मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण १५ सोमबार १३:२८:oo
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

गाउँमा खिरभन्दा पीर धेरै, बर्सेनि बसाइँसराइ गर्नेहरू बढ्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १३:२८:oo

साउन १५ खिर खाने दिन । अहिले गाउँमा खिरभन्दा पीर धेरै छ । किनकि गाउँमा युवा छैनन् । कुनै वेला गुल्मी दरबार गाउँपालिका– १ जुभुङका ८१ वर्षीय थम्मनबहादुर खड्काको गोठमा १७ वटासम्म भैँसी थिए । एकै वर्ष नौवटासम्म भैँसी ब्याएको सम्झना खड्कासँग छ । ३१ जनाको ठूलो परिवार । एकैचोटि १५–१६ जना केटाकेटी विद्यालय जान्थे । गोठभरि पशुचौपाया र घरभरि सन्तान हुँदा खड्काको मनभरि खुसी हुन्थ्यो। 

अहिले ८१ वर्षीय खड्कादम्पती मात्रै घरमा छन् । उमेरले नेटो काट्यो । छोराछोरीले घर छोडे । जमानामा भैँसीले गोठ भरेका खड्का केही समय त खाली बसे । तर, डेरीको दूध रुचेन । फेरि भैँसी किनेर दूध खान थाले । ‘दूध–मही खाएर हुर्किएको मान्छे । उमेर र परिस्थितिले केही समय बजारको दूध खाने बनायो,’ उनले भने, ‘मनले मानेन, फेरि भैँसी किनेर ल्याएँ ।’ खड्काले आफूहरूको विगत अहिले कथा बनेको बताए । उनले हुर्केकाले गाउँ छोड्ने र वृद्धवृद्धाले घर कुर्ने अवस्थाले देश परनिर्भर बन्दै गएको गुनासो गरे ।

अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घरछेउमै छन् । तर, मान्छेका मन फेरिएका छैनन् । सहर र परदेशमोहले खेतबारी झाडी भएका छन् । बिरामी वृद्धवृद्धालाई डाक्टरले दिएको तालिकाअनुसार औषधि खुवाउने मान्छे छैनन् ।

इस्मा गाउँपालिका– ५ का ८८ वर्षीय डिलाराम अर्यालको गोठमा पनि कहिल्यै भैँसी टुटेनन् । दैनिक १०–११ माना दूध हुन्थ्यो । गाउँभरिकालाई मही पुग्थ्यो । घिउ बेचेर धेरै आम्दानी हुने गरेको डिलाराम सम्झन्छन् । उनको अनुभवमै कुलपूजामा २४–५ घरको दूधले तीन ताउला दूध हुन्थ्यो । अहिले मुस्किलले दुई पाथी दूध हुँदैन । जसका कारण पाउडर दूध खोजेर खिर पकाउने अवस्था आएको छ । पहिले गाउँमा पूजापाठ र व्रतबन्ध हुँदा छिमेकीले बोकेर ल्याएको दूध र दहीले नै ताउला भरिन्थे । प्रत्येक घरमा कम्तीमा लैना–बकेर्ना भैँसी र एक हल गोरु हुन्थे । ‘अहिले कृषि गर्नेलाई हेला गर्छन् । जमानामा गोठका भैँसी र खेतबारी हेरेर छोरी दिन्थे,’ उनले भने, ‘अहिले गाउँमा बुढाबुढी मात्रै छन् ।’

गाउँ फेरियाे, मान्छेको मन फेरिएन
अहिले सडक नपुगेका गाउँ छैनन् । केही वर्ष पहिलेसम्म अधिकांश गाउँमा गाडी पुग्दैनथे । प्लस टु पढ्न पनि तम्घास पुग्नुपथ्र्यो । बिजुली नहुँदा गाउँ अन्धकार थिए । प्राथमिकबाहेकका उपचारका लागि पनि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो । अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घरछेउमै छन् । तर, मान्छेका मन फेरिएका छैनन् । सहर र परदेशमोहले खेतबारी झाडी भएका छन् । बिरामी परे डाक्टरले दिएको तालिकाअनुसार औषधि खाने उपाय वृद्धवृद्धासँग छैन ।

सत्यवती– २ का ७१ वर्षीय पदम केसीले ऋण हुनेले परदेश खोज्ने र पैसा हुनेले सहर खोजेको कारण गाउँ रित्ता भएको बताए । केसी पनि केही समयमा गाउँ छोडेर बुटवल जाँदै छन् । उनले छोराबुहारीहरू सम्पत्ति सम्झेर सहरबाट नफर्किएपछि आफूहरू पनि घर र बाँदर रुँगेर नबस्ने मानसिकता बनाएको बताए । ‘गाउँमा बिरामी परे अस्पताल र मरे घाट लैजाने मान्छे छैनन् । बाटा र स्कुललगायतका विकास कसका लागि गर्ने ?’ उनले भने, ‘गाउँ फेरिए पनि मान्छेका मन नफेरिने भयो ।’

सत्यवती गाउँपालिका– ८ को भार्से गाउँमा मान्छे बस्नेभन्दा छोडेका घरहरूको संख्या बढी छ । अधिकांश व्यक्ति बुटवल झरेका छन् । मुसिकोट नगरपालिका ५ र ६ मा पनि गाउँ छोड्नेहरूको संख्या बढिरहेको छ । युवाहरू काम गर्न परदेश पसेपछि श्रीमती पनि बच्चा बोकेर सहर झरेसँगै अधिकांश परिवार बसाइँ सर्ने गरेका छन् ।

यता, धुर्कोट गाउँपालिका– १ नयाँगाउँ पनि बसाइँसराइको चपेटामा परेको छ । अरौदी, काब्राबोट, भाँखर्चका अधिकांश घर खाली हुने अवस्था रहेको वडाध्यक्ष चेतमान कुँवरले बताए । रोजगारी र शिक्षाकै कारण गाउँ छोड्नेहरू बढिरहेको कुँवरले बताए । ‘छिटो आम्दानी र सुख खोजेर पछिल्लो पुस्ता गाउँमा बस्नै खोज्दैनन्,’ उनले भने, ‘बुबाआमा बाध्य भएर घरमा ताल्चा ठोक्न बाध्य छन् ।’

गुल्मीबाट गत वर्ष करिब दुई हजार परिवार बसाइँ सरेका थिए । स्थानीय तहको तथ्यांक हेर्दा सबैभन्दा धेरै मुसिकोट नगरपालिकाबाट बसाइँसराइ भएको छ । त्यस्तै, सत्यवती, गुल्मीदरबार, छत्रकोट, चन्द्रकोट र मदानेबाट पनि उल्लेख्य रूपमा बसाइँसराइ भइरहेको छ ।

स्थानीय सरकारको सीमित बजेट छ । त्यो बजेट पनि प्रत्येक वडामा कार्यकर्ता रिझाउने टुक्रे योजनामा सीमित छन् । जसका कारण बसाइँसराइ रोक्ने दीर्घकालीन योजना बन्न सकेका छैनन् ।

कृषकलाई पनि पीर
रेसुंगा नगरपालिका– १२ का ४३ वर्षीय नेत्रबहादुर बस्नेतले उन्नत जातका गाई र भैँसी पालेका छन् । उनी केही वर्ष पहिले कुखुरापालन गर्थे । कुखुरापालन व्यवसायबाट घाटा भएपछि तीन वर्षदेखि गाई र भैँसीपालन थालेका थिए । मासिक एक–डेढ लाखको दूध बिक्री गर्थे । गत वर्ष २५ वटा भैँसीका पाडा थपे । तर, नौ महिनामै सबै मरेर सकिए ।

बस्नेतको सोच पाडी वा भैँसी थप्ने हो । तर, नगरले ५०–५० प्रतिशत साझेदारीमा पाडा प्रवद्र्धन कार्यक्रम ल्याएपछि अरूले निवेदन नदिएपछि आफैँले निवेदन दिएर पाडा पाल्न थाले पनि उल्टो क्षति भएको उनको भनाइ छ । किसानको आवश्यकताको आधारमा कार्यक्रम र अनुदानभन्दा निब्र्याजी कर्जा नभए उपलब्धि गर्न नसकिने बस्नेतले बताए ।

रेसुंगा नगरपालिका– ४ का गुणनिधि शर्माले पनि लामो समयदेखि व्यावसायिक रूपमा पशुपालनमार्फत दूध बिक्री गर्दै आएका छन् । रेसुंगा गाई फर्मका सञ्चालकसमेत रहेका भण्डारीले सरकारले किसानलाई सहयोग गर्ने प्रक्रिया नै किसानमारा भएको गुनासो गरे । उनले अनुदान वा अरू सहयोगको नाममा काम गर्ने किसानलाई कार्यालयमा बोलाएर प्रक्रियामा बल्झाउन नहुने भन्दै कामको आधारमा अनुदान र व्यवस्थापन सहजीकरणको माग गरे । ‘गाई अनुदानमा दिने, तर बाच्छा व्यवस्थापन नगर्दा किसानको उठीबास हुने अवस्था आयो,’ उनले भने, ‘काम गरेर खाने किसान जताततैबाट मारमा छन् ।’