१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

देविका महिला क्रिकेटरकी ब्याटिङ प्रशिक्षक

क्यानले मलेसियामा हुने आइसिसी टी–२० महिला विश्वकपको एसियन छनोटमा नेपाली टोलीको ब्याटिङ प्रशिक्षकका रूपमा देविका पाल्सिकरलाई नियुक्त गरेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:२२:oo

नेपाली महिला क्रिकेट टोलीले मलेसियामा हुने आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दै छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालले आफ्नो समूहमा बहराइन, भुटान, मलेसिया, कतार र युएईको सामना गर्नेछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा ३१ अगस्टमा मलेसियासँग खेल्नेछ । छनोट प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न र ब्याटिङ बलियो बनाउन नेपाल क्रिकेट संघ (क्यान)ले ब्याटिङ कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा भारतीय देविका पाल्सिकरलाई नियुक्त गरेको छ । 

क्यानले पहिलोपटक महिला टोलीमा पनि ब्याटिङ कन्सल्ट्यान्ट राखेको हो । यसअघि पुरुष टोलीमा ब्याटिङ र बलिङ प्रशिक्षक थिए । ४४ वर्षीया देविकाले प्रशिक्षणमा रहेका महिला खेलाडीलाई प्रशिक्षण गराइसकेकी छिन् । महिला टोलीलाई श्यामसनजंग थापाले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण गराइरहेका छन् । ब्याटिङ प्रशिक्षक बनी नेपाल आएकी देविकासँग भारतबाट एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । उनले १५ एकदिवसीय खेलमा नौ इनिङ्समा ६६ रन बनाएकी थिइन् । एक टेस्ट मात्र खेलेकी उनले केवल सात रन बनाइन् । एकदिवसीय खेलमा उनले १५ खेलमा १२ पटक बलिङ गर्दा १२ विकेट हात पारेकी थिइन् ।

सहायक प्रशिक्षकको अनुभव
भारतको सिनियर टोलीबाट छिटै बिदा भएकी देविकाले दुई वर्ष सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् । सन् २०१४ देखि २०१६ सम्म उनी भारतीय महिला टोलीकी सहायक प्रशिक्षक बनेकी थिइन् । यसैगरी, सन् २०१८ मा उनी बंगलादेशकी पनि सहायक प्रशिक्षक भइन् । गत वर्ष भारतमा आयोजना भएको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जित्दा उनी टोलीकी ब्याटिङ प्रशिक्षक थिइन् । भारतका लागि उनले सन् २००६ मा अस्ट्रेलियाविरुद्ध एक मात्र टेस्ट खेलेकी थिइन् । उनले एकदिवसीय खेलमा पाकिस्तानविरुद्ध २००६ मै डेब्यु गरिन् । सन् २००८ मा इंग्ल्यान्डविरुद्धको खेल उनको अन्तिम एकदिवसीय खेल रह्यो । उनले भारतबाट दुई वर्ष मात्र सिनियर टोलीबाट प्रतिस्पर्धा गर्न अवसर पाइन् । उनीसँग भारतीय नेसनल क्रिकेट एकेडेमीको अनुभव छ । 

शीर्ष दुई टोली ग्लोबल छनोटमा
मलेसियामा हुने एसियन क्षेत्रीय छनोटको दुई समूहका शीर्ष टोलीले टी–२० विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । ९ सेप्टेम्बरसम्म मलेसियामा चल्ने प्रतियोगिताको समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा छनोट हुनेछन् । महिला टी–२० विश्वकप ग्लोबलमा श्रीलंका र आयरल्यान्डसँगै पाँच क्षेत्रीय छनोटबाट आउने टोलीबीच प्रतिस्पर्धा हुनेछ । १० राष्ट्रबीच हुने ग्लोबल छनोटका शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् । 

ad
ad