक्त अक्कलबहादुर शाही भने केही दिनअघि मात्रै विनायकबाटै पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए। 

अनुसन्धानका क्रममा भेटिएका प्रमाणको आधारमा जिल्ला अदालत अछामको ०७९ असार २४ गतेको इजलासले हत्यामा संलग्न रहेको भनिएका देवेन्द्र शाही, महेन्द्र शाही, पृथ्वी शाही र वीरेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। 

किटानी जाहेरी परेका पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीबारे घटनामा संलग्न रहेको प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थिएन। 

तर, मृतकका आफन्तले भने शक्ति केन्द्रको संरक्षणमा सरकारी वकिलले मेयर चलाउनेविरुद्ध मुद्दा दर्ता नगरेर उन्मुक्ति दिएको आरोप लगाउँदै आएका छन्। 

कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटीको सहमहामन्त्रीसमेत रहेकी चलाउनेले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र महान्यायाधिवक्ता खम्बबहादुर खातीको संरक्षणमा उन्मुक्ति पाएको मृतकका दाजु बखतबहादुर शाहीले बताए। 

त्यसवेला उनीविरुद्ध  किटानी जाहेरी दिएको पाँच दिनपछि मात्रै नेपाली कांग्रेसबाहेकका राजनीतिक दल र मृतकका आफन्तको सशक्त आन्दोलनको दबाबमा प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको थियो। 

एक महिनाभन्दा बढी समय फरार रहेकी चलाउनेलाई सरकारी वकिलले मुद्दा नचलाउने भएपछि मात्रै उनी अछाम प्रहरीको सम्पर्कमा आएकी थिइन्। यो मुद्दा अछाम जिल्ला अदालतमा अहिले पनि विचाराधीन अवस्थामा छ। 

यस्तो थियो विनोद हत्याको घटना

०७९ जेठ १६ गते अछामको पञ्चदेवल नगरपालिका– ४ कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवा घाइते भए। 

झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवा भागे। केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो। 

हत्या गरिएका विनोद शाही ।

सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवालाई नियन्त्रणमा लियो। १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवा १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका– ४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्यापक खोजी थालियो । 

०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’ का विषयमा झडप भएको थियो। 

त्यस दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ। त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको हो। 

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको थियो। 

पीडित परिवारका अनुसार जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो । घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खुलेको मृतकका बुबा बलबहादुर शाहीले बताए । 


 

ad
ad
ad
ad