अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण
अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री

उपभोक्ता सहकारी संघमा अनुगमन गर्दै पोखरा महानगरकी उपप्रमख मञ्जुदेवी गुरुङसहितको टोली

पोखराका दुई सहकारीलाई २० हजार जरिवाना, मल जफत गरी अनुमतिपत्र खारेज

अनुदानको रासायनिक मल बढी मूल्यमा बिक्री गर्ने पोखराका दुई सहकारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा पोखरा– १० मा रहेको अमरसिंह कृषि सहकारी र पोखरा– ८ स्थित शिवालय चोकमा रहेको उपभोक्ता सहकारी संघ छन् । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुई सहकारीलाई कारबाही गरिएको हो ।

बढी मूल्य लिएर अनुदानको मल बिक्री गरेको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियासहितको टोलीले आइतबार बजार अनुगमन गर्ने क्रममा बढी रकम लिएर मल बिक्री गरेको फेला पारेको थियो । बढी मूल्यमा मल बिक्री गरेको भेटिएपछि ती दुई सहकारीका प्रतिनिधिहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुने गरी छाडिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार सरोकारवालासहित बसेको बैठकले बढी मूल्यमा मल बिक्री–वितरण गरेका दुई सहकारीलाई २०–२० हजार जरिवानासँगै अनुदानको मल बिक्रीका लागि लिएको अनुमतिपत्र खारेज गरेको छ । साथै, पसलमा रहेका मल जफत गर्ने निर्णय गरेको छ । अमरसिंह कृषि सहकारीमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पठाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

अमरसिंह कृषि सहकारीले २१ रुपैयाँ प्रतिकेजीको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । उपभोक्ता सहकारीले अनुदानमा लगेको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको पाइएको महानगर उपप्रमुख गुरुङले जानकारी दिइन् । संघले कार्यक्षेत्रभन्दा बाहिर मल पठाउने, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको, कृषि सामग्रीबाट ५० बोरा र साल्ट ट्रेडिङबाट ३५ बोरा युरिया ल्याएको फेला परेको उनको भनाइ छ । मल बिक्री गर्ने अनुमतिसमेत नपाएको पोखरा– १० को अमरसिंह सहकारीले उपभोक्ता सहकारीबाट मल लगेर बढी मूल्यमा बिक्री गरेको भेटिएको गुरुङले बताइन् ।

पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको १२ साउनमा बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डिएपी ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटास ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म लिने गरी मूल्य निर्धारण गरेको थियो । मल बिक्रीका लागि अनुमति नपाएको र बढी मूल्यमा बिक्री गरेको अमरसिंहको पसल दर्ता भए पनि मल, विषादी र बिउबिजन बिक्री अनुमति नलिएको पाएपछि बिक्रीका लागि राखिएको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास बिक्री–वितरणमा रोक लगाएर सोमबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन भनिएको थियो । 

See More On

सुझावित समाचार